राजनीति

देउवा–गगन मिलेपछि आक्रामक शेखर, चुनौती दिएर छुट्टै भेला


भावी सभापतिका रुपमा पृष्ठभूमि बनाइरहेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला फेरि गुट व्यवस्थापनमा लागेका छन् । महामन्त्री गगन थापा सभापति देउवा निकट हँुदै गर्दा शेखरले विराटनगरमा शक्ति देखाएका हुन् । सो भेलामासरकारको कामकारबाहीप्रति समेत असन्तुष्टि पोखिँदा उनले गरेको संकेत के हो त ?

एमाले–कांग्रेस गठबन्धनपछि केही शान्त देखिएका कांग्रेस नेता डा.शेखर कोइरालाले पूर्वबाट शक्ति प्रदर्शन शुरु गरेका छन् । यसअघि आफ्नो गुट कायम राख्ने र सभापति शेरबहादुर देउवा गुटमा खेल्न सके सभापति हुने आशा देखेका उनी अहिले आफ्नै गुट व्यवस्थापनमा लागेको छन् ।

विशेषतःमहामन्त्री गगन थापा र देउवाको दूरी कम हुँदै जाँदा तथा यसले आगामी महाधिवेशन प्रभावित हुने आशंका बढ्दा कोइरालाले खबरदारी गरेका हुन् । मंगलबार विराटनगरमा भएको भेलामा प्रदेशका ११३ पालिकाका सभापति सहभागी भएको दाबी आयोजकको छ । जब कि नेताहरू मिनेन्द्र रिजाल, सुनिल शर्मा, राजीव कोइराला, केदार कार्कीलगायत केन्द्रीय र प्रदेशस्तरीय नेताहरू सहभागी सो भेला रोक्न केन्द्रीय कार्यालयले पत्राचार नै गरेको थियो ।

सो भेलामा सहभागी नहुन प्रदेश र केन्द्रीय कार्यालयलेसभापतिहरूलाई दबाब दिएका थिए । तर देउवा पक्षका नेता एनपी साउद र संस्थापन समूहका कृष्णप्रसाद सिटौला पक्षका नेतासमेत रहेका प्रदेश सभापति उद्धव थापालाई पनि वक्ता बनाएर कार्यक्रमको भ्रम अन्त्य गर्ने प्रयास आयोजकले गरेको थियो ।

जसमा सफलता नमिल्दा संस्थापनलाई कोइरालामाथि प्रश्न गर्ने बाटो मिल्यो । उनले भने पालिका सभापतिहरूको संरक्षणमा आफूले कुनै कसर नछाड्ने बताए । नेता कोइरालाले पार्टीको १५औँ महाधिवेशनबाट गलत कुरा हुन नदिने र कार्यकर्ताको संरक्षण आफूले गर्ने प्रतिबद्धता जनाए । तर, महाधिवेशन तोकिएको समयमा हुनेमा आशंका रहेको बताएका उनले सरकारमाथिसमेत प्रश्न उठाएका थिए । जहाँ अधिकांश नेताले केन्द्रको हस्तक्षेपको प्रयासमाथि पनि प्रश्न उठाए।

हुन त कोइरालाले गुटगत रुपमा गरेको यो नै पहिलो कार्यक्रम भने होइन । गगन र देउवा एक ठाँउमा उभिएपछि विधानले दिएसम्म महाधिवेशन पछि धकेलिनेमा उनी निश्चिन्त छन् ।

यही कारण गगन पक्षीय नेता बिना आफ्ना युवानेताहरुलाई उनले संकल्प यात्रा गराएका थिए । त्यस्तै मंगलबारको भेलासमेत कांग्रेस कोशी प्रदेश समितिले मंसिर २२ मा गर्न लागेको पहिलो प्रदेश सम्मेलनको मुख मै गरिएको हो । कोइराला पक्षले त्यो सम्मेलन अघि नै शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग गर्दै आएको छ ।

प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा लगत्तैको आसन र समय दिनुपर्ने उनीहरुको माग रहँदा संस्थापन पक्षले भने यो मागको बेवास्ता गर्दै आएको छ । फलतःसंस्थापन इतरले समानान्तर भेला गरेर शक्ति प्रदर्शन गर्दा एक्लिएका शेखरले देउवासँग सिङ्ग जुधाउन खोजेका रुपमा हेरिएको छ ।

त्यसो त यसअघि कोशी प्रदेश सरकार निर्माणकै बेलासमेत उनले विद्रोह गरेका थिए । कोइराला समूहले विद्रोह गरी एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएको उक्त विद्रोह लामो समय टिक्न सकेन । फलतः यसलाई कोइरालाको बार्गेनिङकै रुपमा विश्लेषण गरिँदाउनको चाहनामा एमाले कांग्रेस मिलेपछि नैतिक दवाव परेको थियो । अहिले पनि त्यही पुरानै अभ्यासका रूपमा हेरिँदाकोशी प्रदेश सरकारमासमेत इतर समूह सहभागी भएको छैन । यसले उनको पछिल्लो कदम गगनले गर्न सक्ने क्षतिप्रतिको खबरदारी र प्रदेशमा संस्थापन पक्षमाथि दबाब बढाउने रणनीति अनुसार भएको बुझ्न गाह्रो छैन ।

हुन त यो भेलामा उपनिर्वाचको नतिजालेसमेत काम गरेको छ । मोरङको ग्रामथानमा माओवादी आउनुमा संस्थापनको असहयोग रहेको शेखर पक्षको बुझाइ रहँदा देउवाले सत्ता गठबन्धनको बैठकदेखि विभिन्न कार्यदलमा पनि थापालाई अघि सार्न थालेका छन् । यद्यपि गगन नै अहिले देउवालाई रिझाउने र कोइरालालाई पनि नचिढ्याउने पक्षमा देखिन्छन् । जुन सन्दर्भमा कोशी भेलाले चिरिएर जान दवाव बढ्दा देउवाको उत्तराधिकारी बन्ने लडाईंले कांग्रेसमा गुटको भिडन्त अझ उत्कर्षतर्फ जाने पक्का छ ।