Breaking

आईपीओ पाइपलाइनमा एकै पटक थपिए ४२ कम्पनी, अनुमति पर्खिनेको सङ्ख्या ७७ पुग्यो


नेपाल धितोपत्र बोर्ड (सेबोन) मा साधारण शेयर (आईपीओ) निष्कासनको पाइपलाइनमा एकै पटक ४२ कम्पनी थपिएका छन् ।

आईपीओ निष्कासनको अनुमतिको पर्खाइमा रहने कम्पनीको सङ्ख्या ७७ पुगेको छ ।

लामो समयदेखि सेबोनले अध्यक्ष नपाउँदा अर्बौँको आईपीओ निष्कासन हुन सकेको छैन । यसअघि नै आईपीओ निष्कासनका लागि ३५ कम्पनीहरू पाइपलाइनमा रहेका थिए ।

नयाँ कम्पनीहरू थपिएसँगै आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका ७७ कम्पनीहरूको ४४ अर्ब ७५ करोड ७६ लाख २० हजार ३१५ रुपैयाँ बराबरको ३१ करोड ७८ लाख ९३ हजार ३५६ कित्ता आईपीओ पाइपलाइनमा रहेका छन् ।

आईपीओ निष्कासन अनुमतिको पर्खाइमा रहेका कम्पनीहरूमध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीहरू रहेका छन् । विभिन्न समयमा ३७ वटा हाइड्रोपावर कम्पनीहरू सेबोनमा आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका छन् ।

सेबोनले अनुमति दिएपछि यी कम्पनीहरूको १५ अर्ब ७ करोड ९० लाख ४६ हजार ४ सय रुपैयाँ बराबरको १५ करोड ७ लाख ९० हजार ४६४ कित्ता आईपीओ निष्कासन हुनेछ ।