काठमाडौँ – भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् ।
वाङचुकलाई परराष्ट्रमन्त्री डा।आरजू राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् । रानी तेत्सुन पेमा वाङचुकसहित केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी अहिले स्वयम्भू पुगेका छन् ।
विमानस्थलबाट उनी सिधै स्वयम्भू गएका हुन् । उनी सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भूनाथ गएका थिए । स्वयम्भूमा दर्शन र पूजापाठ गरेपछि उनी बौद्धनाथ जाने कार्यक्रम छ । त्यहाँ पनि पूजापाठ सकेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् । विमानस्थलबाट उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ ।
भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । गत बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सल गरेको थियो ।
प्रतिक्रिया