Breaking

प्रचण्डजी हप्तैपिच्छे कांग्रेसलाई सरकारको नेतृत्व गर्ने प्रस्ताव गर्नुहुन्छ : गगन थापा


काठमाडौँ— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक हप्ता कांग्रेसलाई सरकारको नेतृत्व गरिदिनुस् भनेर प्रस्ताव पठाउने गरेको खुलासा गरेका छन् ।

कीर्तिपुरको उपनिर्वाचनको प्रचारप्रसारको अन्तिम सभामा महामन्त्री थापाले कांग्रेस प्रधानमन्त्रीको आकांक्षाभन्दा स्थिर सरकारका पक्षमा रहेको बताए ।

“प्रचण्डले हप्तामा एकपटक लौन सरकारको नेतृत्व गर्नुस् भनेर खबर पठाउनु हुन्छ । पहिला अरुले पठाउँथ्यो,” महामन्त्री थापाले भने, “कांग्रेस संसद्को पहिलो पार्टी हो । प्रधानमन्त्री बन्न कांग्रेसलाई गाह्रो छैन । तर, हामीलाई प्रधानमन्त्री होइन स्थिर सरकार चाहिएको हो ।”

महामन्त्री थापाले कांग्रेसको लडाइँ केपी ओली, प्रचण्ड वा अरु कुनै नयाँसँग नभएको बताए । उनले गरिबी बेरोजगारी, र भ्रष्टाचारकविरुद्ध लड्नु पर्ने भन्दै त्यसका लागि गलत हल्लाबाट बच्नुपर्ने बताए ।

“हाम्रो लडाइँ बेरोजगारी र गरिबीविरुद्धमा हो । हामी सुशासनका लागि लड्न चाहन्छौँ,” महामन्त्री थापाले भने, “त्यसका लागि ठग रुखमूनि बसेको होस् कि सूर्यमूनि बसेको होस्, नयाँ होस् कि पुरानो होस् । जुनसुकै रङका ठगहरूलाई कानुनको दायरामा राख्न चाहन्छौँ ।” उनले नागरिकमा रहेका निराशा र गलत भाष्य चिर्ने काम कांग्रेसको भएको भन्दै परिणामबाट नागरिक धारणा बदल्ने बताए ।