प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनको भ्रमणमा छन् । सोमबार साँझ बेइजिङ ओर्लिएका प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति सी चिनफिङ र समकक्षी लि छ्यानसँग दुई पक्षीय कुटनीतिक भेटवार्ता गरेका छन् । उच्चस्तरीय भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न ९ बुँदामा सहमति र समझदारी भएको छ । यद्यपि, प्रधानमन्त्री ओलीको यो चीन भ्रमणमा चर्चामा रहेको बीआरआई सम्झौतामा हस्ताक्षर हुने सम्भावना निकै कम देखिएको छ ।
सोमबार साँझ उत्तरी छिमेकी चीनको बेइजिङ ओर्लिएका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिनभर दुईपक्षीय उच्चस्तरीय भेटवार्ता एवम् कुटनीतिक गतिविधिमा व्यस्त रहे । सोमबार चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङको स्वागत सत्कार पाएका प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाको ‘गार्ड अफ अनर’ सहित सकमक्षी लि छ्याङले ग्रेट हल अफ पिपुलमा स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओलीले बेइजिङको तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गरेका छन् । त्यसपछि भएको प्रधानमन्त्रीस्तरीय दुईपक्षीय भेटवार्तापछि नेपाल–चीनबीच व्यापार प्रवद्र्धन, प्राविधिक सहयोग आदानप्रदानलगायतका विषयमा आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भयो । दुई देशबीच नेपालबाट भैँसीको मासु निर्यातदेखि नेपालका विद्यालयमा चिनियाँ शिक्षक स्वंयसेवीले चिनियाँ भाषा पढाउने लगायत विभिन्न ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल र चीनबीच भएका
९ वटा सहमति :
टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
विकास योजना सम्बन्धी समझदारी पत्र
आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र
यी सम्झौताहरुमा चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिभ ‘बीआरआई’ उल्लेख नगरी हस्ताक्षर भएका हुन् । तर चीनले यसअघि नेपालमा ऋण तथा अनुदानमा सञ्चालन गरिएका अधिकांश परियोजनालाई बीआरआईको हिस्सा भएको उल्लेख गर्दै आएको छ । प्रधानमन्त्री ओलीको यसपटकको चीन भ्रमणलाई लिएर नेपालमा बीआरआईको निकै चर्चा भएको थियो । तर यो भ्रमणमा बीआरआई सम्झौतामा हस्ताक्षर हुने सम्भावना कम देखिएको छ । मंगलबार दुई देशका प्रधानमन्त्रीबीच भएको दुई पक्षीय वार्ताका क्रममा बीआरआईलाई नसमेटी अन्य ९ वटा सम्झौतामा मात्रै हस्ताक्षर हुनले पनि बीआरआई कार्यान्वनसम्बन्धी सम्झौता तत्काल अगाडि नबढ्ने संकेत गरेको छ ।
त्यसो त सत्तारुढ कांग्रेस एमालेका नेताहरु सम्मिलित कार्यदलले तयार पारेको मस्यौदालाई चिनियाँ पक्षले संशोधन गरेर पठाएपछि नेपाली पक्षले त्यसलाई स्वीकार नगर्दा हस्ताक्षर हुन नसकेको हो । चिनियाँ सरकारले निमार्ण गर्ने बीआरआई अन्तर्गतका परियोजनाहरु अनुदानमा आधारित लगानीमा गर्ने प्रस्ताव नेपालले गरेकोमा चिनियाँ पक्षले त्यसलाई हटाएर पठाएको नेपाली प्रतिनिधिमण्डलले जनाएको छ । यस्तै नेपालले प्रस्ताव गरेका दुई परियोजनाको नामसमेत चिनियाँ पक्षले हटाएको छ । मदन भण्डारी प्राविधिक विश्वविद्यालय र काठमाडौं रिङरोडमा प्रसारण लाइन बनाउने विषय पनि सम्झौताको मस्यौदाबाट हटाएर पठाएको नेपाली पक्षले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलले परियोजनाको नाम हटाएको विषयलाई स्वीकार गरे पनि अनुदान शब्द हटाएको विषयमा भने सहमति हुन नसकेको बुझिएको छ । अब दुई देशबीच सम्झौता हुने अर्को औपचारिक कार्यक्रम तय नभएकाले यो सम्झौतामा हस्ताक्षर हुने सम्भावना क्षीण देखिएको छ ।
लगत्तै मंगलबार दिउँसो प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दुईपक्षीय शिष्टाचार भेटवार्ता भएको छ । बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा प्रधानमन्त्री ओली र सीबीच दुईपक्षीय भेटवार्ता भएको हो । मंगलबारै प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटीका अध्यक्ष झाव लेजीबीच ग्रेट हल अफ पिपलमा भेटवार्ता भएको छ । यी सबै उच्चस्तरीय भेटवार्तामा नेपाल र चीनबीचको दुईपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने र थप जनस्तरमासमेत सम्बन्ध विस्तारबारे दुईपक्षीय कुराकानी भएको छ । दुई मुलुकबीच विद्यमान अवसर र सम्भावनाहरूलाई आपसी हितका लागि भरपुर सदुपयोग गर्दै सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा जोड दिइएको छ । तर दुई मुलुकका कार्यकारी प्रमुखबीच भएको दुईपक्षीय भेटवार्ता र उच्चस्तरीय तहमा भएको भेटघाट केवल औपचारिकतामा मात्रै सीमित बनेको टिप्पणी हुन थालेको छ । सन् २०१७ मा दुई मुलुकबीच सम्झौता भएको चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईको गाँठो फुकाउन प्रधानमन्त्री ओलीको यो पटकको भ्रमण असफल बन्यो । बीआरआई सहकार्य फ्रेमवर्क सम्झौतामा हस्ताक्षर हुने आशंकाका बीच त्यो सम्भावना टरेको देखिन्छ ।
प्रधानमन्त्री ओलीको यो भ्रमणका क्रममा सत्तारुढ दुई दलले सहमति गरेर चिनियाँ पक्षलाई बुझाएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर हुने अपेक्षा गरिएको थियो । अनुदानको अडानमा रहेको कांग्रेस र सकेसम्म सहमति गरेर बीआरआई अघि बढाउने पक्षमा रहेको एमालेले मंसिर १५ गते अन्तिम समयमा सहमति गरेर बीआरआई सहकार्य फ्रेमवर्क मस्यौदा चिनियाँ पक्षलाई बुझाएको थियो । परराष्ट्रले चिनियाँ दूतावास पुगेर सो मस्यौदा हस्तान्तरण गरेको थियो । तर, प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा दुई पक्षीय सम्झौतामा हस्ताक्षर हुनुअघि चिनियाँ पक्षले अनुदान शब्द हटाएर संशोधनसहित मस्यौदा पठाएपछि नेपाली पक्ष बिलखबन्दमा परेको थियो ।
जसलाई नेपालले स्वीकार नगर्दा बीआरआई सम्झौता यसपटक पनि थाँती रहने भएको छ । यस्तै प्रधानमन्त्री चीन उड्नु अघि नै बेइजिङ पुगेर समकक्षी वाङ यीसँग दुईपक्षीय भेटवार्ता गरी स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डाक्टर आरजु राणाले बीआरआईबारे दोधारे प्रस्ताव पेस गरेकी थिइन् । समग्रमा सत्तारुढ गठबन्धनको प्रस्तावलाई चीनले अस्वीकार गरेको स्पष्ट भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको चर्चासँगै सर्वाधिक बहसको विषय बनेको ‘बीआरआई’ सम्झौतामा हस्ताक्षर हुन नसक्नुले अहिले भएका अरु सम्झौताहरुको कार्यान्वयनमाथि पनि प्रश्न उठ्ने देखिएको छ । साथै आन्तरिक रुपमा बीआरआई रोक्ने कांग्रेसको रणनीति आरजुको कमाण्डमा फेरि एकपटक सफल भएको छ । यसले नेपाल चीनबीचको दुईपक्षीय सम्बन्धमा पुनः एकपटक अन्योलता बढाउने संकेत गरेको छ भने प्रधानमन्त्री ओलीको भ्रमणलाई समेत औपचारिकतामै सीमित गरिदिएको छ ।
प्रतिक्रिया