देश

भारतीय सेना प्रमुख पाँच दिने भ्रमणका लागि काठमाडौँमा


काठमाडौँ— भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी पाँच दिने भ्रमणका लागि काठमाडौं आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै द्विवेदीलाई नेपाली सेनाको युद्धकार्य विभागका महानिर्देशक उपरथी प्रेमध्वज अधिकारीले स्वागत गरेका थिए । अधिकारी नेपालको तर्फबाटसंयुक्त राष्ट्र संघको सल्लाहकार पदका लागि उम्मेदवार समेत हुन् ।

उनले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न समेत प्राप्त गर्नेछन् । नेपाल र भारतीय सेनाबीच एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने परम्परा छ । भारतीय सेनाध्यक्ष द्विवेदी ९ मंसिरसम्म नेपालमा रहने छन् । त्यसक्रममा उनले राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानविर राई लगायतसँग भेटवार्ता समेत गर्नेछन् ।

द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए । यसभन्दा अघि उनी उत्तरी क्षेत्रको सेनाको कमाण्डर थिए, त्यहाँ उनले जम्मु–कश्मिर र लद्दाखको रणनीतिक रुपमा महत्वपूर्ण मानिने क्षेत्रको नेतृत्व गरेका थिए ।