काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष छान्न फेरि प्रक्रिया थालेको छ । पटक–पटक प्रक्रिया सुरु गरे पनि विभिन्न कारणले अध्यक्ष छान्न नसकेको सरकारले आज तीनजना प्रत्याशीहरूलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा रहेको सिफारिस समितिले यसअघि पहिलो चरणको छनोटमा परेर पनि अन्तर्वार्तामा सहभागी नभएका तीन जनालाई बोलाएको हो ।
यसअघि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले परेका १९ आवेदनमध्ये मुक्तिनाथ श्रेष्ठ, सन्तोषनारायण श्रेष्ठ, कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई सर्टलिस्टमा पारेको थियो ।
तीमध्ये श्रेष्ठद्वय त्यतिबेलै अन्तर्वार्तामा सहभागी भए पनि कार्की, अधिकारी र चापागाईं अन्तर्वार्तामै गएका थिएनन् । धितोपत्र ऐनको व्यवस्थाअनुसार छनोट समितिले अध्यक्षका लागि तीनजना सिफारिस गर्नुपर्छ । तर, अन्तर्वार्तामा दुईजना मात्र सहभागी भएपछि समितिले कानुनअनुसार तीनजना सिफारिस गर्न सकेको थिएन ।
सिफारिस समितिमा मत बाझिएपछि प्रक्रिया नै रद्द भएको थियो ।
प्रतिक्रिया