Breaking

कांग्रेस–एमालेकै रजगज, उनीहरुलाई नै जनताको प्यार


मिसन ०८४ को तयारी मानिएको स्थानीय तह उपनिर्वाचनमा एकाध ठाउँबाहेक दलहरु एक्लै चुनाव लडे । यसले उनीहरुको हैसियत र लोकप्रियता जाँच्न मद्दत पु¥याएको छ । उपनिर्वाचनको एक महिना पहिलेसम्म मात्रै पनि पुराना दलहरुप्रति गालीगलौज र अविश्वासको ओइरो थियो । तर, उपनिर्वाचनले उनीहरुलाई नै पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः किन पु¥यायो त ?

अस्थिर राजनीतिमा, मिसन ८४ र विकल्पको दन्तबझानका बीच स्थानीय तह उपनिर्वाचनले केही विशिष्ट खालका सन्देश प्रवाह गरेको छ । हुन त उपनिर्वाचनको नतिजाकै भरमा ०८४ को निर्वाचनका लागि हौसिने र झस्किने भन्दा पनि उचित समीक्षा गरी अघि बढ्न दलहरुलाई बाटो भने पक्कै पनि देखाएको छ । त्यसमाथि नयाँ र विकल्प भनिएका दलहरुको कन्तविजोकको अवस्थाले उनीहरुलाई पनि थप परिस्कृत हुन सन्देश दिएको छ ।

उपनिर्वाचनमा सबैभन्दा धेरै सिट जितेर पहिलो दल बने पनि कांग्रेसले पोल्टाकै जोगाउन सकेन । निर्वाचन भएका ४१ मध्ये कांग्रेसले जितेका २४ स्थानमा उपनिर्वाचन भएकाले उसले १७ स्थानमा मात्र जित हात पार्दा आठ सिट गुमाएको छ । यो कांग्रेसका लागि आफैँमा पनि खतराको घण्टी मान्न सकिन्छ ।

यसले चुनावी अभियानका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको कमाण्डलाई जनता र कार्यकर्ताले समेत पूर्ण रुपमा आत्मसात् गर्न नसकेको दृष्तान्त प्रस्तुत गरेको छ । तर, गत निर्वाचनमा कांग्रेस गठबन्धन गरेर चुनावमा होमिनु र माओवादीले जितेका केही क्षेत्रमा कांग्रेसले आफ्ना नेता जोगाउन र चिन्न नसकेका कारण यो अपेक्षित नै भएको जानकारहरु बताउँछन् ।

यस्तै नेकपा एमाले, कांग्रेसले जितेका सबै २४ सिटमा कब्जा गर्ने रणनीतिसहित चुनावमा होमिएको थियो । तर, उसले गत वर्षकै संख्यामा चित्त बुझाउनु प¥यो । इलाममा भएको उपनिर्वाचनबाट अति उत्साहित भएको एमालेको ह्याङओभर नसकिनु र त्यसपछि घटेको क्रेजको मूल्यांकन गर्न नसक्दा एमाले थाहै नपाई गुल्टिन पुग्यो । तर, कम्युुनिस्ट फुटको असर उसमा स्पष्ट देखिँदा एकताको सन्देश पनि दिएको छ ।

बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकामा एमाले र माओवादी मिल्दा आएको जित र काठमाडौं १६ ले यही सन्देश दिएको छ । काठमाडौंमा रास्वपाकी रोजिना श्रेष्ठ २ हजार ९०२ मतसहित विजयी हुँदा दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरको २ हजार २२० मत थियो । जब कि एकीकृत समाजवादीको मत एक हजार ९२ छ । यो मत एमालेलाई आएको भए उसको जित हुन सक्थ्यो ।

यता अहिले सबैभन्दा बढी नेकपा माओवादी केन्द्र हौसिएको छ । यसको कारण एक्लै लड्दा पनि सिट संख्याको आधारमा हेर्ने हो भने एमालेलाई उछिनेको छ । एमालेले कुल ८ ठाउँमा जित निकाल्दा माओवादी ११ स्थानमा विजयी भएको छ । त्यसमाथि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेस–एमालेको गठबन्धनलाई समेत पराजित गरेपछि उसको मनोबल बढेको छ ।

यस्तै कांग्रेसकै असन्तुुष्ट नेताहरुलाई पार्टीमा भित्र्याएर मोरङको ग्रामथान र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ को अध्यक्षमा माओवादीले जित निकालेको छ । यी सबै तथ्यांकले प्रतिपक्षमा बसेर जनतामा जानु र रणनीतिक चालले उपनिर्वाचनमा प्राप्त नतिजालाई माओवादीले २०६४ साल फर्किएको अर्थको रुपमा ब्याख्या गरिरहेको छ ।
तर, माओवादी यति धेरै हौसिनुपर्ने खासै कारण भने देखिँदैन ।

किन कि माओवादीको आधार इलाका र केन्द्रीय उपमहासचिवत्रयको वडामै उसले लज्जास्पद हार व्यहोर्नुपरेको छ ।
शक्ति बस्नतेको गृह वडा जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसले बाजी मारेको छ । माओवादीका गोरख बहादुर नेपाली पराजित भए । यस्तै जनार्दन शर्माको गृहवडा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५ मा माओवादीले दोस्रोपटक पराजय व्यहोरेको छ । माओवादीका जसिराम बस्नेत पराजित भएका छन् ।

२०७९ को चुनावमा पनि त्यहाँ माओवादी पराजित भएको थियो । त्यसैगरी वर्षमान पुनको वडाको हालत पनि यस्तै रह्यो । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को अध्यक्षमा माओवादीका बेगम पुन कांग्रेससँग पराजित भए । यसले माओवादीले अनेक रणनीति अपनाएर कांग्रेसको सिट खोसे पनि आफ्नै शक्तिशाली नेताहरुको आधार क्षेत्र नै निरन्तर गुमाइरहेको जनमतले खतराको घण्टी बजाउँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र स्वतन्त्र जनप्रतिनिधि हर्क साम्पाङसमेत यो उपनिर्वाचनमा परीक्षामा उत्रिँदा उनीहरुको हैसियत पनि पुष्टि भएको छ । धेरै उम्मेदवारको जमानत नै जफत भएको छ । यसले पुराना दलप्रतिको वितृष्णालाई आफूतिर झुकाउन उनीहरु असफल भइरहेको स्पष्ट हुँदा वैकल्पिक मुद्दामा थप तयारी गर्न विकल्प भनिएकाहरुलाई सन्देश दिएको छ । उसै परे ०८४ साल अगावै राजा आउने वा आफूहरुले नै सरकारको नेतृत्व गर्न सक्ने अवस्था आउने जिकिर गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको हरिबिजोक देखियो ।

यता, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको शक्ति भने अझै पनि परीक्षण हुन पाएको छैन । यस्तै कांग्रेस–एमालेले जितेका ठाउँमासमेत मतदाताको घट्दो उत्साहले ठूला दलहरुप्रतिको वितृष्णालाई दर्शाए पनि विश्वासिला विकल्प नपाएको सन्देश मतदाताले एकातर्फ दिएका छन् । अर्कोतर्फ एकले अर्काको सिट खोसे पनि वा पहिलो र दोस्रो हुने रेसमा घटबढ भए पनि कांग्रेस, एमाले र माओवादी नै मुख्य शक्ति रहेको पुष्टि उपनिर्वाचनले गरेको छ ।