मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मध्यराति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्थाअनुसार काठमाडौं १६ का उम्मेदवारहरु पनि आज मतदाता रिझाउने अन्तिम प्रयासमा रहे ।
अहिले यो चिसो मौसमको समय भए पनि देशका विभिन्न ४४ मध्ये ४१ स्थानीय तहमा हुन लागेको उपनिर्वाचनले माहोल तताएको छ । तीन स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । खास गरि काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा चुनावी माहोल निकै गर्माएको छ । जाडो याम तर चुनावी माहोला तात्तिँदा आफ्ना उम्मेदवारलाई जिताउन बिहान आठ बजेदेखि नै सम्बन्धित पार्टीका नेता कार्यकर्ताहरु मतदाताको घरदैलोमा पुगिरहेका छन् । नेता, कार्यकर्ता र उम्मेदवारको विगत ११ दिनदेखि यस्तै दैनिकी हुँदै आएको छ । अझ मंसिर १३ गते बिहीबार त घर दैलो गर्ने अन्तिम दिनभएकाले भोट माग्न उम्मेदवारहरु अन्तिम चटारोमा देखिन्थे । यस वडामा दल र स्वतन्त्र गरी १८ जना चुनावी प्रतिस्पर्धामा होमिँदा निर्वाचन आयोगको नियम अनुसार मौन अवधि सुरु हुने पूर्वसन्ध्या अघि उनीहरु मतदाता रिझाउन भगीरथ प्रयासमा व्यस्त देखिए ।
नेकपा एमालेबाट मैदानमा उत्रिएका लक्ष्मीरत्न तुलाधार विगतको हारलाई बिर्सिदै नयाँ इतिहास रच्न चाहन्छन् । देश संघीयतामा गइसकेपश्चात् स्थानीय तहमा एमालेलाई वडा नम्बर १६ ले अहिलेसम्म पत्याउन सकेको छैन । २०७४ को निर्वाचनमा विश्व सापकोटा ६९ मतले पछि पर्दा ०७९ को निर्वाचनमा सात सय नौ मतले तुलाधर पराजित भएका थिए । तर, पराजयका बाबजुद पनि निरन्तर मतदाताको हकहितका लागि आवाज उठाईरहेको र आफ्नो व्यक्तित्वले पनि निर्वाचनमा सहयोग गर्ने हुँदा जित सुनिश्चित रहेको तुलाधरको दाबी छ ।
एमालेले दाबी गरेको जस्तै चुनावी माहोल हेर्दा एमाले अरु पार्टी भन्दा केही कदम अगाडी देखिन्छ । दुई पटक वडाध्यक्ष भएर त्यसै क्षेत्रबाट दुई पटक नै सांसद हुँदै राज्यमन्त्रीसमेत भईसकेका रामवीर मानन्धरको एमाले पुनरागमनसँगै उनकै प्रतिष्ठासँगसमेत यो निर्वाचन जोडिएको हुँदा त्यसले पनि तुलाधरलाई सहयोग पुग्ने सम्भावना छ । त्यस्तै काठमाडौं महानगरपालिकाकै पूर्व प्रमुख विद्यासुन्दर शाक्य नै चुनावी प्रचारप्रसारमा हिँड्दा त्यसको थप फाइदा तुलाधरलाई मिल्न सक्ने देखिन्छ । अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, रामेश्वर फुयाँल जस्ता नेताको हात पनि तुलधारमाथि नै हुँदा उनी अरु उम्मेदवारभन्दा आफू सुरक्षित रहेको तर्क गर्छन् ।
यसअघिका दुई वटै निर्वाचनमा वडाध्यक्षमा हारे पनि ४ वडा सदस्य जितेको एमाले सोही मत जोगाउने रणनीतिमा छ । तर, बाटो बढाउनका लागि बाइसधारादेखि माथिका घरहरू भत्काउनमा रामवीरको पनि विशेष भूमिका रहेको बुझेका स्थानीयहरूको भोट केही रुपमा काटिने आकलन भइरहेको छ ।
पार्टीको साङ्गठनिक आधार बलियोभन्दा पनि स्वर्गीय मुकुन्द रिजालको व्यक्तित्वका कारण १६ नम्बर वडामा दुई कार्यकालदेखि निरन्तर चार तारे झण्डा गाडेको नेपाली कांग्रेस त्यही विरासत फर्काउन कसरत गरिरहेको छ । जसमा युवा उम्मेदवार देवेन्द्र पाठकको बलियो पक्ष भनेकै उनी फरक समूदायको प्रतिनिधित्वबाट चुनावी प्रतिष्पर्धामा होमिनु हो । अन्य सबै उम्मेदवारहरु एउटै समूदायबाट भएकाले समूदायको भोट काटिने हुँदा उनी त्यसमा ढुक्क जस्तै देखिन्छन् ।
अर्काे फ्याक्टर भनेको उनको पूख्र्यौली घर नै नुवाकोट भएको र अहिलेका धेरै मतदाताहरू पनि नुवाकोट र धादिङबाट नै बसाईसराई गरेर आएका हुँदा पाठकलाई त्यसको फाइदा हुन सक्ने देखिएको छ । तर, त्यसबाहेक कांग्रेसले मुकुन्द रिजालको सेन्टिमेन्टलाई क्याच गर्न सकेको देखिँदैन । पार्टीका दुई महामन्त्रीदेखि जिल्ला सभापति र केन्द्रीय नेताहरु नै सामेल भए पनि उम्मेदवारकै दाबेदारी दिँदै चुनावी रेसमा रहेकी मुकुन्दकी श्रीमती भने उनको साथमा देखिनन् । टिकट नपाएर पार्टीभित्रबाट असन्तुष्टि व्यक्त भएको असर उनको चुनावमा देखिन सक्ने छ ।
मतदातालाई भेट्नु पर्ने बेलामा नेतासँगको भेटले दबावमा परेका उनी झन् अन्तिम समयमा आमसभा नै स्थगित हुँदा कोठे बैठकमा सीमित हुनु परेको छ । तर, एमालेको मत एकीकृत समाजवादीले काट्नेमा विश्वस्त रहेका पाठक, भएकै मत जोगाउने हो भने सुरक्षित देखिन्छन् ।
काठमाडौं १६ लाई नै ईपीसेन्टर बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरलाई छोडेर यसैलाई विशेष महत्व दिएको छ । कांग्रेस र एमालेको तीव्र प्रतिष्पर्धाले आफूलाई फाइदा पुग्ने दाउमा रहेको रास्वपाले दलप्रतिको वितृष्णाको भोट तात्रे देखिन्छ । पहिलो पटक स्थानीय तहको चुनावमा भाग लिन लागेको रास्वपाले सुरुवात नै महिलाबाट गर्दा यसैलाई एजेण्डा बनाएको छ । स्थानीय रोजिना श्रेष्ठलाई जिताउन कमाण्डर नै बनेर हिँडेका यसै क्षेत्रका सांसद गणेश पराजुलीसँगै बिराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, असिम साह जस्ता नेताहरू सक्रिय रुपमा खटिएका छन् । जुन रोजिनाका लागि एक्स फ्याक्टर बन्न सक्ने सम्भावना छ ।
त्यस्तै माओवादीको साथ लिएर चुनावी मैदानमा उत्रिएको नेकपा एकीकृत समाजवादी दुई पटक कांग्रेसलाई जिताइसकेको र वडाबासीले नपत्याएकालाई फेरि एमालेले दोहो¥याएरै पठाउँदा त्यसको फाइदा आफूले लिने रणनीतिमा देखिन्छ ।
जनताले अनुभवी नयाँ अनुहार खोजेको बताउने एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धर आफू स्थानीय विभिन्न भजन मण्डली, युवा क्लबसँग आबद्ध भएको हुँदा त्यताको मत आफूलाई आउनेमा ढुक्क छन् । पटक पटक अरुलाई वडाध्यक्ष बनाउनेदेखि रामवीरलाई राज्यमन्त्री बनाउनेसम्मको भूमिका खेलेका मीनबहादुरले पनि विगतमा गरेका राम्रा कामका कारण ठूला दलका उम्मेदवारलाई राम्रैसँग धक्का दिने सम्भावना छ ।
निर्वाचनको अन्तिम समयसम्म पनि गुठी र पैसाको खेलले चुनावको नतिजा उल्छिने गरेका विगतको इतिहास रहेकाले सुकुम्बासी र हुकुम्बासीको भोटले पनि वडा नम्बर १६ को नेतृत्व चुन्नमा भूमिका खेल्ने देखिन्छ । काठमाडौं महानगरकै सबैभन्दा ठूलो वडा नम्बर १६ को चुनावी नतिजाले अन्यत्रको भन्दा विशेष महत्व राखेको छ । २१ हजार २५ मत रहेकाले महानगरपालिकै नेतृत्व चयनमा यस क्षेत्रले विशेष महत्व राख्ने गरेको छ ।
हाल महानगरपालिका र केन्द्रको निषेधको राजनीतिले बेला बेलामा तरंगित बनाइरहेको अवस्थामा आगामी स्थानीय तहको निर्वाचनमा अहिलेको नतिजाले अहम् भूमिका खेल्न सक्छ । मंसिर १६ गतेपछि आउने नतिजाले ठूला दलहरुलाई नयाँ रणनीति बुन्न यसले मद्दत पुग्नेछ । त्यसैले पनि वडा नम्बर १६ का स्थानीतहरुको अभिभावक बन्न केन्द्रसम्मकै नेताहरु घुँडा धसेर चुनावी प्रचारमा लागिपरेका छन् । दलका केन्द्रीय नेताहरुसम्मैको दौडधुपले यहाँको चुनावी नतिजामा कस्तो प्रभाव पार्छ ? त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया