भारतीय अर्बपति तथा अडानी समूहका अध् यक्ष गौतम अडानीमाथि अमेरिकामा जालझेल अभियोग लागेको छ । उनीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र उक्त विषय लुकाएको आरोप लगाइएको छ ।
भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा जालझेल गरेको आरोप लागेको छ । अडानीमाथि अमेरिकामा ठेक्का अनुबन्धका लागि २५० मिलियन डलर घुस दिने योजना बनाएको र त्यसलाई लुकाउने प्रयत्न गरेको आरोप लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अडानी समूह सन् २०२३ देखि नै शंकाको घेरा रहेको बताइन्छ । बुधबार न्युयोर्कमा दायर गरिएको एक आरोप पत्रमा ६२ वर्षीय अडानीमाथि आफ्नो नवीकरणीय ऊर्जा कम्पनीलाई ठेक्का दिलाउन भारतीय अधिकारीहरुलाई रकम भुुक्तानी गर्ने प्रतिबद्धता जनाएको भनी उल्लेख गरिएको जनाइएको छ । जुन योजनामा २० वर्षमा २ बिलियन डलरभन्दा बढी मुनाफा हुने अनुमान गरिएको थियो । एक शीर्षस्थ कम्पनीले अडानी समूहले धोकाधडी गरिरहेको भन्दै रिपोर्ट प्रकाशित गरेको थियो । जसको अडानीले खण्डन गरेका थिए ।
उनले घुस दिन आफ्नो समूहले प्रस्ताव गरेको भनेर आएको उक्त प्रतिवेदनलाई भ्रामक रहेको दाबी गरेका छन् । अमेरिकी न्यायाधिवक्ता ब्रिओन पिसले प्रतिवादीहरुले भारतीय सरकारी अधिकारीहरुलाई अर्बौं डलरको ठेक्का सुरक्षित गर्न घुस दिने बृहत योजना बनाएको र उनीहरुले अमेरिकी तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुबाट पुँजी जुटाउन घुस दिने योजनाबारे झुट बोलेको दाबी गरेका छन् ।
उनले अगाडि थपे छन्, ‘मेरो कार्यालय अन्तर्राष्ट्रिय बजारमा भ्रष्टाचारलाई जरैदेखि उखेल्न र हाम्रो वित्तीय बजारको अखण्डताको मूल्यलाई थप समृद्ध बनाउन तथा लगानीकर्ताहरूलाई जोगाउन प्रतिबद्ध छ ।’ अडानीले घुस दिने योजनालाई अगाडि बढाउन सरकारी अधिकारीहरूसँग व्यक्तिगत रूपमा भेटेको समेत अमेरिकी अधिकारीहरूले जिकिर गरेका छन् । अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिन्छन् । उनले लामो समयदेखि विपक्षी राजनीतिज्ञहरूको सामना गर्दै आएका छन् ।
अमेरिकामा न्यायाधिवक्ता राष्ट्रपतिले नियुक्त गर्ने परम्परा छ । डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा चुनाव जितेको केही हप्ता पछि, अमेरिकी न्याय विभागलाई फेरबदल गर्ने वाचा गरेलगत्तै यो फाइल बाहिर आएको हो । तर, अडानीले गत हप्तामात्रै सामाजिक सञ्जालमार्फत ट्रम्पले चुनाव जितेकोमा बधाई दिंदै अमेरिकामा १० बिलियन डलर लगानी गर्ने बाचा गरेका थिए । यी समाचारहरू सार्वजानिक भएसँगै अडानी समूहको सेयरमा ठूलो मात्रामा गिरावट आएको छ । अडानी समूहका १० वटा कम्पनीको सेयरमा गिरावट आएको हो । जसमा अडानी इन्टरप्राइजेजले सर्वाधिक २१.७३ प्रतिशत सेयर गुमाएको छ । जब कि अडानी ग्रीन इनर्जीको सेयर पनि १८.०२ प्रतिशतले घटेको छ । साथै उसका सबै कम्पनीहरूको सेयर मूल्यमा गिरावट देखिएको छ । अडानी समूहको व्यापारिक साम्राज्य बन्दरगाह तथा विमानस्थलदेखि उर्जा क्षेत्रसम्म फैलिएको छ । तर पछिल्लो प्रकरणले उसलाई ठूलो झट्का लागेको छ । यसैबीच, भारतका विपक्षी दलहरुको तारो बनेका गौतम अडानीमाथि अमेरिकामा जालझेल गरेको गम्भीर आरोप लागेसँगै भारतीय कांग्रेस नेता राहुल गान्धीले उनलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
मोदी निकट मानिएका गौतम अडानीको विषयमा बीजेपीले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । यो विवादले भारतमा भने सत्तारुढ बीजेपी र प्रतिपक्षी कांग्रेसबीच नै भिडन्तको अवस्था बनाएको विश्लेषण हुन थालेको छ । बीजेपीका प्रवक्ता सबित पात्राले भने राहुल गान्धीले निरन्तर पत्रकार सम्मेलन गर्दै मोदी र बीजेपीमाथि आरोप लगाउने प्रयास गरिरहेको टिप्पणी गरेका छन् । यसअघि पनि गान्धीले मोदी र मोदी सरकारविरुद्ध पटक पटक विभिन्न बखेडा झिक्दै आरोप लगाउने गरेकाले भारत र भारतको बचाउ गर्नेहरुमाथि आक्रमण गर्नु उनको पुरानै शैली भएको बीजेपी प्रवक्ताको भनाइ छ । राहुल गान्धीले अडानीको आलोचनामात्रै गरेका छैनन् कि मोदीमाथि पनि प्रहार गर्न भ्याएका छन् । उनले प्रधानमन्त्री मोदी अडानीको पछाडि उभिएको र उनको बचाउ गरिरहेको आरोप लगाएका छन् ।
प्रतिक्रिया