२०८४ को आम निर्वाचनमा एक्लै चुनाव लड्ने नीति तीन शीर्ष दलहरुले लिएका थिए । तर, हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेस–एमाले नै त्यस नीतिको विपरीत गए । पुराना दलहरुप्रति वितृष्णा बढेको भनिएका बेला विकल्प भनिएका दलहरुले नै हावा खाएका छन् ।
स्थानीय तह उपनिर्वाचनका केही रोचक दृश्य ।
मिसन–०८४ को शक्ति परीक्षणको रुपमा हेरिएको स्थानीय तह उपनिर्वाचनमा शीर्ष दलहरुले नै हावा खानुपरेको छ । २०७९ मा जितेका सिट समेत कांग्रेसले जोगाउन नसक्दा कांग्रेसका सबै सिटमा कब्जा गर्ने रणनीतिमा रहेको एमाले २०७९ कै नतिजामा बराबरी गरेको छ । माओवादीले भने आफ्नो संगठन जीवित रहेको सन्देश दिएको छ । यतिमात्र नभई रणनीतिक रुपमा जनतामा गए सकारात्मक नतिजा आउने बल पनि माओवादीलाई थपेको छ । यस्तोमा यीनै कांग्रेस–एमाले र माओवादीको विकल्पमा आएका भनिएका राष्ट्रिय र क्षेत्रीय दलहरुको भने कन्तविजोक देखिएको छ ।
जनताले पाए विकल्प
केही दिनअघि मात्रै उपप्रधानमन्त्री प्रकाशमान सिंहले मतदान गरेपछि चुनावबाटै विकल्प दिनुपर्ने बताएका थिए । काठमाडौं महानगरपालिका १६ का मतदाता रहेका सिंहले त्यही भोट पनि हाले । वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठलाई निर्वाचित गराएर जनताले विकल्प छानेका छन् । जहाँ एमाले र कांग्रेसकै मुख्य प्रतिस्पर्धा भनिएको थियो । प्रतिस्पर्धा त भयो तर दोस्रो हुनका लागि । त्यहाँ कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा घरदैलोमै खटिएका थिए । एमालेले नतिजा आफ्नो पक्षमा पार्न पूर्वअध्यक्ष तथा राम्रो पकड भएका रामवीर मानन्धरलाई भित्र्याएको थियो । तर, रास्वपाको सारा शक्ति त्यही केन्द्रित हुँदा कांग्रेस–एमालेको दम चलेन ।
पूर्वकांग्रेसी भित्र्याएर माओवादीको जित
२०७९ को निर्वाचनमा कांग्रेसको नेतृत्वमा रहेको मोरङको ग्रामथान गाउँपालिका यसपटक माओवादीले खोसेको छ । त्यो पनि पूर्व कांग्रेसी नेताकै बलमा । गाउँपालिकाको अध्यक्षमा नमोनारायण माझी विजयी भएका छन् । २०७४ को चुनावमा कांग्रेसबाटै वडाध्क्ष विजयी भएका माझी २०७९ मा टिकट नपाएरपछि स्वतन्त्र बनेर चुनाव लडे पनि हार्न पुगे । त्यसपछि गत भदौमा मात्रै माओवादी प्रवेश गरेका उनले टिकट पाएर गाउँपालिकाकै अध्यक्ष बनेका छन् । उनलाई कांग्रेसका करिब दुई हजार भोट आएकाले माओवादीलाई सहज भएको विश्लेषण भइरहेको छ ।
कांग्रेस परित्याग गरी माओवादी प्रवेश गरेका नरबहादुर झाँक्री डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं पाँच को अध्यक्षमा निर्वाचित भएका छन् । त्यहाँ कांग्रेसका उम्ेमदवारले २१ मत मात्रै पाएका छन् । गत निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका उनी तेस्रो स्थानमा सीमित बनेका थिए । अहिले माओवादी प्रवेश गेपछि वडाध्यक्ष बनेका छन् ।
समाजवादी छाडेपछि एमालेबाट चिठ्ठा
दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेले बाजी मारेको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका जंगबहादुुर शाहीलाई पार्टीमा भित्र्याउन सफल भएको एमालेले कांग्रेसलाई टक्कर दिन सकेको हो । उनी गएको कार्तिक २७ गते एमालेमा फर्किएका थिए । शाही एकीकृत समाजवादीमा लाग्दा महाबुमा एमाले कमजोर बनेको थियो । उनको पुनरामगनसँगै एमालेको पनि पुनरागमन भएको छ । यहाँ एमालेले जंगबहादुरलाई भन्दा जंगबहादुरले एमाले जिताएको भन्दै भइरहेको छ ।
कांग्रेस र एमाले मिल्दा पनि जितेको माओवादी
मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुने र माओवादीलाई पत्तासाफ गराउने रणनीति यसअघि सत्तारुढ दलहरुको थियो । यसै रणनीतिअनुसार माओवादीको जग रहेको रुकुम पूर्वमा उनीहरुले गठबन्धन नगर्ने नीति विरुद्ध गएर गठबन्धन गरे । तरपनि पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा रुख चिन्ह लिएर मैदानमा होमिएकी एमाले उम्मेदवार केशकुमारी तुलाचनलाई पराजित गर्दै माओवादीकी नरपुुरा बुढा विजयी भएकी छिन् । यसले माओवादीले जग बलियो रहेको सन्देश दिएको छ ।
प्रतिष्ठा जोगाउन सफल रास्वपा
पार्टी सभापति रवि लामिछाने हिरासतमा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–१६लाई प्रतिष्ठाको बिषय बनाएको थियो । त्यही कारण उसले आफ्नो सम्पूर्ण शक्ति त्यही लगाएको थियो । अन्ततः रोजिना श्रेष्ठको जितले उसको प्रतिष्ठा जोगाइदिएको छ । श्रेष्ठ काठमाडौं महानगरकै एक्ली महिला वडाध्यक्ष बनेकी छिन् ।
नेमकिपाको जित र विकल्पको लज्जास्पद हैसियत
प्रमुख राजनीतिक दलहरुलाई पछि पार्दै कालिकोटको तिलगुफा नगरपालिका–४को अध्यक्षमा नेपाल मजदुुर किसान पार्टीका खड्गराज शाही निर्वाचित भएका छन् । त्यहाँ विकल्प भनिएका रास्वपा पाँच मतमा मात्र सीमित बन्यो । ०७९ को चुनावमा माओवादीले जितेको सो वडामा नेककिपाकै उम्मेदवार निकटतम प्रतिस्पर्धी थिए । यसबाहेक ३ र ९ मा पनि नेमकिपाकै वडाध्यक्ष छन् । अर्थात पहिलेदेखि नै बलियो प्रतिस्पर्धी नेककिपाले वडाध्यक्ष जित्यो ।
तर, विकल्प भनिएका दलहरुको अवस्था भने निराशाजनक देखिएको छ । २६ स्थानमा उम्मेदवार उठाएको रास्वपाले एक वडाध्यक्ष जित्दा ११ स्थानमा भने ५० मत पनि कटाउन सकेको छैन । यसको अर्थ ग्रामिण भेगमा अहिले पनि रास्वपाको शक्ति बिस्तार हुन नसकेको सन्देश दिएको छ ।
आईतबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले आफ्नो पार्टी आगामी निर्वाचनमा कांग्रेस एमालेको विकल्पमा रुपमा उदाएर पहिलो बन्नसक्ने बताएका थिए । तर उनको भनाईलाई उनकै जिलालाबासीले खण्डन गरिदिए । उपनिर्वाचनमा राप्रपाले खाता समेत खोल्न सकेन । लिङ्देनकै गृहजिल्ला झापाको कन्काइ नगरपालिका–६ को वडा अध्यक्ष पदमा राप्रपाले जम्मा २६ मत पायो । त्यहाँ राप्रपाका उम्मेदवार नारायणप्रसाद सिटौला पाँचौँ स्थानमा रहे ।
बरु एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटको गढीमाई–८मा वडाध्यक्ष जितेको छ । उसले १५ उम्मेदवार उठाएकोमा १४ उम्मेदवार पराजित भएका छन् । मधेशको महिसा बताउने जनमत पार्टीले पनि विकल्पको विश्वास कायम राख्न नसकेको सन्देश उपनिर्वाचनले दिएको छ । १५ उम्मेदवार उठाएको जनमत सहभागितामै सीमित भएको छ ।
प्रतिक्रिया