स्थानीय तह उपनिर्वाचनको दिन मतदान केन्द्र वरपर नेपाली सेनाले गस्ती गरेको छ । काठमाडौंको कीर्तिपुर क्षेत्रमा सेनाले पैदल गस्ती गरेको हो ।
कीर्तिपुर नगरपालिकाको मेयर तथा वडा नम्बर १ र ४ को अध्यक्ष चुन्न उपनिर्वाचन भइरहेको छ । काठमाडौं महानगरपालिकाको वडा नं १६ को अध्यक्ष पदमा पनि उपनिर्वाचन भइरहेको छ ।
बिहान ७ बजेदेखि सुरु मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन स्वच्छ, मर्यादित र भयरहित ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ ।
सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरीलाई खटाइएको छ । त्यसपछि सशस्त्र प्रहरी र अन्तिम तथा सबैभन्दा बाहिरी घेरामा नेपाली सेना रहने गरी प्रबन्ध मिलाइएको छ ।आवश्यकता अनुसार सादा पोशाकमा विशेष प्रहरी पनि परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले बतायो ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि आज उपनिर्वाचन भइरहेको छ । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
प्रतिक्रिया