उत्तरी छिमेकी चीनको चार दिने औपचारिक भ्रमण सक्काएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो औपचारिक विदेश भ्रमणका रुपमा बेइजिङ बनाएका प्रधानमन्त्री ओलीको चीन यात्रा कस्तो रह्यो त ?
चिनियाँ समकक्षी लि छ्याङको निमन्त्रणामा गत सोमबार साँझ बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अपराह्न स्वदेश फर्किएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेको झन्डै पाँच महिनापछि पहिलो औपचारिक विदेश भ्रमणका रुपमा बेइजिङ गएका प्रधानमन्त्री ओली चार दिने भ्रमण सक्काएर बिहीवार दिउँसो काठमाडांै ओर्लिएका हुन् ।
सोमवार चीन पुग्नासाथ बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङबाट स्वागत पाएका प्रधानमन्त्री ओलीलाई मंगलबार चिनियाँ समकक्षी लि छ्याङले चिनियाँ जनमुक्ति सेनाको ‘गार्ड अफ अनर’ सहित ग्रेट हल अफ पिपुलमा स्वागत गरेका थिए ।
प्रधानमन्त्रीद्वय ओली र लि बीचको दुई पक्षीय भेटवार्ताका क्रममा विभिन्न ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही दिन मंगलबार चिनियाँ राष्ट्रपति सी जिनफिङसँग प्रधानमन्त्री ओलीले दुई पक्षीय भेटवार्ता गरे । भेटवार्तापछि राष्ट्रपति सीले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गरे । मंगलबार नै ओलीले राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीसँग दुईपक्षीय भेटवार्ता गरेका थिए ।
बुधबार पेकिङ विश्वविद्यालयमा ‘नेपाल–चीन सम्बन्धका विविध आयाम’ शीर्षकमा सम्बोधनसमेत गरे । नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सीको दूरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै प्रगाढ हुने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे । नेपाल ‘एक चीन नीति’मा दृढ रहने प्रतिबद्धतासमेत प्रधानमन्त्री ओलीले दोहो¥याए ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघको पहलमा चीनमा दोस्रो पटक आयोजना गरिएको ‘नेपाल–चीन बिजनेस समिट’मा पनि उनले सम्बोधन गरे । त्यसक्रममा प्रधानमन्त्री ओलीले चीनबाट भैरहवा र पोखरामा सिधा हवाई उडान गर्न प्रस्तावसमेत गरेका थिए । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सर्वाधिक चासोमा रहेको बीआरआईलाई सहुलियतपूर्ण ऋणको बाटो खुला राखेर हस्ताक्षर गर्न उनी सफल भए । जुन विषयले सत्तारुढ दलहरुदेखि देशकै राजनीति तरंगित बनिरहेको छ । बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो चीन भ्रमण ऐतिहासिक भएको प्रतिक्रिया दिए ।
प्रधानमन्त्रीस्तरीय भेटवार्तामा नेपालबाट भैँसीको मासु निर्यातदेखि नेपालका विद्यालयमा चिनियाँ शिक्षक स्वयंसेवीले चिनियाँ भाषा पढाउनेसम्मका विषयमा सहमति गरेका प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बीआरआई अन्तर्गत विभिन्न १० वटा परियोजनाहरुलाई समेट्दै बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई अनुदानको रुपमा मात्रै लिने नेपालको प्रस्तावलाई चीनले अस्वीकार गरेपछि त्यसमा परिमार्जनसहित सहुलियतपूर्ण ऋण लिने बाटो खुला राखेर सम्झौतामा हस्ताक्षर भएको छ ।
सन् २०१७ मा नै बीआरआईमा हस्ताक्षर गरेको नेपालले योजनाहरु दिन नसक्दा कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुन सकेको थिएन भने बीआरआई पहिलो चरणमै अड्किएको थियो । अन्ततः ७ वर्षपछि बीआरआईमा सहुलियतपूर्ण ऋण लिने बाटो खुला राखेर अघि बढाउने सहमति जुटेको हो । लामो समयदेखि राजनीतिक खिचातानीको अस्त्र बनेको बीआरआईले पहिलो खुड्किलो पार गरेको छ । यसक्रममा परियोजनाहरुको नामै उल्लेख गरेर कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल–चीनबीच द्विपक्षीय सम्झौता उत्साहका साथ हुने गरे पनि कार्यान्वयनको पाटो उत्तिकै निराशाजनक छ । विगतमा घोषणा गरिएका अनुदानहरुसमेत योजनाहरु पेस हुन नसक्दा हालसम्म अलपत्र छन् । २०७६ सालमा नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सीले घोषणा गरेको ५६ अर्ब अनुदान नेपालले अझै प्राप्त गर्न सकेको छैन । यस्तै सहमति भएका अन्य सबै जसो योजनाहरु अलपत्र छन् । नेपाल–चीनबीच विभिन्न विकास आयोजनाहरुका लागि सहमति हुने तर कार्यान्वयनको नतिजा शून्य हुने अवस्थाको अन्त्य प्रभावकारी रुपमा हुनै सकेको छैन ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा केही नयाँ योजनाहरु थप भए पनि अधिकांश विगतकै योजनाहरु दोहो¥याएर सहमति भएको छ । विगतका आयोजनाहरु जस्तै सहमति हुने तर कार्यान्वयन नहुने प्रवृत्तिले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएका यी सम्झौताहरु पनि कार्यान्वयन हुनेमा आशंका उस्तै छ ।
यदि विगतका र अहिलेका सबै सहमतिहरु कार्यान्वयन भएको अवस्थामा नेपालको आर्थिक एवम् पूर्वधार विकासमा कोसेढुंगो सावित हुने देखिन्छ । तर उही क्षणिक प्रचार र हल्लाकै लागि मात्र सहमति गर्ने र कार्यान्वयनमा ध्यान नदिने हो भने नेतृत्वप्रति नागरिकले औँला उठाउने ठाउँ फेरि पनि बन्नेछ । त्यसैले यसतर्फ नेतृत्व कति गम्भीर बन्छ ? नेपाली नागरिकले प्रतिक्षासँगै नजिकबाट नियालिरहने छन् ।
प्रतिक्रिया