रुस–युक्रेन युद्ध चलेको १ हजार दिनभन्दा धेरै भएको छ । यस अवधिमा दुबैतर्फ सयौँले ज्यान गुमाएका छन् भने अर्बौंको भौतिक क्षति भएको छ । युद्धको हजार दिन पार गर्दैगर्दा रुसले नयाँ क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । यसले विश्व झनै तरंगित बनेको छ । यता रुसलाई सहयोग गर्ने बाचा गरेको उत्तर कोरियाले परमाणु युद्धको खतरा तीव्र बढेको र यसको जिम्मेवार अमेरिका रहेको प्रतिक्रिया दिएको छ । यसले पनि परमाणु युद्धको तयारी भइरहेको आशंका हुन थालेको छ ।
रुसले युक्रेनमा हमला गरेको एक हजार दिनभन्दा धेरै पुगिसकेको छ । यस अवधिमा दुबै पक्षले ठूलो मानवीय क्षति ब्यहोरिसकेका छन् भने अर्बौंकोे भौतिक क्षतिसमेत भएको छ । रुसी सेनाले युक्रेनमाथि २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि हमला गरेको थियो । आक्रमण सुरु गर्दा युक्रेनले लामो समय रुसी हमलाको प्रतिरोध गर्न सक्दैन भन्ने लागेको थियो । तर, तीन वर्षदेखि युक्रेनी सेनाले रुसी आक्रमणको जवाफ दिइरहेको छ ।
यति मात्रै होइन, युक्रेनी सेनाले रुसको कुस्र्क क्षेत्रमा नियन्त्रणसमेत कायम गरेको छ, जुन दोस्रो विश्वयुद्धपछि रुसी जमिन कुनै देशले कब्जा गरेको यो पहिलो घटना हो । युक्रेनलाई अमेरिकासहित पश्चिमा देशबाट प्राप्त सहयोगले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि टाउको दुखाइको विषय बनेको छ ।
तर पुटिनलाई होस्टेमा हैँसे गर्न यतिबेला उत्तरको कोरिया उभिएको छ । यसले पनि विश्व थप तरंगित भएको छ । अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि आउँदै गर्दा युद्ध अन्त्य गर्ने बाचा गरे पनि वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसबाट बिदा हुँदै गर्दा युक्रेनलाई आगामी वर्षका लागि सहायता सुनिश्चित गर्ने योजनामा लागेका छन् ।
त्यसैले उनले युक्रेनका लागि सहयोग प्याकेजदेखि अमेरिकी हतियार प्रयोग गर्नसमेत अनुमति दिएका छन् । यता रुस युक्रेन युद्धको हजार दिन पुगेको अवसरमा रुसी राष्ट्रपति पुटिनले आफ्नो देशसँग दुस्मनी गर्नेविरूद्ध प्रयोग गर्न शक्तिशाली नयाँ क्षेप्यास्त्र तयारी अवस्थामा रहेको बताएका छन् ।
यस्तै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले विश्वमा परमाणु युद्धको यति ठुलो खतरा यसअघि कहिल्यै नदेखिएको बताएका छन् । यसले पनि विश्वलाई थप चकित बनाएको छ । विश्वमै परमाणु युद्धको खतरा तीव्र बढेको भन्दै उनले यसका लागि अमेरिकाको ‘आक्रामक र शत्रुतापूर्ण नीति’ जिम्मेवार रहेको बताएका छन् ।
अमेरिकी नीति कहिल्यै नबदलिने पनि उनले प्रस्ट पारेका छन् । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार किम जोङले बिहीबार एक सैन्य प्रदर्शनीलाई सम्बोधन गर्दै कोरियाली प्रायद्वीपमाथि युद्धमा सामेल पक्षहरूले यसअघि कहिल्यै यति खतरनाक टकराव सामना नगरेको बताए ।
उनले भने, ‘यो सबैभन्दा विनाशकारी थर्मोन्यूक्लियर युद्धमा परिणत हुन सक्छ ।’ उत्तर कोरियाली सर्वोच्च नेता उनले अमेरिकासँग वार्तामा जति अगाडि जान सकिन्थ्यो, त्यहाँसम्म उत्तर कोरिया गएको पनि प्रस्ट पारेका छन् । रुस र उत्तर कोरियाबीच निकटता बढिरहेको समयमा उत्तर कोरियाली सर्वोच्च नेता उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । जसलाई विश्व समुदायले अर्थपूर्णरुपमा हेरेको देखिन्छ भने तत्काल युद्ध रोकिने भन्दा थप चर्किने संकेतहरु देखापरिरहेका छन् ।
प्रतिक्रिया