काठमाडौं । कप्तान अनिल शाहको अर्धशतकको सहयोगमा नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स लगातार दोस्रो जित हात पारेको छ ।
आजको दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै जनपुर विजयी भएको हो । र्कीतिपुरको टियू क्रिेकेट मैदानमा जारी खेलमा १ सय ४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरका लागि ओपनर तथा कप्तान अनिलले सर्वाधिक ६२ रन बनाए । उनले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । उनले ३५ बलमा ६ चौका र २ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका थिए । अनिलको यो अर्धशतक प्रतियोगितामा नेपाली ब्याटरले बनाएको पहिलो अर्धशतक हो ।
कप्तान अनिल र अर्का ओपनर आसिफ शेखले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । आसिफले २९ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए । आसिफ मौषम ढकालको बलमा १०औं ओभरको चौथो बलमा आउट भए ।
लाहिरु मिलन्थाले १३ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन जोडे । लाहिरु जिशान मक्सुदको एलबिडब्लु धरापमा परे । जिम्मी निशम १६ रनमा नट आउट रहे ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।
कर्णालीका लागि गुलशन झाले सर्वाधिक ३६ रन जोडे । उनले उनले २७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्ती २३ बलमा ३३ बनाउँदै रन आउट भए । सातौं विकेटका लागि अर्जुन र सोमपाल कामीले ५६ रनको साझेदारी गरे । ओपनर शिखर धवनले १४ बलमा ३ चौकाको सहयोगमा १४ रन जोडे ।
जनकपुरले पहिलो खेलमा विराटनगर किंग्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो । आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो ।
भोलि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो तथा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच दोस्रो खेल हुनेछ ।
प्रतिक्रिया