युक्रेनविरुद्धको युद्धमा थप आक्रामक बन्दै गएको रुसले उत्तर कोरियामा बनेको क्षेप्यास्त्र प्रयोग गर्न थालेको छ । पछिल्ला दिनहरूमा रुसले युक्रेनमाथि क्षेप्यास्त्र आक्रमण तीव्र पारेको छ । यसले द्वन्द्वको खतरा थप गम्भीर हुने विश्लेषण भइरहेको छ ।
रुस र युक्रेन युद्ध यतिबेला थप गम्भीर हुँदै गएको छ । २४ फेब्रुअरी २०२२ मा युक्रेनको विभिन्न सहरमा रूसी सेनाले ‘विशेष सैन्य अपरेसन’ अघि बढाएको थियो । खासगरी पूर्वी शहर डोनवास, खार्किभ, दक्षिणी बन्दरगाह शहर ओदिसा, मारियोपोल, क्राइमिया, उत्तरमा बेलारूसतर्फबाट राजधानी किएभ लगायत क्षेत्रबाट प्रवेश गरी मुख्य शहरहरूमा आक्रमण सुरु गरिएको थियो । यसरी सुरु भएको रूस–युक्रेन युद्ध अहिले तीन वर्षभन्दा धेरै पुगेको छ ।
तीन वर्ष पूरा भएको वर्षगाँठमा रुसले नयाँ हतियार प्रक्षेपणदेखि विश्वलाई तर्साउने उत्तर कोरिया जस्तो देशको मिलन भएको छ । यसले पनि विश्वलाई चकित पारेको छ । अहिले रुसी भूमिमा उत्तर कोरियाका सेनासमेत तैनाथ छन् । सेना मात्रै नभई उत्तर कोरियामा निमार्ण भएका हतियारसमेत युक्रेनी भूमिमा प्रयोग हुन थालेको छ । उत्तर कोरियामा बनेका क्षेप्यास्त्र रुसले युक्रेनविरुद्ध धमाधम प्रहार गर्न थालेको छ ।
यो वर्ष रुसले युक्रेनमाथि ६० थान उत्तर कोरियाली केएन–२३ क्षेप्यास्त्र हानेको युक्रेनी रक्षा अधिकारीले दाबी गरेका छन् । यो वर्ष मात्रै अहिलेसम्मको अवधिमा रुसले युक्रेनमाथि १९४ वटा क्षेप्यास्त्र हानेको छ । अगस्ट र सेप्टेम्बरमा ब्यालिस्टिक मिसाइलबाट आक्रमणलाई तीव्रता दिएको थियो । रुसले युक्रेनमाथि आक्रमण गर्न उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको यो पहिलो पटक हो ।
यसले युद्ध थप भयानक हुने खतरा उब्जाएको छ । तीन वर्षभन्दा धेरै समयदेखि जारी रूस–युक्रेन युद्ध कहिले अन्त्य हुन्छ अझै अनिश्चित छ । रुसले निर्ममतापूर्वक विध्वंसात्मक आक्रमणको रणनीति लिएको भए युक्रेन धेरै पहिले ध्वस्त भइसक्ने थियो । पश्चिमा र अमेरिकीहरूले क्रुर तानाशाहको आरोप लगाइरहेका रुसी राष्ट्रपति एवं सेनाका सुप्रिम कमाण्डर भ्लादिमिर पुटिनको विवेकपूर्ण संयमताले मात्रै युक्रेन अझै विश्व मानचित्रमा कायम छ ।
गर या मरको अन्तिम अवस्थामा घातक मिसाइल प्रयोग गर्ने रुसको मनसाय देखिन्छ यदि अन्तिम अवस्थामा रुसले घातक हतियारको प्रयोग गरेमा युक्रेनमा विध्वंश मच्चिने र ठूलो क्षति व्यहोर्नु पर्ने विश्लेषण भइरहेको छ । यद्यपि, रुस युक्रेनबीच जारी युद्ध अन्त्यका लागि विश्व समुदायले समेत पहल गरिरहेको अवस्थामा तत्काल अकल्पनीय अवस्था नआउने धेरैको आशा छ ।
प्रतिक्रिया