काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)को आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स ७४ रनमा अल आउट भएको छ । चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनमा पराजित गरेको हो ।
आजको दोस्रो खेलमा चितवनले दिएको १ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको पोखरा ७४ रन बनाउँदै १३.२ ओभरमा अल आउट भएको हो ।
पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । नारायण १३औं ओभरको पाँचौ बलमा आउट भए । म्याट क्रिचलीले १६ बलमा १७ रन बनाए । पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
चितवनका लागि सोहेल तन्भिर, रिजन ढकाल र ल्युक बेनकेनस्टेनले समान ३ तथा दीपक बोहोराले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन बनाए । बोपारले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो ।
लगातार दोस्रो जित हासिल गरेको चितवनको ४ अंक भएको छ । पहिलो खेलमै लज्जास्पद हार बेहोरेको पोखराले कुनै अंक जोड्न सकेन । बुधवार लिगको पाँचौ दिन २ खेल हुदैछ ।
प्रतिक्रिया