Breaking

चीन–कांग्रेस सधैँ खटपट, भारत र अमेरिकासँग दोस्ती


कांग्रेस नेतृ एवम परराष्ट्रमन्त्री डाक्टर आरजु राणा विहीवार बेइजिङ पुगेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको चाँजोपाँजो मिलाउन राणा बेइजिङ पुगेकी हुन् । प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका साथै बीआरआई कार्यान्वयन सम्झौताबारे आफ्नो पार्टी नेपाली कांग्रेसमाथिको आशंका मेटाउन उनी चीन पुगेको बुझिएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको कमाण्ड परराष्ट्रमन्त्री राणाले गरे पनि बीआरआईका सवालमा कांग्रेसले लिएको अडानले चीन र कांग्रेसबीचको कुटनीतिक सम्बन्धलाई लिएर बहस छेडिएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीनको बेइजिङ पुगेकी छन् । परराष्ट्रमन्त्री हुनासाथ दक्षिणी छिमेकी भारत भ्रमणमा निस्किएकी राणा परराष्ट्रमन्त्रीको हैसियतमा पहिलोपटक चीन भ्रमणमा गएकी हुन् । मन्त्री बनेयता अन्तर्राष्ट्रियस्तरमा सम्मान ग्रहण गर्ने तथा कुटनीतिक संवादमार्फत नेपालका मुद्दामा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सफल भएकी आरजु चीनमा भने प्रधानमन्त्री ओलीको भ्रमणको चाँजोपाँजो मिलाउन गएकी हुन् ।

भारत–अमेरिकालगायत विभिन्न देशको भ्रमण गरेकी सकेकी राणा परराष्ट्रमन्त्री बनेको महिनौँ बित्दासमेत चीनको नजरमा परेकी थिइनन् । तर अहिले भने प्रधानमन्त्री ओली नै चीन भ्रमणमा जाने भएपछि त्यसको तयारी स्वरुप उनलाई बेइजिङ जाने साइत जुरेको हो । बेइजिङ पुगेकी राणाले शुक्रबार समकक्षी वाङ यीसँग दुईपक्षीय भेटवार्ता गरेर शनिवार स्वदेश फर्किने कार्यसूची छ । प्रधानमन्त्री ओलीको भ्रमणपूर्व नै चीन ओहोरदोहोर गर्न लागेकी राणा बीआरआईको सवालमा नेपालको सन्देश बोकेर बेइजिङ पुगेकी हुन् । कांग्रेसको दवावमा सत्ता गठबन्धनको सन्देश बोकेर चीन पुगेकी राणाले बीआरआई र नेपाल मामिलामा चीनको नाडी छामेर स्वदेश फर्किने बुझिएको छ ।

परराष्ट्रमन्त्री राणाको पहिलो चीन यात्रा प्रधानमन्त्रीको भ्रमण प्रभावकारी बनाउन मात्र केन्द्रित नभई नेपाल–चीनबीच सन् २०१७ मै सम्झौता भएको बीआरआई सम्झौता यथास्थितिमा कार्यान्वयन गर्न नसक्ने, ऋणमा नभएर अनुदानमा मात्र अघि बढाउन तयार रहेको सन्देश बोकेर चीन पुगेकी हुन् ।

ऋणमा भए बीआरआई अघि बढाउन नसक्ने र अनुदान भए मात्र स्वीकार्य हुने कांग्रेसको अडानमा ओली जानुपूर्व नै चीन फकाउनसमेत आरजु बेइजिङ पुगेको बुझन् सकिन्छ । प्रधानमन्त्री ओलीमाथि नै सत्ता साझेदार कांग्रेस स्वयम संशकित देखिएको छ । ओलीले चीन भ्रमणका क्रममा बीआरआई सम्झौतामा हस्ताक्षर गर्न सक्ने कांग्रेसमा डर देखिएको छ । बीआरआईका सवालमा कांग्रेसबाहेक सिंगो कम्युनिस्ट कित्ताको साथ ओलीलाई रहेको स्पष्ट छ ।

गठबन्धनको सहमति अनुसार ओली पछि सरकारको नेतृत्व कांग्रेसले गर्नेछ । फलतः कांग्रेस थप सार्वजनिक ऋणको भार भोक्न नहुने पक्षमा देखिन्छ । अर्को ऋण र अनुदानका सवालमा चीनमामाथि कांग्रेसको अविश्वास रहेको स्पष्ट छ । सत्तामै रहेर प्रधानमन्त्री ओलीलाई दवाव दिएर बीआरआई अघि बढाउनबाट रोकेपछि कांग्रेस चीन विरोधी भन्दै आलोचना खेपिरहेका बेला कांग्रेस नेताहरुले भने यसको खण्डन गर्दै आएका छन् ।

नेपाल–चीन मामिलामा नेपाली कांग्रेस र चीनबीच विगतको कुटनीतिक पहलहरु अहिले पनि ऐतिहासिक मानिन्छ । सीमा समस्या समाधान गर्न होस् या सीमाकै कारण आमनेसामने भएका कांग्रेस र चीन यतिबेला बीआरआईका कारण सहज अवस्थामा छैनन् । कुटनीतिक रुपमा चीन र कांग्रेस न त नजिक छन् न त टाढा, जति भारत वा अमेरिकासँग नजिक देखिन्छ । नेपालका कम्युनिस्ट लगायत केही राजनीतिक दलका नेता, मन्त्री, सांसदहरुको चीन भ्रमण जति बाक्लो हुने गरेको छ यो मामिला कांग्रेस धेरै पछि छ ।

कांग्रेसको भने भारत दौडाहा बढी हुने गरेको छ । जसले गर्दा चीनले कम्युनिस्ट पार्टीभन्दा कांग्रेसलाई कम महत्व दिने गरेको विगतको इतिहासले पनि पुष्टि गर्छ । यद्यपि, बीआरआईको विषयमा प्रधानमन्त्री ओलीप्रति सशंकित देखिएको कांग्रेसले परराष्ट्रमन्त्री राणालाई बेइजिङ पठाउँदै आफ्नो सन्देश दिन चाहेको देखिन्छ । यसको प्रतिक्रिया स्वरुप चीनले कस्तो संकेत दिन्छ त्यो भने हेर्न बाँकी छ ।