पछिल्लो समय एकपछि अर्को उच्च पदस्थ व्यक्तिहरु प्रहरीको फन्दामा परिरहेका छन् । त्यसमा माननीयहरुको सूची लम्बिनेक्रम जारी छ । माननीय ज्यूहरु आफ्नै उच्छृंखल हर्कतका कारण कोही हिरासतको हावा खाइरहेका छन् त कोही दिनानुदिन बदनाम बनिरहेका छन् । जसले नेताहरुका विवादित छवि छरपष्ट हुँदा आफ्नो मात्र नभई माननीय पदकोसमेत मानमर्दन गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै बोलीलाई सापटी लिने हो भने ‘भेट्दा खेरी माननीय भन्नुपर्छ । बोली सुन्दा खेरी अचम्म लाग्छ ।’ माननीय अर्थात मान गर्न योग्य, आदरणीय, प्रतिष्ठित ओहोदाका उच्च पदस्थ व्यक्ति माननीय सांसद माननीय मन्त्री इत्यादी ।
अफसोस्, तिनै माननीयहरुको हर्कतले माननीय पदको अपमान मात्र भइरहेको छैन कि बदनाम नै भइरहेको छ । माननीयहरुको हर्कतले प्रधानमन्त्री जति अचम्मित छन्, सर्वसाधरणसमेत दिक्दार हुँदै गएका छन् । माननीय भन्नै लाज लाग्ने अवस्था बनिसकेको छ । न बोलीको ठेगान छ न त व्यवहार नै गतिलो छ । माननीयहरुका भ्रष्ट आचारण र विवादित छवी छरपष्ट हुँदा कोही हिरासतको हावा खाइरहेका छन् त कोही आफ्नै नेता–कार्यकर्तादेखि सर्वसाधरणको लखेटाइमा परिरहेका छन् ।
जसका कारण विवादमा तानिँदा अदालती मुद्दा मामिलामा माननीयहरुको कमी पटक्कै छैन । सुरुवात गराँै संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट । चितवनबाट दुई÷दुई पटक निर्वाचित सांसद पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने विगत ३२ दिनदेखि कास्की प्रहरी हिरासतमा छन् । सहकारी संस्थाहरूको बचत रकम हिनामिना प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेको हिरासत यात्रा कति लम्बिने हो अझै टुङ्गो छैन ।
कारण सहकारी ठगीसम्बन्धी मुद्दामा समातिएका उनीमाथि सङ्गठित अपराधको आरोपमा पनि अनुसन्धान भइरहेको छ । सभापति पक्राउपछि रनथनिएका रास्वपाका केन्द्रीय नेता तथा कार्यकर्ताका साथै रास्वपा माननीयहरुले सडकमा देखाएको रमिताको चर्चा अझै उस्तै छ । सभापतिसँगै सती जान तयार भएका उनीहरुले लामिछानेको रिहाइ माग गर्दै गरेको विरोध प्रर्दशनमा देखाएको हर्कतविरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको रिट नै दर्ता भएको छ । अदालतमा मुद्दा खेपिरहेका रास्वपाका माननीयहरु पछिल्लो समय आलोचनाको केन्द्रमा छन् ।
भर्खरै राजनीति सिक्दै गरेका रास्वपा मात्र होइन लामो समय राजनीतिमा बिताएका र अनुभवी भनिएका नेताहरुलेसमेत माननीय पदको थप खिल्ली उडाइरहेका छन् । बदनामीको टिका लगाउनेहरुको सूचीमा सत्तारुढ कांग्रेस एमालेकै माननीयहरु पनि कम छैनन् । सहकारी प्रकरणमा कांग्रेस उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङदेखि सार्वजनिक लेखा समितिका सभापति रहेका नेकपा एमालेका सांसद क्रषिकेश पोखरेल पनि यो सूचीमा पर्छन् ।
यस्तै बैठक कक्षमै दादागिरी शैलीमा प्रस्तुत हुने उर्जाराज्यमन्त्री कान्छाराम तामाङदेखि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ कोइराला माननीयहरुको हर्कतसमेत कम उदेक लाग्दो छैन । माननीय पदको मर्यादा भुलेर उनीहरु हप्कीदप्की र ठेकेदारी शैलीमा प्रस्तुत हुन्छन् त कोही आफ्नो पदको गलत फाइदा उठाउँदै मोटो रकम असुल गरी नेपाली युवालाई अवैध ढंगले विदेश पठाउन भ्याउँछन् ।
मानव तस्करीको आरोप लागेपछि पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ कोइरालामाथिको अनुसन्धान नसकिँदा मंगलबार थुना राख्ने म्याद थप भएसँगै ५ दिन हिरासत बसाइ लम्बिएको छ । एमालेका सांसद हाल निलम्बित टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा हिरासमै छन् ।
यस्तै, एमालेकै सांसद देवीप्रसाद भट्टचन सहकारी ठगी प्रकरणमा उन्मुक्ति पाए लगत्तै भ्रष्टाचारविरुद्धको जाहेरी खेपिरहेका छन् । कांग्रेस सांसद एवम् पर्यटनमन्त्री बद्री पाण्डे पनि भ्रष्टाचारको आरोप लागेपछि स्वयम् कानुनी उपचारको खोजीमा छन् । आफ्नै दलका सांसद राजेन्द्र बजगाईंले कमिसन लिएर एक क्यासिनोलाई लाइसेन्स दिएको आरोप लगाएका थिए । यो विषय विवादित बनेसँगै बजगाईंले भने माफी मागिसकेका छन् । मन्त्री पाण्डेको विवाद टुङगिन नपाउँदै महामन्त्री गगन थापा आफ्नै अभिव्यक्तिका कारण आलोचित छन् ।
विगतमा कसले कसलाई कसरी सम्बोधन गर्दथे, त्यो चासोको विषय नभए पनि प्रधानन्यायाधीशको सवालमा महामन्त्री थापाले दिएको दृष्टान्त प्रधानन्यायाधीश कांग्रेस निकट भएको र पार्टी निकट मान्छे मात्र उच्च ओहोदामा पुग्ने भाष्यलाई प्रमाणित गरिदिएको भन्दै गगनमाथि खनिनेको कमी छैन । आफ्नो कमजोरी खासै नकेलाउने तर अरुको भेट्ने बित्तिकै जुरुक्क उठ्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समेत थापाको अभिव्यक्तिप्रति प्रश्न उठाएको छ ।
राजनीतिक दलका माननीय मात्र नभएर स्वतन्त्र सांसद दीपक मनाङेसमेत २० वर्षअगाडिको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जेलमा पुगेका छन् । त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवासमेत भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकी माननीय हुन् । तर उनीमाथि अनुसन्धान हुनै सकेन भने पछिल्लो राजनीतिक समीकरणले उनलाई परराष्ट्रमन्त्री बनाएर पुरस्कृत ग¥यो ।
योसँगै परराष्ट्रमा उनले रजगज गरिरहेकी छन् । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण पनि उच्च ओहोदामा बसेर बद्नाम हुनेको सूचीमा परेका पात्र हुन् । यस्तै खाणपत्नी एवं सांसद मञ्जु खाण पनि माननीयको नाममा दाग लाउने पात्रमा पर्छिन् । शरणार्थी प्रकरणमा नाम मुछिएकी उनी बद्नाम भएसँगै हाल गुमनाम छिन् ।
सत्तारुढ दलका सांसद र मन्त्रीहरुको विवाद जति उछालिएको छ प्रतिपक्ष कित्तामा रहेका माओवादीलगायतका दलका सांसदहरु पनि चोखो छन् भन्ने होइन । बाहिरी आवरणले उनीहरुलाई माननीयको सम्मान मिलेको देखिए पनि विगतका अनेक काण्डहरु लुकेको छैन ।
प्रतिक्रिया