काठमाडौं — धरानका मेयर हर्क साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको छ । उनको कामका विषयमा समाचार लेखेका पत्रकारलाई सामाजिक सञ्जाल मार्फत धम्की दिएपछि उनि माथी उजुरी परेको हो । पत्रकार महासंघ सुनसरीको भेलापछि नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गर्दै प्रहरीमा कार्यालयमा उजुरी दिएका हुन् । प्रहरीले उजुरी भने दर्ता गरेको छैन । दुई दिन अघि साम्पाङले सामाजिक सञ्जाल मार्फत पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई र पत्रकार दाहाललाई धम्की दिएका थिए ।
उनले आफू नियमित रूपमा भेला जाने पसलमा बिहीबार उपस्थित हुन आदेश समेत दिएका थिए ।उनको अभिव्यक्तिले आफूहरू असुरक्षित भएको भन्दै पत्रकारहरूले सुरक्षाको माग समेत गरेका छन् । उजुरीमा सामाजिक सञ्जालमा धम्कीपूर्ण ‘कमेन्ट’ गर्नेहरू लेखक राईसहित दर्जन व्यक्तिलाई तत्काल कारबाही गर्न पनि माग गरिएको छ ।
दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘हर्क साम्पाङको मौन मौजी शासन बेथितिको दलदलमा धरान’ शीर्षकको समाचार लेखेका थिए । सो समाचार हिमालखबर डटकममा मङ्सिर १४ गते प्रकाशित भएको थियो । सोही समाचारप्रति लक्षित गर्दै प्रमुख साम्पाङले तथानाम गाली गलौज र अपशब्द प्रयोग गरी सामाजिक सञ्जाल मार्फत धम्की दिएका थिए ।
प्रतिक्रिया