Breaking

कीर्तिपुरको महाभिडन्त : दल र स्वतन्त्रको लडाईं, उम्मेदवारको बिन्ती


मंसिर १६ गते देशभरका स्थानीय तहमा रिक्त ४१ स्थानमा उपनिर्वाचन हुँदैछ । तर उपनिर्वाचनको इपीसेन्टर भने काठमाडौंको मीर्तिपुर नगरपालिका परेको छ । उम्मेदवारहरुको आक्राम प्रचारप्रसार र घरदैलोले माहोल झनै रोचक बनाइदिएको छ ।

देशभर स्थानीय तह उपनिर्वाचनको रौनक ह्वात्तै बढेको छ । त्यसमा पनि सबैले चासो राखेको र दलहरुले प्रतिष्ठाको बिषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकामा त्यस्तो रौनक अझ बढी छ । घरको भान्साकोठादेखि पारिलो घाममा बदाम छोडाउँदा होस् वा चिया चौतारीमासमेत उपनिर्वाचनकै गफ हुन्छन् । उनीहरुको चुनावी गफगाफमा थप माहोल बनाउन छिनछिनमा घरदैलो गर्दै उम्मेदवारहरु आइपुग्छन् ।

नगर प्रमुख सहित वडा नम्बर एक र चारको अध्यक्षका लागि उपचुनाव हुन लागेको कीर्तिपुरमा उम्मेदवारहरुको घरदैलो चुनावी सभाले चुनावी सरगर्मी ह्वात्तै बढाएको छ । मतदाताहारु आफ्नो मताधिकारको प्रयोग गर्न उत्साहित छन । पहिले जिताएर पठाएकाहरुको कामको मुल्याङ्कन र अहिलेका उम्मेदवारका एजेण्डा केलाउनमा कीर्तिपुरका मतदाता पनि व्यवस्त छन् । विगतबाट पाठ सिक्दै यो पटक कीर्तिपुरको विकास गर्नसक्ने योग्य उम्मेदवारलाई स्थानीय सरकार प्रमुखको रुपमा पठाउने तयारीमा कीर्तिपुरबासी छन् ।

कीर्तिपुरको मेयरमा यसपटक राजनीतिक दलबाट ९ र स्वतन्त्र ११ गरी २० उम्मेदवार मैदानमा उत्रिएका छन् । ठुला राजनीतिक दल आफ्नो विरासत जागाउनेगरी रणनीति बनाउँदा स्वतन्त्र उम्मेदवारहरु भने शीर्ष राजनीतिक दलहरुलाई खुम्च्याउनेगरी नतिजा आफ्नो पक्षमा पार्ने ध्याउन्नमा छन् । त्यसका लागि बढी सम्भावना भएका उम्मेदवारलाई समर्थन गर्ने होड समेत चलेको देखिन्छ । गत स्थानीय तहको निर्वाचनमा काठमाडौ महानगरपालिकामा बालेन्द्र शाह, धनगढीमा गोपी हमाल र धरान उपमहानगरमा हर्क साम्पाङको जबरजस्त उदयले हौसिएर स्वतन्त्र उम्मेदवारको लर्को बढेको छ । तर, मतदाता भने दल वा स्वतन्त्र नभनी कीर्तिपुरको विकास गर्ने उम्मेदवारको खोजीमा छन् । मंसिर १६ कुरेर बसेका मतदाता मतदान गर्न उत्साहित छन् । तर, आफूले चुनेर पठाएका जनप्रतिनिधिले अपेक्षाअनुसार गर्नेमा भने अझै ढुक्क छैनन् ।

कीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकिएको छ । निर्वाचन आयोगको अद्यावधिक विवरणअनुसार ३१ हजार १२ मतदाता छन् । कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि नगरपालिकामा उपनिर्वाचन हुन लागेको हो । राजनीतिप्रति बढ्दो वितृष्णा र विकासको तीव्र महत्वाकांक्षाका कारण यसपटक मतदाताले विवेक प्रयोग गरेर आफ्नो जनप्रतिनिधि चुन्ने कीर्तिपुरको माहोलले स्पष्ट देखाउँछ ।