Breaking

मन्त्री फेर्ने मुडमा ओली, नतिजा नदिनेसँग मागे राजीनामा


आशा जगाउने भन्दा आलोचना र प्रश्नको घेरामा पर्दा प्रधानमन्त्री ओली सरकार, सहचारी र प्रशासनमा दवाव बढाउन थालेका छन् । उनले मन्त्रीहरुलाई नै काम गर्न नसके पद छोड्न निर्देशन दिनेदेखि सडकमै आएर सहचारी र विपक्षीलाई तर्साउनेसम्मका काम गरिरहेका छन् । कतिपयले यसलाई वर्तमान सत्ता गठबन्धन अन्तिम विकल्प भएको भाष्यको उपजसमेत मान्दा ओलीले चालेका कदम कस्ता छन् त ?

आशा जगाउन बनेको दाबीको गरेको सरकार चौतर्फी प्रश्नमा पर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली झस्किएका छन् । आफ्नै मन्त्रीको बोलीका कारण होस या पार्टीले चालेका कदमले होस त्यसको मारमा परेपछि उनी सरकार र सहचारीमा समेत दवाव बढाउन थालेका छन् । एकातर्फ अन्तिम विकल्पको भाष्य बनाउने तथा दुईतिहाईको बलियो धरातल हुने अर्कातर्फ काम गर्न नसक्ने अवस्थाले उनी आफ्नै मन्त्रीमाथि पनि आक्रामक सुनिएका हुन् ।

विशेषत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँगको जुहारीले विवादमा परेका सन्चारमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि नै असन्तुष्ट देखिएका उनले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमै सोचे जति काम नभएको बताएका थिए ।

विद्यमान स्थितिमा परिवर्तन ल्याउनैपर्नेमा जोड दिएका उनले अब अल्याङटल्याङ गर्ने समय नरहेकाले कुनै मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभएमा त्यसमा पनि समीक्षा गर्नुपर्ने बताएका थिए । कर्मचारीले उत्साहका साथ काम गर्नुपर्नेमा जोडका ओलीले प्रधानमन्त्री, मन्त्री र सचिवले सकारात्मक परिणामका लागि आफ्नो ठाउँबाट हस्तक्षेप गर्नुपर्ने र काम नगर्ने कर्मचारीलाई सरुवा मात्रै नगरेर कारवाही गर्नुपर्नेमा धारणा राखेका थिए । प्रधानमन्त्रीले राखिएका लक्ष्य अनुसार काम गर्न नसक्ने मन्त्रीलाई पद ओगटेर बस्ने काम गर्न नहुनेतर्फ सचेत नै गराएका थिए ।

हुन त ओली निर्देशन दिनमै व्यस्त छन् । तर कार्यान्वयन गर्ने निकाय मौन बस्दा उनको यो निर्देशनले परिणाम भने दिन सकेको छैन् । जसमा पुरानो सरकारले ल्याएको बजेट हुनु र सरकार ढल्ने हल्ला चलिरहनुलाई समेत उनले कारण मान्दा साना दल फकाउनु पर्ने दुख मात्र छैन् । तर काँग्रेसका माग सम्बोधन गर्ने देखि गुट फकाउनेसम्मका विषय उनका लागि फलामको च्यूरा बन्दा वीआरआईजस्ता विषयले टाउको दुखाईएको थियो ।

यद्यपि अहिले उनी सरकार ढल्ने हल्ला चिर्न सफल भएपनि दुईतिहाईको धरालत अनुसार काम गर्न नसकेको आक्षेप चिर्न सकिरहेका छैनन् । बरु मानवतस्करी आरोपमा पक्राउ परेको आफ्ना नेता लिलावल्लभ अधिकारी बचाउने,रवि लामिछाने जाक्ने जस्तका कार्य उनका लागि भारी पर्दा कुलमान घिसिङमाथिको उनको रिस र दुर्गा प्रसाई पक्राउले समेत सरकारको नियतमाथि नै प्रश्न उठिरहेको छ । जुन मुद्धाहरुमा सहयात्री काँग्रेस नै मौन बसिदिदाँ पेलिएका ओलीले जागरण सभाका नाममा सडकमै ओर्लिएर खवरदारी गर्न समेत भ्याएका छन् । यी सबै कदमले सत्ता देखि सहचारी र विपक्षीसम्मै दवाव बढाउने काममा ओली लागेको बुझ्न गाह्रो छैन् ।

हुन त ओलीलाई बल दिने केही कुरा छ भने शेरबहादुर देउवाको साथ मात्र छ । त्यस्तै प्रशंसा गर्ने कोहि छन् भने उनकै आसेपासे मात्र छन् । तर यसले नयाँ गठबन्धन र ओली नेतृत्वको औचित्य पुष्टि गर्न सकिरहेको छैन । बरु कांग्रेस फाइदामा जाने र आफू बद्नामी हुने अवस्थामा एमाले पुग्दा दुईतिहाईको सरकार ओलीलाई नफाप्ने भाष्य नै निर्माण हुने डर छ । जसबाट उन्मुक्ति पाउन बीआरआई हाप्नेदेखि निजामती संयन्त्रलाई दपेट्नेसम्मका काम उनका लागि बाध्यकारी नै बनेको छ । यद्यपि थर्काएर र पेलेरै काम गराउने उनको यो रणनीतिले निकास दिने सम्भावना अझै पनि छैन ।