Breaking

चीनले नेपाललाई झन्डै नौ अर्ब अनुदान दिने,राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो


काठमाडौं । चीनले नेपाललाई झन्डै नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ५०० मिलियन आरएमबी दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जुन अहिलेको विनिमय दरअनुसार नेपाली नौ अर्ब ३० करोड रुपैयाँ हुन्छ ।आजै प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनफिङबिच भेटवार्ता भएको थियो ।


चीनको राजधानी बेइजिङमा देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा दुई नेताबिच भेट भएको हो । यसअघि प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिच पनि मंगलबार नै भेटवार्ता भएको हो ।

लीसँगको भेटपछि नेपाल र चीनबिच सहयोगबारे आठ समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।

प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधि मण्डलको टोली आइतबार चार दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिएकाछन् । सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बचन दिएकाछन् ।