अन्तर्राष्ट्रिय

देश छोडे नेतान्याहु पक्राउ ! ईयुको अवरोध, बाइडेनको सहयोग जारी


अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्वरक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डिफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले लगाएको युद्ध अपराधको आरोप र पक्राउ पुर्जीलाई लिएर पश्चिमी देशहरू एकापसमा विभाजित भएका छन् ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डिफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसिसीको यो कदमले नेतन्याहुको गतिविधिलाई सैद्धान्तिक रूपमा सीमित गरेको छ किनभने अदालतका १२४ राष्ट्र सदस्यहरूमध्ये कुनै पनि मुलुकले नेतान्याहुलाई आफ्नो इलाकामा गिरफ्तार गर्न बाध्य हुने छन् ।

अदालतले बेन्जामिन नेतन्याहु र योआभ ग्यालेन्टविरुद्ध ८ अक्टोबर २०२३ देखि २० मे २०२४ सम्म भएका मानवताविरुद्धको अपराध र युद्ध अपराधका लागि पक्राउ पुर्जी जारी गरेको हो । अन्तर्राष्ट्रिय फौजदारी अदालतले लगाएको युद्ध अपराधको आरोप र पक्राउ पुर्जीलाई लिएर पश्चिमा देशहरू एकापसमा विभाजित छन् । अमेरिकाले पक्राउ पुर्जीलाई अस्वीकार गरेको छ । तर बेलायत, क्यानडा, नेदरल्यान्ड्स र इटालीले भने नेतान्याहु आफ्नो देश आएमा उनलाई पक्राउ गर्ने बताएका छन् ।

उनीहरुले अदालतको आदेश शतप्रतिशत पालना गर्ने र डच भूमिमा पाइला राख्नेबित्तिकै नेतन्याहुलाई पक्राउ गर्ने भनेका छन् । अमेरिकाले भने आईसीसीको आदेशलाई स्वीकार गर्न नसकिने बताएको छ । यता आफ्नो नाममा पक्राउ पुर्जी जारी गर्ने आईसीसीको निर्णयलाई नेतन्याहुले यहुदी विरोधी निर्णय भनेका छन् ।

सर्वसाधारणलाई जानीजानी निशाना बनाएको भनेर आईसीसीले आफूमाथि झुटो आरोप लगाएको उनको भनाइ छ । आईसीसीको यो निर्णयले अबको घटनाले कुन रुप लिन्छ भन्ने थप अनिश्चित भएको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले भने आफूहरूले पक्राउ पुर्जी पाएमा इजरायलका नेता आफ्नो देशमा आउँदा गिरफ्तार गर्न जरुरी हुने प्रतिक्रिया दिएका छन् ।

योसँगै इजरायली नेताको विदेश भ्रमण प्रभावित र खुम्चिने देखिन्छ । गाजामा सक्रिय हमास समूहले गत वर्षको अक्टुबर ७ मा एक्कासी व्यापक आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण जारी राखेको छ । त्यसयता गाजामा हजारौँ मानिस मारिएका छन् भने मानवीय संकटकै अवस्था देखिएको छ । मध्यपूर्वका विभिन्न देशका साथै अन्तर्राष्ट्रिय समुदायले पटक पटक युद्ध विश्रामको पहल गरे पनि हालसम्म त्यो सम्भव भएको छैन ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले हमास र हिजबुल्लाह समूहलाई सखाप नपारेसम्म इजरायल पछि नहट्ने अड्डी कस्दै आएका छन् । जसले गर्दा युद्ध रोकिने भन्दा पनि झनै चर्किंदै गएको छ । गाजामा ठूलो नरसंहार भइरहेको आरोप नेतान्याहुमाथि लाग्दै आएको छ । तर उनले उक्त आरोपलाई स्वीकार गर्न मानिरहेका छैनन् । यसैको परिणाम स्वरुप उनीमाथि युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी भएको हो ।

तर, अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि इजरायललाई सैन्य हतियारमा सहयोग गरिरहेको अमेरिका त्यसविरुद्ध उभिनुले यसले तत्काल खासै फरक नपर्ने देखिन्छ । यद्यपि, नेतान्याहुले हमास र हिजबुल्लाह विरुद्ध भन्दै गाजासहित लेबनानी भूमिमा जारी राखेको आक्रमणले भने थप भयावह स्थिति आउने सम्भावना बढेर गएको छ । जसले गर्दा जारी युद्ध शान्तिपूर्ण ढंगले तत्काल टुंगिने सम्भावना न्यून देखिन्छ । साथै उनीविरुद्ध जारी पक्राउ पुर्जीको प्रभाव इजरायल र नेतान्याहुमाथि कस्तो पर्छ ? त्यो भने हेर्न बाँकी छ ।