Breaking

उपनिर्वाचनः २ बजेसम्म ५० प्रतिशत भन्दा बढी मत खस्यो


काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत बढी मतदान सम्पन्न भएको आयोगकी प्रवक्ता नीता पोखरेलले जनाएक्री छिन् ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको छ । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएकाहरुले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।