Breaking

सहकारी घोटालाको मारमा न्युरोडका व्यवसायी


साना तथा मझौला व्यापारीहरुले सहकारी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । काठमाडौंको न्युरोड क्षेत्रमा व्यापार÷व्यवसाय गर्दै आएका उनीहरुले सहकारी क्षेत्रमा आएको संकटका कारण पनि आफूहरुको व्यवसाय फस्टाउन नसकेको प्रतिक्रिया दिएका छन् । घट्दो व्यापारको मारमा परेका उनीहरुले सहकारी समस्याले व्यापारीलाई झनै नकारात्मक असर परेको गुनासो गरेका छन् ।

पछिल्लो केही समययता सिंगो मुलुक नै सहकारी प्रकरणमा अल्झिरहेको अवस्थामा काठमाडौंको न्युरोडका व्यापारीहरुले यो समस्या चाँडो समाधान गर्न माग गरेका छन् । सहकारी क्षेत्रमा आएको संकटका कारण व्यवसाय फस्टाउन नसकेको तथा होलसेल बजारमा ठूलो असर परेको उनीहरुको गुनासो छ । वैदेशिक रोजगारीमा जानेहरुको लर्कोले पनि व्यापार दिनप्रतिदिन घटदै गइरहेको उनीहरुको तर्क छ । राष्ट्रिय व्यापार संघका उपाध्यक्ष वैकुण्ठ दाहालले सहकारीको समस्याले होलसेल बजारमा धेरै ठूलो नकारात्मक असर परेको गुनासो गरे । उनले सो समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थाहरुलाई साना तथा मझौला व्यापार, व्यवसायमा लोन प्रवाह गरिदिन पनि सरकारसँग माग गरे ।

पुस्तक व्यापारीहरु पनि युवा पुस्ता प्लस टु सकिएपछि विदेसिने क्रम बढेकाले व्यापार ठप्प भएको बताउँछन् । खाँडादेवी सेकेण्ड हेण्ड बुक सपका सञ्चालक आशिष खत्रीले गत वर्षको तुलनामा यस वर्ष पुस्तकको व्यापार ५० प्रतिशत भन्दा बढी घटेको बताए । पढ्ने उमेरका युवाहरु विदेश जाने भएपछि व्यापार घट्ने कुरा स्वभाविकै हुने उनको बुझाइ छ ।

जुत्ताको व्यापार गर्दै आएका व्यवसायीहरुले पनि जुत्ता लगाउने जनशक्ति बाहिर गएकाले आफूहरुको व्यापार नभएको बताएका छन् । जुत्ता लगाउने युवा उमेरका मानिसहरु विदेशमा रोजगारीका लागि जाने क्रम बढेकाले जुत्ताको व्यापार विगतको भन्दा २५ प्रतिशत पनि हुन नसकेको दावा सुज एण्ड फेसन सेन्टरका संचालक छावाछिरिङ लामाको अनुभव छ । उनले बजारमा ग्राहकको नै अभाव देखिएको बताए ।

भूकम्प र कोभिड महामारीपछि आफूहरुको व्यापार खस्कँदै गएको नमूना फेसन कलेक्सनका नवराज गौतमले बताए । उनले सहकारीको बचत रकम फिर्ता नहुँदा पनि व्यवसाय चलाउन कठिन भएको उल्लेख गरे ।

व्यापारीहरुकाअनुसार देश भित्रै रोजगारी अभिवृद्धि गर्ने र सहकारीलगायतका वित्तीय संस्थाहरुलाई व्यवसायमैत्री बनाउन सकेमात्रै मुलुकमा व्यापार व्यवसाय फस्टाउने भएकाले यस काममा सरकारले विशेष ध्यान दिन आवश्यक रहेको छ । राष्ट्रिय व्यापार संघका उपाध्यक्ष दाहालले बैंकहरुले ठूला व्यापारीहरुलाई मात्रै ऋण दिने भएकाले पनि आफूहरु मारमा परेको बताए । यस्तो अवस्थामा सरकारले आफूहरुको संरक्षण हुनेगरी कानूनी व्यवस्था गर्नुपर्ने न्युरोडका व्यापारीहरुको माग छ ।