पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै हजारौँ समर्थक प्रदर्शनमा उत्रिएका छन् । जेलमा रहेका खानको अपिलमा आइतबारदेखि प्रदर्शन सुरु भएको हो । उनले यस विरोधलाई ‘फाइनल कल’ भनेका छन् ।
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै हजारौं प्रदर्शनकारीले जुलुस निकालेका छन् । २४ नोभेम्बरमा इमरान खानले एक अपिल गर्दै प्रदर्शनमा उत्रन आग्रह गरेसँगै हजारौं समर्थकहरु सडक प्रदर्शनमा उत्रिएका हुन् । खानले यो विरोधलाई ‘फाइनल कल’ नाम दिएका छन् । प्रदर्शन रोक्न सरकारले ४ हजारभन्दा धेरै खानका समर्थकलाई गिरफ्तार गरेको छ । जसमा ५ सांसद पनि छन् । यसैबीच, पाकिस्तानमा चलिरहेको आन्दोलनलाई विश्वभर रहेका पीटीआई समर्थकले समर्थन गरेका छन् । विश्वका ६० भन्दा बढी देशमा खानको रिहाइका लागि आन्दोलन भएको छ । पीटीआईले सामाजिक सञ्जालमा क्यानडा, अमेरिका र बेलायत लगायतका देशमा भएको प्रदर्शनको तस्वीर पोस्ट गरेको छ । राजधानी इस्लामाबाद आउने मुख्य सडकहरुमा कन्टेनर राखेर २३ नोभेम्बरदेखि नै बाटो बन्द गरिएको छ । साथै सुरक्षाका लागि हजारौं प्रहरी तैनाथ गरिएको छ । धेरै ठाउँमा मोबाइल तथा इन्टरनेट सेवा बन्द गरिएको जनाइएको छ ।
इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए इन्साफ (पीटीआई) र समर्थकहरुले मुख्य रुपमा ३ वटा माग राखेका छन् । इमरान खान र पीटीआईका सबै कार्यकर्ताहरुलाई तत्काल रिहाइ गरिनु पर्ने, २०२४ मा भएको चुनावको नतिजालाई स्वीकार्नु पर्ने र पाकिस्तानी संसदमा अदालतको अधिकार कम गर्न प्रस्ताव गरिएको विधेयक फिर्ता लिनु पर्ने छन् ।
इमरान खानमाथि १०० भन्दा बढी मुद्दाहरु दर्ता गरिएको छ । इस्लामाबादको स्थानीय अदालतले उनलाई ५ अगस्ट २०२३ मा तोशाखानाको मामिलामा दोषी ठहर गरेको थियो । त्यसलगतै उनलाई इस्लामाबादस्थित घरबाट गिरफ्तार गरेर जेल चलान गरिएको थियो, त्यसयता उनीमाथि निरन्तर मुद्दा थप्दै लगातार जेलमा राखिएको छ । यसवर्ष भएको आमनिर्वाचनमा इमरानको पार्टीलाई आधिकारिक रुपमा चुनावमा सहभागी हुन निषेध गरिएको थियो । पीटीआईबाट चुनाव लड्न नपाएपछि खानका सबै उम्मेद्वार स्वतन्त्र रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । स्वतन्त्र रुपमा उठेका अधिकांश उम्मेदवार विजयी भएका थिए । खानले ५ जुलाइमा एक्स अकाउन्टमार्फत ८ फेब्रुअरीको निर्वाचनलाई अवैधानिक भएको बताएका थिए । यस्तोमा पाकिस्तानको सेना र शहबाज सरकार कुनै पनि हालतमा उनी जेलबाट बाहिर आएको हेर्न चाँहदैनन् ।
पाकिस्तानमा गत ८ फेब्रुअरीमा भएको आमनिर्वाचनमा चरम धाँधली र पीटीआईलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको थियो । उनको पार्टीको चुनाव चिन्हसमेत खोसिएको थियो । पार्टीका सबै नेता निर्दलीय रुपमा चुनावी मैदानमा उत्रिएका थिए । अनेकन प्रतिबन्धका बाबजुत खानको पार्टीले ३ सय ४२ सिटमध्ये ९३ सिट जितेको थियो । यद्यपि पाकिस्तान मुस्लिम लिग र पाकिस्तान पिपुल्स पार्टी मिलेर सरकार बनाएका थिए । गठबन्धन सरकारमा शहबाज शरिफ प्रधानमन्त्री बनेका थिए । यतिबेलाको ंआन्दोलनको नेतृत्वकर्तामध्येकी एक खानकी पत्नी बुशराले इमरान खान रिहा नभएसम्म प्रदर्शन समाप्त नहुने बताएकी छन् । देशका विभिन्न स्थानबाट खानका हजारौँ समर्थकहरू राजधानीमा भेला भएका छन् । कतिपय स्थानबाट जुलुसहरू राजधानी पुग्ने क्रम जारी छ । खानले आफ्ना समर्थकहरूलाई निर्णायक प्रदर्शनका निम्ति आह्वान गरेका थिए । खान र उनको पार्टीमाथि दमन गरिरहेको अहिलेको शरिफ नेतृत्वको सरकारले प्रदर्शनकारीमाथि व्यापक धरपकड गरिरहेको छ । यो प्रदर्शनले खानलाई तत्काल जेलमुक्त गर्न दबाब बढाए पनि सफलता हात पर्नेमा भने आशंका कायमै छ । पीटीआईको पछिल्लो प्रदर्शनले पाकिस्तानको राजनीति फेरि एक पटक तरंगित बनेको छ भने उथलपुथलको नयाँ संकेतसमेत गरेको छ ।
प्रतिक्रिया