नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबार भव्य उद्घाटन भयो । उद्घाटन खेलमा दर्शकको उपस्थितिले प्रतियोगितामा थप रौनक छरेको थियो । तर, आयोजक क्यान व्यवस्थापकीय भूमिकामा चुक्दा पहिलो दिन केही अप्रिय दृश्यहरू देखिए ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो पटक भएको फ्रेन्चाई नेपाल प्रिमियर लिग (एनपीएल) उत्सवकै रुपमा रहेको छ । जसलाई शनिबार भएको उद्घाटन खेलमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा देखिएको माहोलले नै पुष्टि गर्छ । चर्चित विदेशी खेलाडी मैदानमा उत्रिदा त्यसको साक्षी बत्र हजारौं दर्शक कीर्तिपुर पुगेका थिए । तर, खेल हेर्न कीर्तिपुर पुगेका सबै दर्शक व्यवस्थापनका कारण मैदान भित्र छिर्न नपाउँदा त्यहाँको माहोल केही अप्रिय बत्र पुग्यो । जसमध्ये केही अप्रिय दृश्यको हामी यहाँ चर्चा गर्दैछौं ।
दृश्य एक
खेलाडी र कप्तान हुँदा नेपाली क्रिकेटलाई आफ्नो काँधमा बोकेर हिँडेका पारस खड्का क्यानको सचिव पदमा पुगेपछि खेलमा मात्रै नभई क्रिकेट सङ्घमा पनि बदलाव ल्याइरहेका छन् । त्यसका बाबजुद एनपीएल जस्तो प्रतियोगिताको भव्य आयोजना गरिरहेको छ । तर, टिकट काटेर पनि क्रिकेट हेर्न नपाए पछि दर्शकहरूले सङ्घविरुद्ध नाराबाजी नै गर्नु प¥यो । अनलाइनमार्फत टिकट काटेर ढुक्क भएका समर्थकहरू मैदान पुगेपछि भने बाहिरै बस्नुपर्ने अवस्थाले आक्रोशित बन्दै नाराबाजीमा उत्रिए ।
दृश्य दुई
क्यानका सचिव पारस खड्काले खेलअघि शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै टिकट नभएकाले घरमै बसेर हेर्न अनुरोध गरेका थिए । तर उनको पोष्टलाई बेवास्ता गर्दै दर्शक मैदानमै पुगे । टिकट भएर पनि मैदान छिर्न नपाएका केही समर्थकहरू मूल गेटमा पुगेर पारससँग वादविवादमा उत्रिएका थिए । उनीहरुले मैदान भित्रैबाट खेल हेर्न पाउनु पर्ने माग राखेका थिए । तर, पारसले स्थान नभएको र टिकटको रकम रिफण्ड गर्ने आश्वसन दिएका थिए । पारसको अनुरोधलाई अस्वीकार गरेका दर्शकले हुलदंगा गर्न थालेपछि प्रहरीले लाठीचार्ज नै गर्नु पर्ने अवस्था सिर्जना हुँदा कीर्तिपुर मैदान केही समय तनावपूर्ण बनेको थियो ।
दृश्य तीन
मैदानबाहिरको अर्काे भागमा पनि पारस पुगेर दर्शकहरूसँग कुरा गरेका थिए । केही दर्शकहरूले मैदानको क्षमता ४५ हजार रहेको तर १२ हजार मात्र टिकट बेचिएको भन्दै गुनासो गरिरहेका थिए । जसलाई पारसले सोझै नकार्दा मैदानमा १२ हजार नै क्षमता रहेको र अर्काे खेलमा आउन अनुरोध गरे ।
दृश्य चार
टिकट नभएकाहरूले मैदानमा प्रवेश पाएको र क्षमताभन्दा बढी टिकट बेचेको भन्दै केहीले टिकेटिङ पार्टनर खल्तीलाई गाली गरिरहेका थिए । क्यानले पहिले नै टिकट पुरै ‘सोल्ड आउट’ भइसकेको भने पनि मैदानमै टिकट बिक्री भइरहेको केही दर्शकहरूले आफूले प्रत्यक्ष देखेको आरोप लगाए । नेपाली समर्थकहरू ज्यानको बाजी लगाएर मैदानसम्म पुग्ने गरेका छन् । जसले गर्दा प्रहरीले दर्शकमाथि लाठी चार्ज नै गर्नु परेको थियो ।
दृश्य पाँच
व्यवस्थापनको कमजोरीको फाइदा उठाउँदै दर्शकहरू पनि जोखिम मोलेरै मैदान छिरे । पर्खालमाथि लगाइएको काडे तारले पनि नेपाली क्रिकेट समर्थकलाई छेक्न सकेन । काँडे तार छिछोल्दै हाम फालेरै उनीहरु मैदान प्रवेश गरे । एनपीएलको उद्घाटन खेलमा यसरी ज्यानकै बाजी लगाएर दर्शकहरू मैदान प्रवेश गरेको दृष्य सामाजिक सञ्जालमा भाइरल नै भइरहेको छ । व्यवस्थापनमा क्यान चुक्दा मैदानमा यस्ता थुप्रै घटनाहरू घटे । दर्शकको भिडमा धकेलाधकेल हुँदा प्रहरी र दर्शक गरेर सात जना घाइते हुन पुगेका छन् ।
आयोजक र टिकेटिङ पार्टनरको गल्ती त छदै छ साथै टिकटहरू सबै बिक्री भइसकेको थाहा हुँदाहुँदै मैदान पुगेर जबरजस्ती प्रवेश गर्न खोज्ने दर्शकहरुले पनि बल मिच्याइँ गरेको देखिन्छ । तर, दर्शकको अभूतपूर्व आकर्षणलाई व्यवस्थापकीय चुस्तताले सम्बोधन गर्न नसक्नु क्यानको कमजोरी देखिन्छ । जुन कमजोरीकै कारण अनपेक्षित र दुर्भाग्यपूर्ण घटना एनपीएलको उद्घाटन खेलमै देखियो । त्रुटि सच्याउँदै आगामी खेलमा यस्तो अवस्था आउन नदिन आयोजक थप जिम्मेवार र गम्भीर बन्नु पर्ने देखिन्छ । साथै सुरक्षा संवेदनशीलतालाई पनि ध्यान दिँदै क्रिकेटप्रति नेपाली दर्शकले दर्शाएको झुकावको सम्मान गर्न झनै आवश्यक छ । यसका लागि क्यानले आफ्नो व्यवस्थापनलाई थप मजबुद बनाउन उद्घाटन खेलबाट पाठ सिक्ने हो कि ?
प्रतिक्रिया