Breaking

काम नलाग्ने भयो कांग्रेस ? नेताका चरित्रमाथि प्रश्नै प्रश्न


संसदको ठूलो दल नेपाली कांग्रेस अनुशासनहीन र जवाफदेहिताविहीनहरुको समूह बन्न थालेको छ । पार्टीभित्रै आरोपका लागि आरोप लगाउने प्रवृत्ति हावी हुँदा तथा सत्तामा रहेर सत्ताको जस्तो व्यवहार नदेखाउँदा यो आरोपलाई अझ बल पुगेको हो । जहाँ आफंैले बोलेको बोलीमा नटिक्ने यो अवस्थाले पार्टीमाथिकै प्रश्न पनि बलियो बन्दै छ ।

एक हप्ताअघि नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई घुस खाएको आरोप लगाए । कांग्रेसभित्र गुटमा समेत एकै ठाँउमा रहेका बजगाईंका अनुसार पाण्डेले घुस लिएर एक क्यासिनोलाई सञ्चालनको लाइसेन्स दिएका थिए । यसले पार्टीभित्र तरंग आउँदा पाण्डे अनुशासन समितिको शरणमा पुगे भने समितिले बजगाईसँग मौखिक प्रष्टीकरण लियो भने लिखितसमेत माग्यो ।

तर अहिले आएर उनले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिँदै माफी मागेका छन्।बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले आफ्नो आरोपले मन्त्री पाण्डेलाई चोट पारेको भन्दै अभिव्यक्ति फिर्ता लिएको बताएका छन्। योसंगै यो प्रकरण यहीँ रफादफा भएको छ भने आरोपका लागि आरोप मात्रै लगाएको भए बजगाईंलाई किन कारबाही नगर्ने प्रश्न उठेको छ । जब कि पाण्डेले पहिलेबाटै आरोप प्रमाणित गर्न चुनौती दिँदै आएका थिए ।

यो त पछिल्लो उदाहरणमात्रै हो ।एक समय थियो महामन्त्री गगन थापालाई कांग्रेसकै नेताहरुले घण्टी कांग्रेसको आरोप लगाएका थिए । अहिले रवि लामिछाने पक्राउसँगै सबैभन्दा तारो थापा नै बन्दा यो आरोपको अन्त्य भएपनि कांग्रेस नेता मोहन बस्नेतले यो विषय बढी उचालेका थिए । बाहिर कोही घण्टी कांग्रेस, कोही राप्रपा कांग्रेस, कोही माओवादी कांग्रेस अनि नेपाली कांग्रेस को हो? भन्दै प्रश्न गर्ने उनका भनाइहरु सुन्दा आफ्ना नेता जेल जाउन् भन्ने इच्छा गगनको रहेको भाष्य निर्माण भएको थियो । हुनपनि सभापति शेरबहादुर देउवा निकट नेताहरुआफ्नै नेता अफ्ठ्यारोमा पर्दा गुटकै कारण अपराधी करार गर्न केही नेतालाई हतार हुने गरेको आक्षेप लगाउँथे ।

यता रास्वपाका तत्कालीन महामन्त्री डा.मुकुल ढकालकै अनुसार थापाकै कारण रास्वपाले दुई सिट बढीसांसद जितेको थियो । यसको अर्थ उनले अन्तरघात गरेको प्रमाणित हुन्थ्यो । तर अरुलाई सिद्धान्त, नैतिकता सिकाउने थापा त्यसको कसीमा बाँधिनु परेन । यद्यपि चुनावका बेला हार सहन गर्न नसक्दा अन्तरघातको आक्षेप लगाउने र पछि सुटुक्क रफादफा गर्ने प्रवृत्ति भने कांग्रेसमा नयाँ होइन । यसबाहेक सत्ता सन्चालनकै विषयमासमेत वर्तमान प्रधानमन्त्रीमाथि गिरीबन्धु प्रकरणमा प्रश्न उठाउने पंक्तिमा थापासहितका नेता थिए । जुन विषयमा अहिले उनीहरुको मुख थुनिँदा पार्टीभित्रै र सत्ताकै विषयमासमेत उनीहरुले देखाउँदै आएको दोहारो चरित्र उदाङ्गो बनेको छ ।

अहिले एमालेले सडकमासमेत खबरदारी गर्ने बाटो लिएको छ । तर हिजो माओवादी सत्तामै रहेर किन सडकमा पनि जानुपर्यो भन्ने कांग्रेस अहिले बोल्न सक्ने अवस्थामा छैन । अर्थात विगतमा आफैंले बोलेको बोली भारी पर्ने अवस्थामा उनीहरु पुग्दा हिजो बोलेको ठिक कि आजको ठिक भन्ने प्रश्नको जवाफ दिनसक्ने अवस्था उनीहरु छैनन् । यसले संसदकै ठूलो दल कांग्रेस र उसका नेताहरुमाथिको विश्वसनीयता र उनीहरुको हैसियतमाथि नै प्रश्न उब्जाउँदा उनीहरुको अनुशासनहीनता र जवाफदेहिताविहीन अवस्था छर्लङ भएको छ ।