Breaking

दुर्गाको हरिबिजोक, सडक आन्दोलन फासफुस


काठमाडौँ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंगत मंगलबार पक्राउ परेसंगै उनको अभियान संकटमा परेको देखिन्छ । आज काठमाडौंको कोटेश्वर–बालकुमारीमा आयोजना गरिएको सरकार विरोधी कार्यक्रममा देखिएको जन सहभागिताले पनि यसको पुष्टि गरेको छ । उच्छृंखल हर्कत र उग्रअभिव्यक्ति दिँदै हिँड्ने प्रसाईं पक्राउ पछि सो अभियानलाई कसले नेतृत्व गर्ने भन्नेमै अन्योल देखिन्छ ।

एक वर्ष पहिले दुर्गा प्रसाईंले आजैकै दिन आह्वान गरेको आन्दोलनको यो दृश्य हेर्नुहोस्।

हजारौं मान्छेको भिड र भिडलाई नियन्त्रण गर्न प्रहरीले केही थान अश्रुग्यास प्रहार गर्नु परेको थियो ।र, शुक्रबार कोटेश्वर–बालकुमारी क्षेत्रमा आयोजना गरिएको यो आन्दोलनको दृश्य हेर्नुहोस् ।

जहाँ केही मानिस पिकनिक खान भेला भए जस्तो मात्र देखिन्छन् । जसको छेउमा बसेका प्रहरीको संख्या धेरै देखिन्छ । प्रसाईं पक्षधरको संख्याले उनको आन्दोलन कति कमजोर बन्दै गएको छ भन्ने स्पष्ट पार्छ । उनी हिरासतमा भएका कारण पनि न्यून संख्यामा मात्र समर्थक सडकमा आएको विश्लेषण भइरहेको छ । एक वर्ष पहिले देखिएको प्रसाईंको हाईहाई र लोकप्रियता अहिले एकाएक शून्यतामा झर्नुको कारण उनकै अराजग अभिव्यक्ति र शैलीलाई मान्न सकिन्छ । मृतशरीरलाई जुम्राले पनि साथ छोड्छ भने झै हाल प्रसाईंको पक्षमा खुलेर उभिने जमात औँलामा गन्न सकिने अवस्थामा पुगेको छ । प्रसाईंलाई साथ र समर्थन दिँदै आएका सहकारी पीडित, स्वतन्त्र नागरिकर राजावादीहरु पनि आफ्नो माग र एजेण्डा ज्युका त्युँ भए पछि उनको विकल्प खोज्न थालेका छन् । बलियो संगठन र भरपर्दो साथबिना एक्लै उफ्रिएका प्रसाईंहाल के गर्छस्, मंगले आफ्नै ढंगले भने जस्तै बनेका छन् ।

प्रसाईं पक्राउ परे पछि सहकारी पीडितहरु पनि निराश बनेका छन् । उनीहरुले आफ्नो पक्षमा बोल्ने एक मात्र व्यक्ति प्रसाईंलाई केपी ओली सरकारले षडयन्त्र गरेर पक्रिएको आरोप लगाएका छन् ।

विरोध प्रदर्शनमा सहभागी भएका प्रसाईंका समर्थकहरुले उनको पक्राउप्रति तीव्र असन्तुष्टि देखाए । प्रधानमन्त्रीमाथि लगाएको आरोपकै भरमा पक्राउ गर्न नपाइने भन्दै प्रसाईं पक्षधरले विरोध जनाए ।
प्रसाईंको पक्षमा जुटेको भिडलाई कतिपयले आफ्नो अनुकूलतामा ल्याउने प्रयत्न गरेको देखिन्छ । नागरिक अगुवादेखि सहकारी पीडित र स्वतन्त्र भन्नेहरु यो भिडलाई आफ्नो पक्षमा ढाल्न प्रयत्नरत देखिन्छन् ।

माओवादी, एमाले, राजावादी हुँदै सहकारी पीडितको मुद्दा बोकेर हिँडेका प्रसाईं आफैँ अफ्ठ्यारोमा परेको देखिन्छन् । केही समय पहिले जबरजस्त रुपमा बनेको उनको जनसमर्थन विस्तारै सेलाउँदै गएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ । नागरिकमा राजनीतिक दल र नेतृत्वप्रति चरम निरासा छाएको समयमा एकाएक उदाएका प्रसाईं आफ्नै बेलगाम बोली र अराजक हर्कतका कारण प्रहरी हिरासतमा पुग्दा उनको आन्दोलन नै तुहिने अवस्थामा पुगेको छ । हिरासतमा रहेका उनीमाथि प्रहरीले विभिन्न मुद्दाहरु चलाउने तयारी थालेको छ । जसले प्रसाईं अब छिट्टै हिरासतमुक्त हुने र पुरानै लयमा फर्किने अवस्था एक दिवा सपना जस्तो देखिन्छ ।