मंसिर १६ गते देशभर ४४ स्थानमा उपनिर्वाचन हुँदैछ । तर उपनिर्वाचनको केन्द्रमा भने संघीय राजधानी काठमाडौंको कीर्तिपुर नगरपालिका छ । गएको स्थानीय तहको निर्वाचनमा २ स्वतन्त्रसहित १० जना मेयरका प्रत्यासी रहेको कीर्तिपुर नगरपालिकामा यो पटक २० जना उम्मेदवार छन् । ठुला राजनीतिक दल आफ्नो विरासत जागाउने रणनीतिसहित चुनावी मैदानमा होमिँदा साना दल र स्वतन्त्र उम्मेदवार ठुला दल पर्छादै चुनावी नतिजा आफ्नो पक्षमा पार्ने ध्याउन्नमा देखिन्छन् ।
मंसिर १६ गते देशभर स्थानीय तहका ४४ स्थानमा उपनिर्वाचन हुँदैछ । तर देशको ध्यान संघीय राजधानी काठमाडौंको कीर्तिपुर नगरपालिकामा छ । शीर्ष राजनीतिक दलका हेभिवेट उम्मेदवार र तीनै हेभिवेट उम्मेदवारहरुलाई हराउँदै चुनाव जित्ने आशाका साथ चुनावी मैदानमा उत्रिएका झन्डै एक दर्जन स्वतन्त्र उम्मेदवारका कारण कीर्तिपुर उपनिर्वाचनको इपिसेन्टर बनेको छ ।
वडा र नगर प्रमुख पदमा उम्मेदवारहरुको भिडले कीर्तिपुरको उपचुनाव थप रोचक बनेको छ । नगरप्रमुख पदमा ९ राजनीतिक दल र ११ स्वतन्त्र गरी २० जना उम्मेदवार भिड्दै छन् । ताजा जनमत परीक्षण मात्र नभई कीर्तिपुरको हार–जितलाई राजनीतिक प्रतिष्ठा बनाएका ठुला दल र गत स्थानीय तहको निर्वाचनमा केही स्थानमा स्वतन्त्रको जबरजस्त उदयले हौसिएर स्वतन्त्र उम्मेदवार बनेका उम्मेदवारहरुबीच चुनावी भिडन्त हुँदैछ । यस्तो अवस्थामा को कति बलियो ? कसको जनाधार कस्तो ?
र मतदाता रिझाउने एजेन्डा कस्ता छन् त ? नजिकबाट यी पक्षहरुलाई नियाल्ने प्रयास गरौँ ।
सुरुवात गरौं विरासत जोगाउनै पर्ने बाध्यतामा रहेको नेपाली कांग्रेसबाट । कांग्रेसले नगर सभापति कृष्णमान डंगोललाई मेयर पदका लागि चुनावी मैदानमा उतारेको छ । सत्तामा एमालेसँग गठबन्धन गरे पनि चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको कांग्रेस स्वयम्का लागि यहाँको निर्वाचन परीक्षा बनेको छ भने कृष्णमान डंगोलका लागि विरासत जोगाउनु पर्ने चुनौती छ ।
डंगोललाई जिताउन सांसद राजन केसी, महामन्त्री विश्वप्रकाश शर्माले कीर्तिपुरको कमाण्ड सम्हालेका छन् । २०७९ मा एमालेलाई उछिन्दै कांग्रेसलाई जित दिलाएका स्वर्गीय राजकुमार नकर्मी संगठनको मतभन्दा पनि आफ्नो व्यक्तिगत लोकप्रियताले चुनाव जित्न सफल भएका थिए । अहिले नकर्मीपत्नीसहित उनको समूह पार्टीसँग रुष्ट छन् । गत निर्वाचनमा क्लीन स्वीप गरेका वडामा नेतृत्वले सोचेअनुरुप काम नगर्दा मतदाता थप भड्किएका छन् । यसअघि जिताएर पठाएको नेतृत्वले सिन्को नभाँचेपछिको लेखाजोखा मतदाताले गर्ने नै छन् । डंगोल शिक्षा, स्वास्थ्य, रोजगारको एजेन्डा बोकेर चुनावी मैदानमा छन् ।
यस्तै अर्को सत्तारुढ दल नेकपा एमालेले कीर्तिपुरको उपनिर्वाचनलाई कति महत्व दिएको छ भन्ने कुरा उसले उठाएको उम्मेदवारबाटै प्रष्ट हुन्छ । कीर्तिपुरमा इलाम दुईको नजिर दोहो¥याउन एमालेले सबै शक्ति प्रयोग गरिरहेको छ । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सांसद पदमा चुनावी प्रतिस्पर्धा गरिसकेका एमाले केन्द्रीय सदस्य डाक्टर सुरेन्द्र मानन्धरलाई कीर्तिपुरको मेयरमा उठाएको छ । अफ्ठ्यारोमा सम्झिएको पार्टीका लागि मात्र नभई आफ्नै राजनीतिक भविष्य जोगाउन अग्नि परीक्षामा मानन्धर छन् । कीर्तिपुरमा एमालेको संगठन कांग्रेसकोभन्दा कमजोर छ । एमालेको भन्दा कांग्रेसको १५ सय कार्यकर्ता बढी छन् ।
जसका कारण कांग्रेस एमालेबीच नै मुख्य भिडन्त हुने अनुमानका बीच एमालेका उम्मेदवार दबाबमा रहने सक्ने देखिन्छ । यस्तै, साना दल र स्वतन्त्र उम्मेदवारलाई पनि मत जोगाउनु कम चुनौतिपूर्ण छैन । अर्को कीर्तिपुरमा कम्युनिस्ट–कम्युनिस्ट नै पनि भिड्दै छन् । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आदेशमा आगोमा हाम फाल्न तयार भएका मानन्धर अघिल्लो पटक क्लीन स्वीप भएको एमालेको विरासत फर्काउने रणनीतिमा छन् । मतदाता रिझाउन घरदैलो प्रचारमा जुटेका उनले पनि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका एजेन्डालाई अघि सारेका छन् ।
यता, प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई मेयर जिताएर नेकपा माओवादी केन्द्र कीर्तिपुरमा इतिहास रच्ने दाउमा देखिन्छ । कीर्तिपुरमा एमाले र कांग्रेसले नेतृत्व गरिसकेकाले अब जित्ने पालो माओवादीकै भएको दाबीसहित कांग्रेस–एमालेबाट सुशासन र विकास निर्माणको काम हुन नसक्ने भन्दै भ्रष्टाचारविरुद्धको अभियानलाई माओवादीले मूल मुद्दा बनाएको छ । यसैगरी गत आमनिर्वाचनमा झन्डै ४० प्रतिशत मत बटुलेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टी, पूर्वमाओवादी घटकहरु समेतको बलमा चुनाव जित्ने माओवादी केन्द्रको दाबी छ ।
माधव र रवि समूहले सहयोग गर्नेमा ढुक्क रहेको माओवादी केन्द्र स्वतन्त्र उम्मेदवार राजमान मानवलाई फकाउन लागिपरेको बुझिएको छ । राजमान फकाउन प्रचण्डले कुलमान घिसिङलाई दूत बनाएको चर्चा चुलिएको छ । माओवादीले राजमानलाई सघाएमा वा राजमानले शिवशरणलाई सघाएमा नौलो हुने छैन । मतदानपूर्व नै रुकुम पूर्वमा वडा अध्यक्षमा माओवादी उम्मेदवार निर्विरोध निर्वाचित भएपछि हर्षित अध्यक्ष प्रचण्ड कीर्तिपुरमा कसैगरी जित निकाल्ने दाउमा छन् । लामो राजनीतिक अनुभव बोकेका शिवशरण गठबन्धनको बल र आफ्नो व्यक्तिगत छविका कारण चुनाव जित्नेमा ढुक्क छन् ।
शीर्ष राजनीतिक दलबाहेक कीतिपुरको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारको चर्चा पनि कम छैन । गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह, धनगढीमा गोपी हमाल र धरान उपमहानगरमा हर्क साम्पाङको जबरजस्त उदय र चुनाव जितेपछि पनि उनीहरुले गरेका प्रसंशनीय कामको छाप कीर्तिपुरका मतदातामासमेत परेको छ । त्यही बलमा मतदाताको मन जितेर कीर्तिपुरमा दलहरुको विरासत भत्काउँदै स्वतन्त्रको सूची बढाउने दाउमा झन्डै एक दर्जन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
धरानका मेयर हर्क साम्पाङले समेत चुनावी अभियानलाई सघाउने भएपछि राजमान मानव भने थप हौसिएका छन् । उनलाई सघाउन केही दिनभित्रै साम्पाङ कीर्तिपुर आउने भएका छन् । स्वतन्त्रतर्फ कीर्तिपुरमा राजमान मानव,डाक्टर नवरथ कुमार बानियाँ, नरेश श्रेष्ठको चर्चा छ । राजमान र बानियाँ लामो समय एमालेमा रहेर राजनीति गरेका व्यक्ति हुन । कवि कुमार महर्जन कांग्रेस निकट रहेर राजनीति गरेका थिए । यस्तै, नरेश श्रेष्ठ भने यसअघि नै स्वन्तत्र उम्मेदवार बनेर वडा अध्यक्ष जितेका व्यक्ति हुन् । देशका विभिन्न स्थानमा स्वतन्त्रको लहर र आकर्षण देखिएको अवस्थामा यो उपनिर्वाचनमा पनि राजनीतिक दलका लागि स्वतन्त्र उम्मेदवार भारी पर्ने सक्ने आकलन भइरहेको छ । जसले गर्दा उनीहरुले राजनीतिक दलको भोट मात्र काट्छन् वा कीर्तिपुरमा स्वतन्त्र मेयरको खाता नै खोल्छन् ? त्यो भने चासोको विषय बनिरहेको छ ।
प्रतिक्रिया