सोमबार नेपाली बजारमा अनपेक्षित ढंगले सुनको मूल्यमा ठूलो गिरावट आयो । तोलामा नै झण्डै १६ हजार रुपैयाँले मूल्य घट्दा आमसर्वसाधारण अचमिम्त बने । बढ्दा ह्वात्तै बढ्ने भए पनि घट्दा थोरै मूल्यमा मात्रै गिरावट आउने परम्पराजस्तै बनिसकेको नेपाली बजारमा अचानक सुनको मूल्यमा भारी गिरावट आउनुको कारण के हो त ?
नेपाली बजारमा सुनको मूल्यले कीर्तिमानी राख्नु नौलो कुरा हुनै छोडिसकेको छ । ‘सुनको मूल्यमा कीर्तिमानी वृद्धि’ जस्ता शीर्षक विभिन्न सञ्चारमाध्यममा दिनहुँ जसो नै प्रमुख समाचार बन्नु नियमित जस्तै भइसकेको थियो । सोमबार पनि सुनले अर्काे एउटा कीर्तिमान कायम ग¥यो ।
तर, फरक यति थियो कि, यो कीर्तिमान मूल्य वृद्धिको नभई एकैपटक भारी गिरावटको थियो । विगतका दिनहरूमा मूल्यवृद्धिले कीर्तिमान कायम गरेको अवस्थामा सोमबार भने एकै दिन ठूलो अन्तरले मूल्य घटेर कीर्तिमान राखेको हो । आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा बिक्री भएको छापावाला सुन सोमबार एकैपटक तोलामा १५ हजार नौ सय रुपैयाँ घटेर एक लाख ५१ हजार तीन सय रुपैयाँमा झ¥यो ।
एकैपटक यति ठूलो अन्तरमा मूल्य घट्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको भारी गिरावट नभई नेपाल सरकारले भन्सारमा दिएको छुट हो । सरकारले सुनचाँदीमा लगाएको भन्सार दरमा ५० प्रतिशतले कटौती गरेसँगै सुनको मूल्यमा कीर्तिमानी गिरावट आएको हो । मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुनमा लाग्ने २० प्रतिशतको भन्सारलाई घटाएर १० प्रतिशतमा झारेसँगै सुनको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसका साथै अन्तरराष्ट्रिय राजनीतिक कारणले पनि सुनको मूल्य घटेको र अझै मूल्य घट्ने सम्भावना रहेको व्यवसायीहरुको भनाइ छ ।
गत वर्षको भन्दा यस वर्ष काँचो सुन आयातमा पनि भारी गिरावट आएको छ । आव २०८०÷०८१ को पहिलो चार महिना साउनदेखि कात्तिकसम्ममा आठ अर्ब २० करोड ८१ लाख रुपैयाँ बराबरको १० लाख ५ सय ग्राम अर्थात् एक हजार दशमलव पाँच किलो काँचो सुन आयात भएको थियो । जसबापत सरकारले एक अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । तर, चालु आर्थिक वर्षको सोही अवधिमा भने जम्मा एक अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ५ सय ६४ ग्राम अर्थात् १३२.५६४ किलो सुन मात्र आयात भएको छ ।
जसले राज्य कोषमा २८ करोड ५५ लाख रुपैयाँको राजस्व उठेको छ । तर, भारतबाट आयात हुने सुनका गरगहनामा साढे नौ प्रतिशत मात्रै भन्सार लाग्ने हुँदा पहिलो चौमासिकमा गरगहना आयातमा भने करिब दोब्बर नै वृद्धि भएको तथ्याङ्कले देखाएको छ । अघिल्लो आव कात्तिकसम्म ११ करोड ३२ लाख रुपैयाँ बराबर गहना आयात भएकोमा यस वर्ष भने १९ करोड ८ लाख रुपैयाँ बराबर आयात भएको छ । यसरी सुनमाभन्दा गहनामा कम भन्सार लगाउने सरकारी नीतिका कारण साना व्यवसायी मारमा पर्दै आएका थिए ।
संसारभर आफ्नो लगानी सुरक्षित गर्ने भरपर्दाे क्षेत्र सुनलाई नै मानिन्छ । एक देशको मुद्रा अन्य कुनै देशमा नचले पनि सुनलाई भने जुन सुकै देशले पनि स्वीकार गर्दछ । त्यसैले सुन जुनसुकै देशको साझा सम्पत्ति हुँदा यसमा सबैको आकर्षण बढ्ने गरेको छ । तर, नेपालमा सांस्कृतिक प्रयोजनका लागि मात्रै सुन खुला गरिएको छ । विवाह, धार्मिक तथा सांस्कृतिक कार्यका लागि अनिवार्य सुनको गहना प्रयोग हुने हुँदा काचो सुनमा नेपाली व्यवसायीले लगानी गर्नै पाउँदैनन् । जसले गर्दा नेपालका सुन व्यवसायी सरकारले ल्याउने निश्चित सुनमा नै सीमित हुनु परेको छ । जसका कारण सुन आयातको भन्सार दर घटेसँगै उपभोक्तालाई पनि केही राहत मिलेको छ ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले सुनमा लगाउँदै आएको १५ प्रतिशतको भन्सार दरलाई बढाएर २० प्रतिशत पु¥याएको थियो । नेपालले भन्सारमा पाँच प्रतिशत वृद्धि गर्दा भारतले भने आफ्नो बजेटमार्फत सुनचाँदीमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको थियो ।
जसले गर्दा भारतमाभन्दा नेपालमा सुन तोलामा नै २० हजारभन्दा बढी महँगो हुन पुगेको थियो । सरकारको उक्त कदमको सुन व्यवसायीहरूले विरोध गरे पनि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले सुनेका थिएनन् । विष्णु पौडेल मन्त्रालय नेतृत्वमा आएपछि केही महिनाअघि मात्रै सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले भेटेर भन्सार दर समायोजन गर्न आग्रह गरेको थियो । दुवै देशको महसुलमा ठूलो अन्तर भएको हुँदा यस्तो असमानताले नेपालमा सुनको तस्करी बढ्ने जोखिम उच्च थियो । भन्सार दरमा देखिएको असन्तुलन र खुला सीमाका कारण अवैध कारोबारले समेत प्रोत्साहन पाउँदै आएको थियो ।
प्रतिक्रिया