अमेरिकाले भारतीय व्यापारी गौतम अडानीमाथि घुस दिएको आरोप लगाएपछि कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेताहरुले उनलाई पक्राउ गर्न माग गरिरहेका छन् । विपक्षी दलको यो विरोधले अहिले भारतको राजनीति तरंगित बनेको छ ।
गौतम अडानी भारतका दोस्रो धनी व्यक्ति हुन् । अडानी समूहको व्यापार बन्दरगाहदेखि विद्युत क्षेत्रसम्म जताततै फैलिएको छ । अडानी अहिले निकै कठिन अवस्थामा छन् यसको मुुख्य कारण अमेरिकामा एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप उनीमाथि लागेको छ । यो कुराले अहिले अमेरिकामा मात्रै नभई भारतमा समेत विवाद सिर्जना गर्दा संसदमासमेत यसले प्रवेश पाएको छ ।
अडानीकै कारण अहिले भारतको संसदमा सत्ता र प्रतिपक्षबीच चर्काचर्की नै पर्न थालेको छ । विपक्षी कांग्रेसले दुवै सदनमा गौतम अडानीको मुद्दामा बहस हुने पर्ने प्रस्ताव गर्दै आएका छन् । अदानीमाथि गम्भीर आरोप लागेको र सरकारले यस विषयमा बहस गर्नुपर्ने प्रमुख प्रतिपक्षी कांग्रेसले माग गर्दै आएको छ ।
अडानीमाथि घुस दिएको र यो कुरा लुकाएको आरोपलाई विपक्षी सांसदहरुले मुख्य एजेन्डा बनाएका छन् । कांग्रेसले गौतम अडानीलाई पक्राउ गर्न सरकारमाथि दबाब बढाइरहेको भने प्रधानमन्त्री नरेन्द्र मोदीले उनको बचाउ गरिरहेको आरोप लाग्दै आएको छ । संसदको हिउँदे अधिवेशनको आठौं दिन पनि विपक्षी दलका सांसदले कालो ज्याकेट लगाएर संसदमा विरोध जनाएका छन् ।
पछिल्लो समय भारतको संसदमा सातवटा मुद्दाले हंगामा नै मच्याइ रहेको छ । मणिपुर हिंसा, किसानहरूको माग र अडानी समूहसँग सम्बन्धित विवादहरूलाई प्रतिपक्षीहरुले संसदमा मुख्य रुपमा उठाउँदै आएका छन् । प्रतिपक्षले यी विषयमा सरकारसँग लगातार जवाफ माग्दै आएको छ भने सरकारले यी आरोपको खण्डन गर्दै आएको छ । संसदमा विपक्षीले आफ्नो विरोध प्रदर्शनलाई जारी राख्दा थुप्रैपटक बैठक अवरुद्ध हुँदै आएको छ ।
मुुख्य त अहिले प्रधानमन्त्री मोदीविरुद्ध हालै चुनाव जितेर आएकी कांग्रेस आईका राहुल र प्रियंका गान्धीले विरोध जनाउदै आएका छन् । चुुनावको समयमासमेत गौतम अडानीलाई मोदीको निकट भन्दै आएकी प्रियंकाले अडानीलाई तत्काल पक्राउ गर्नुपर्ने माग राख्दै आएकी छन् । संसदमा विपक्षी दलको यो विरोधले अहिले भारतको राजनीति तरंगित बनेको छ भने अडानीलाई काखी चेपेको आरोपले मोदी सरकारसमेत दबाबमा पर्दै गएको छ ।
प्रतिक्रिया