अन्तर्राष्ट्रिय

ट्रम्पको बोल्ड निर्णय, अवैध आप्रवासीलाई अमेरिकाबाट लखेटिन


डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा पुनरागमन गरेसँगै अमेरिकाले गैरकानुनी ढंगले प्रवेश गरेका आप्रवासीविरुद्ध निर्मम नीति लिने भएका छन् । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेनाको प्रयोग गर्ने योजना बनाएको बताएका छन् । योसँगै अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु समस्यामा पर्ने देखिएका छन् ।

मान्छेका हजारौँ सपना हुन्छन् । तीमध्ये अमेरिका जाने एउटा सपना हुन्छ । अमेरिका जान पाए अरु के चाहिन्थ्यो र ? स्वर्गै पुगे जस्तो । संसारका लागि अमेरिका एक सपनाको देश हो । भौतिक पूर्वाधारको विकास र आर्थिक उन्नतिका साथै विभिन्न हिसाबले अमेरिका विश्वका सबै देशभन्दा अगाडि छ । अमेरिकालाई दुस्मन ठान्नेदेखि प्रतिस्पर्धामा उत्रिएका विश्वका अन्य मुलुकहरूले अमेरिकाको अर्थतन्त्र र विकासलाई पछ्याइरहेका छन् । ती देशका नागरिकका लागि पनि अमेरिका सपनाको देश मानिन्छ । अमेरिका जान पाउनुलाई एउटा सफलता मानिन्छ ।

त्यहाँ गएपछि काम र दाम दुवै हुने र सुख मिल्ने अधिकांशको आशा हुन्छ । त्यसैले हाम्रो जस्तो गरिब मुलुकका साथै धनी मुलुकका नागरिकमा पनि अमेरिका सपना बग्रेल्ती हुने गर्छ । हजारौँ मानिस भिसा लगाएर वैध बाटो भएर जान्छन् । त्यसरी जान नसक्नेहरु विश्वभर ठूलो संख्यामा छन् । त्यही ठूलो संख्यामा रहेका लाखौँ मानिस डङ्की रुट अर्थात अवैध बाटो भएर पैदलै सीमा पार गर्दै अमेरिका प्रवेश गर्ने गर्छन् ।


अन्य करोडौँ मानिष अवैधरुपमा सझिलै हिँडेर अमेरिका प्रवेश गर्छन् ।

तर अब भने अवैध बाटो हिँडेर सपनाको देश अमेरिका पुग्नेहरुको सपना चकनाचुर हुने भएको छ । अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको पुनरागमनसंगै अब अवैध रुपमा अमेरिका जाने सपना करिब अन्त्य जस्तै हुने भएको छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेनाको प्रयोग गर्ने योजना बनाएको सोमबार बताएका छन् ।

राष्ट्रपति जो बाइडेनको प्रशासनकालमा गैरकानुनी रूपमा आप्रवासीको सङ्ख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौँ आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने बताएका छन् । अहिले अमेरिकामा करिब एक करोड ५० लाखभन्दा धेरै मानिसहरु गैरकानुनी रूपमा बसिरहेको तथ्यांक छ । प्यू रिसर्चको रिपोर्ट अनुसार अमेरिकामा ७ लाख २५ हजारभन्दा धेरै अवैध भारतीयहरू छन् । अध्ययनले अवैध रूपमा बसोबास गर्ने तेस्रो ठूलो जनसङ्ख्या भारतीयहरू रहेको देखाएको छ ।
पहिलो स्थानमा मेक्सिकोका नागरिकहरु रहेको देखाएको छ भने दोस्रो स्थानमा एल साल्भाडोरका आप्रवासी छन् । जसको संख्या ८ लाखभन्दा धेरै रहेको छ । यस्तै भारतपछि चौथौ स्थानमा अमेरिकामा ग्वाटेमालाका आप्रवासी रहेका छन् । जसको संख्या ७ लाख रहेको छ । अमेरिकामा नेपालीको संख्या साढे २ लाखभन्दा माथि रहेको छ । अमेरिकामा १५ हजार ५ सय जना हरेक वर्ष शरणार्थीका रुपमा थपिने गरेका छन् ।

विभिन्न डंकी रुट हुँदै मेक्सिकोबाट अवैध रुपमा सीमा पार गरेर जाने नेपालीको संख्या पनि ठूलो रहेको छ । दिनप्रति दिन अवैध आप्रवासीको संख्या बढ्दै गएपछि ट्रम्प प्रशासनले कडाइको नीति लिने तयारी गरेको देखिन्छ । यसबाट लाखौँ अवैध आप्रवासी प्रभावित हुने निश्चित छ भने अमेरिकाको सपना देख्नेहरुलाई ठूलो धक्का लाग्ने भएको छ ।