Breaking

BRI मा देउवा–ओली एजेन्डा मिल्यो, आरजु जापान नजान


आगामी साता प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीको भ्रमणको व्यवस्थापन गर्न परराष्ट्रमन्त्री डाक्टर आरजु राणा बिहीवार बेइजिङ जाने पक्का भइसकेको छ । बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्ने सवालमा सत्तारुढ दल कांग्रेस–एमालेबीच सहमति जुटेपछि प्रधानमन्त्री ओलीसहित सिंगो संयन्त्र सुझाव संकलनदेखि भ्रमणको एजेन्डा तय गर्न व्यस्त छन् ।

नेपाल–चीनबीच लामो समयदेखि अड्किएको बीआरआई सम्झौता अघि नबढ्ने भएपछि प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई लिएर अनेक टिकाटिप्पणी जारी छ ।


चिनियाँ समकक्षी लि छ्याङको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली आउँदो सोमबार उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाँदैछन् । मंसिर १७ गते बेइजिङ उड्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने तय भइसकेको छ । प्रधानमन्त्री ओली आफ्नो सत्ता र गठबन्धनसमेत जोगाएर चीन जाने चाँजोबाँजो मिलाउन सफल भएका छन् ।

बीआरआई कार्यान्वयन योजनाको सम्झौतालाई लिएर गठबन्धनभित्र देखिएको मतभेदलाई तत्काल सुल्झाउँदै प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा जुटेका हुन् । यसक्रममा सोमबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले परामर्श लिएका छन् । सो छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा भने सहभागी भएनन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमै सुझाव दिएका छन् ।


प्रधानमन्त्री बनेपछि भारतबाट नै औपचारिक विदेश भ्रमणको सुरुवात गर्ने परम्परालाई लामो समयपछि ब्रेक थ्रु गर्न लागेका प्रधानमन्त्री ओलीको चीन यात्रा सत्ता साझेदार दल नेपाली कांग्रेसका कारण संकटपूर्ण बनेको थियो । ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा नेपालले हस्ताक्षर गरिसकेको चीन सरकारको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बारे ऋण कि अनुदान भन्ने विषयमा सत्ता गठबन्धनभित्र ठुलो मतभेद बढ्दा भ्रमण बिथोलिने मात्र होइन सत्ता नै ढल्नेसम्मका विश्लेषण भएका थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच पटक पटकको वार्तापछि आसन्न भ्रमणमा सरकारले ऋण लिने कुनै पनि विषय अघि नबढाउने सहमति जुटेपछि ओलीको चीन यात्रा सहज भएको बुझ्न कठिन छैन ।

कांग्रेस महामन्त्री गगन थापा र पूर्वअर्थमन्त्री युवराज खतिवडा सूत्रधार बन्दा देउवा–ओली एकढिक्का भएका छन् । ओलीको भ्रमणलाई लिएर गठबन्धनमा एकस्वर भएको छ । फलतः परराष्ट्रमन्त्रीको हैसियतमा मात्र भई सत्ताघटक नेपाली कांग्रेसका सभापति देउवापत्नी भएकै कारण प्रधानमन्त्री ओलीको चीन भ्रमणको कमाण्डरको जिम्मेवारी पाएकी परराष्ट्रमन्त्री डाक्टर आरजु राणा जोडतोडका साथ प्रधानमन्त्रीको चीन भ्रमणको तयारीमा लागेकी छन् । उपचारका लागि जापान उड्ने तयारीमा रहेकी राणा आफ्नो स्वास्थ्य उपचार नै स्थगित गरेर नेपालका लागि चिनियाँ राजदूत सोङसँग भेट गर्नेदेखि पूर्वप्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्रीहरुसँग सुझाव संकलन र छलफलमा जुटेकी छन् । भ्रमणको कमाण्डरको जिम्मेवारी पाएपछि तीव्र तयारी थाले पनि बीआरआईबारे के गर्ने भन्ने सवालमा गठबन्धनभित्र ऋणमा बीआरआई परियोजना स्वीकार नगर्ने अडान लिएको कांग्रेस र बीआरआई अघि बढाउनु पर्ने पक्षमा रहेको एमालेबीच मतभेद चुलिएपछि उनी भ्रमण छल्न जापान उड्न लागेको चर्चा चुलिएको थियो । प्रधानमन्त्री बनेपछि विशेष दूत दिल्ली पठाउनेदेखि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका बेला न्युयोर्कमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर सम्बन्ध सुधारको प्रयास गर्दै भारत भ्रमणको निम्तो कुरे पनि असफल बनेपछि बेइजिङलाई विकल्प रोजेका प्रधानमन्त्री ओलीलाई बीआरआईका कारण दबाब झेल्नु प¥यो । गठबन्धनभित्र ऋणका रुपमा बीआरआई स्वीकार नगर्ने सहमति जुटेपछि ऋण लिने कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्री ओलीले दोहो¥याउँदै आएका छन् । तर ओलीकै भाषामा उनको चीन भ्रमणमा के के हुन्छ त्यो उनी फर्केपछि मात्र थाहा हुनेछ ।

यता चीन जाने तयारीका बीच पूर्वप्रधानमन्त्री एवं पूर्वपरराष्ट्रमन्त्रीहरुसँग परामर्श लिएका प्रधानमन्त्रीले यसपटकको चीन भ्रमणमा ऋण सम्झौता नगर्ने स्पष्ट पारे पनि पूर्वप्रधानमन्त्रीहरुले भने बीआरआईसँग ऋण लिनै हुँदैन भन्ने अर्थमा हेरिनु गलत हुने धारणा राखेका छन् । एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआई परियोजना अन्तर्गत ऋण लिनै नहुने सत्तारुढ कांग्रेसको अडानप्रति आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री ओलीले यसपटकको भ्रमणमा ऋण लिने कुनै पनि सम्झौता नगर्ने कुरा आफूमाझ राखेको उल्लेख गर्दै चीनसँग ऋण लिनै हुँदैन, बीआरआईसँग ऋण लिनै हुँदैन भन्ने नीति बनाउन लागिएको हो भने असाध्यै आपत्तिजनक कुरा रहेको आफूहरुले बताएको जानकारी दिए ।

प्रधानमन्त्रीस्तरीय दुई पक्षीय कुटनीतिक भ्रमण र भेटवार्ता आफैँमा जति महत्वपूर्ण छ तेस्रो पटक प्रधानमन्त्री बनेपछि चीन जान लागेका प्रधानमन्त्री ओलीको यो यात्रालाई उत्तिकै चासोका साथ हेरिएको छ । कोरला नाकामा सुख्खा बन्दरगाह, टोखा–छहरे सुरुङमार्ग रसुवागढी–काठमाडौं रेलमार्ग अध्ययनको काम सुरु गर्ने, झापामा २२० बिगाह जग्गामा फ्रेन्डसिप पार्क निर्माण गर्ने लगायतका सम्झौता हुने चर्चा छ । तर सबैको चासोमा रहेको बीआरआईको विषय नै उठान नगर्दा नेपाल–चीन सम्बन्धलाईसमेत जोडेर विश्लेषण गर्न जरुरी रहेको विचारसमेत आइरहेको छ । साथै यो गठबन्धनको आयु ओलीको चीन भ्रमणपछि मात्र आकलन गर्न सकिने तर्क पनि भइरहेको छ । गठबन्धनले बीआरआई वा कुनै परियोजनाभन्दा पनि ऋण लिने वा नलिने विषयलाई केन्द्रमा राखेको छ । यद्यपि, अहिलेसम्मको अवस्थामा प्रधानमन्त्री ओली स्वयम्ले कुनै पनि किसिमको ऋण सम्झौता नहुने बताएकाले यसपटकसमेत बीआरआई चर्चामा मात्रै सीमित हुने देखिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको चीन भ्रमण कति प्रभावकारी र उपलब्धिमुलक बन्नेछ, त्यो भने केही दिन कुर्नै पर्ने भएको छ ।