अन्तर्राष्ट्रिय

राजनीतिमा आएको पाँच वर्षमै प्रधानमन्त्री, कम्युनिस्टको मुद्दा बोकेकी महिला


श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा हरिणी अमरासूर्या नियुक्त भएकी छन् । प्रधानमन्त्री बन्ने उनी श्रीलंकाकी तेस्रो महिला हुन् । उनी दुई महिनाअघि श्रीलंकामा बनेको अन्तरिम सरकारमा पनि प्रधानमन्त्री भएकी थिइन् । उनी ५ वर्षअघि मात्रै राजनीतिमा प्रवेश गरेकी हुन् ।

नेसनल पिपुल्स पावर (एनपीपी) की सांसद डा. हरिणी अमरासूर्या श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् । उनले मंगलबार राष्ट्रपति अनुरा कुमारा दिशानायकेसँग पद तथा गोपनीयताको शपथ लिएकी छन् । गत शनिबार सम्पन्न राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके विजयी भएका थिए ।


उनले सोमबार शपथ लिएलगत्तै प्रधानमन्त्री दिनेश गुणवर्धनेले राजीनामा दिएका थिए । २२५ सदस्यीय संसदमा एनपीपीका डा.अमरासूर्यासँगै विजिथा हेराथ र लक्ष्मण निपुण अराग्ची मात्र सांसद थिए । राष्ट्रपति दिशानायकेले अमरासूर्यालाई प्रधानमन्त्री र हेराथलाई मन्त्री नियुक्त गरेका हुन् । साथै उनले बुधरबार मध्यरातबाट संसद भंग गर्ने सम्भावना रहेको श्रीलंकाली सञ्चार माध्यमहरुले जनाएका छन् । रक्षा, अर्थसहितका मन्त्रालय राष्ट्रपति दिशानायकेले आफैंसँग राखेका छन् । प्रधानमन्त्री अमरासूर्यालाई शिक्षा, विज्ञान र प्रविधि लगायतका मन्त्रालय दिइएको छ भने विदेश मामिलासहितका मन्त्रालय हेराथलाई दिइएको छ ।


को हुन् त अमारासूर्या ?
राजधानी कोलम्बोकी ५४ वर्षीया अमारासूर्याले एडिनबर्ग विश्वविद्यालयबाट विद्यावारिधी गरेकी छन् । महिला अधिकारकर्मीसमेत रहेकी उनी प्राध्यापनमा पनि संलग्न थिइन् । सन् २०१९ को राष्ट्रपति चुनावका बेला उनी दिशानायकेको चुनावी अभियानमा सहभागी भएकी थिइन् । श्रीलंकाको इतिहासमा सिरिमाओ बन्दारानायके र चन्द्रिका कुमारातुङ्गापछि अमारासूर्या तेस्रो महिला प्रधानमन्त्री बनेकी छन् । उनीअघि सिरिमाओ बन्दरानायके (३ पटक) र चन्द्रिका कुमारातुंगा (१ पटक) श्रीलंकाको महिला प्रधानमन्त्री भएका थिए । अमरासूर्याको जन्म मध्यम वर्गीय परिवारमा भएको थियो । उनका बुबा चिया बगानका मालिक थिए ।

सन् १९७२ मा श्रीलंकामा भूमि सुधार ऐन लागू भएको थियो । उक्त कानुन लागु भएसँगै अमरासूर्याका बुवाको चिया बगान सरकारले कब्जा गरेको थियो । त्यसपछि उनी गालेबाट कोलम्बो आएर बसे । सन् १९८८÷८९ मा श्रीलंकामा तमिल आन्दोलनका कारण स्थिति हिंसात्मक बनेको थियो । यस अवधिमा विद्यालय र कलेजहरू बन्द थिए । यस्तो अवस्थामा हरिणी अमरासूर्या थप अध्ययनका लागि भारत गइन् । भारतमा उनी दिल्ली विश्वविद्यालयको हिन्दु कलेजमा भर्ना भएकी थिइन् । सन् १९९१ देखि १९९४ सम्म उनले समाजशास्त्र अध्ययन गरेकी थिइन् ।

भारतबाट देश फर्केपछि अमरासूर्या स्वास्थ्यसँग सम्बन्धित एनजीओमा सामेल भइन्, जहाँ उनले सुनामीबाट प्रभावित बालबालिकालाई सहयोग गरेकी थिइन् । केही वर्षपछि उनी पीएचडी अध्ययनका लागि अस्ट्रेलिया गइन् । त्यहाँबाट अध्ययन पूरा गरी देश फर्किएपछि उनी २०११ मा कलेजमा प्रोफेसर भइन् । अमरासूर्याले सन् २०१५ मा सरकार विरुद्धको आन्दोलनमा भाग लिएकी थिइन् । यही क्रममा उनी दिसानायकेको सम्पर्कमा आइन् । उनी सन् २०१९ मा आफ्नो पार्टी जनता विमुक्ति पेरामुनामा सामेल भइन् । सन् २०२० मा संसदीय चुनाव जितेर उनी पहिलो पटक सांसद बनेकी थिइन् ।