प्रधानमन्त्री के.पी शर्मा ओली उत्तरी छिमेकी चीनको भ्रमणमा छन । अन्यौलमा रहेको तर, सर्वाधिक चासोका रुपमा हेरिएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा पनि अन्ततः हस्ताक्षर भएको छ । यसक्रममा विभिन्न सार्वजनिक फोरमहरुमा सम्बोधन गर्दै ओलीले बिआरआई परियोजनाको प्रशंसा गरेका छन् । दुई मुलुकको आपसी सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री बनेपछि पहिलो औपचारिक भ्रमणका लागि चीन रोजेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले बेइजिङमा छन् । सोमबार साँझ बेइजिङ पुगेका प्रधानमन्त्री ओली भ्रमणको तेस्रो दिन विहिवार विभिन्न सार्वजनिक फोरमहरुमा सहभागी भएका छन् । बिभिन्न ९ वटा सम्झौता र समझदारीमा हस्ताक्षर समेत भएको छ ।
ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा ‘नेपाल–चीन सम्बन्धका विविध आयाम’ शीर्षकमा सम्बोधन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रुपमा आयोजना गरेको नेपाल–चीन व्यापार मञ्चलाई पनि ओलीले सम्बोधन गरेका छन् । मंगलबार राष्ट्रपति सी जिनपिङ र समकक्षी लि छ्याङसँग भेटवार्ता भए पनि केही बुँदामा कुुरा नमिल्दा बीआरआईमा हस्ताक्षर गर्ने विषय अन्यौलमा थियो ।
तर, केही शिर्षक र भाषामा हेरफेरपछि बीआरआई सहकार्य फ्रेमवर्कमा नेपाल र चीन सरकारबिच हस्ताक्षर भएको छ । यो हस्ताक्षर हुने भएपछि ओलीले विश्वविद्यालयमा सम्बोधन गर्दै नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सीको दूरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । नेपाल एक चीन नीतिमा दृढ रहेने प्रतिवद्धता ओलीले फेरि दोहो¥याएका छन् ।
स्न २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने ओलीको जिकीर छ । सोमबार चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङको स्वागत सत्कार पाएका प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाको ‘गार्ड अफ अनर’ सहित ग्रेट हल अफ पिपुलमा सकमक्षी लि छ्याङको स्वागत पाएका ओलीले मंगलबार चिनिया समकक्षी लि छ्याङसँग दुईपक्षीय भेटवार्ता गरिसकेका छन् । प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी र चिनियाँ राष्ट्रपतिसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थिए ।
प्रधानमन्त्रीस्तरीय कुटनीतिक भेटवार्तापछि विभिन्न ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई देशबीच नेपालबाट भैँसीको मासु निर्यातदेखि नेपालका विद्यालयमा चिनियाँ शिक्षक स्वंयसेवीले चिनियाँ भाषा पढाउनेसम्मका विषय समावेस छन् । दुबै पक्षबाट १२ बुँदे संयुक्त वक्तव्य समेत जारी भईसकेको छ । मंगलबार नै राष्ट्रपति सीसँग दुईपक्षीय भेटवार्तापछि सीले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गरिसकेका छन् । सीले ५०० मिलियन आरमबी अनुदान सहयोगको घोषणा गरेका हुन् । नेपाल–चीनबीच द्वीपक्षीय सम्झौता उत्साहका साथ हुने गरे पनि कार्यान्वयनको पाटो भने निकै निराशाजनक छ । प्रधानमन्त्री ओलीको जारी चिन भ्रमणमा भएको सहमति र समझदारीको कार्यन्वयन कसरी हुन्छ आम चासो स्वभाविक छ ।
चारदिने औपचारिक चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार साँझ बेजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदैछ । प्रधानमन्त्री ओली बिहिवार दिउँसो स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया