मंसिर १६ मा हुने उपनिर्वाचनमा ४४ पदका लागि ४ सय ७ जना चुनावी मैदानमा छन् । नयाँ पार्टी रास्वपादेखि पुराना दल कांग्रेस एमालेले आफ्नो जनमत परीक्षणका रुपमा हेरेको यो उपनिर्वाचनको चर्चा राष्ट्रिय स्तरमा छ । जसले दलहरुको आगामी रणनीतिको बाटोसमेत तय गर्ने चर्चाकाबीच केही प्रश्नहरुसमेत उब्जाएको हो ।
विभिन्न कोणबाट चर्चा भइरहेको स्थानीय तह उपनिर्वाचनमा उम्मेद्वारी दर्तासँगै अहिले धेरै प्रश्नहरु उठेका छन् । विशेषत नयाँ दलको उपस्थिति,पुराना दलहरुको निर्णय र नयाँ विकल्प भनिएका व्यक्तिहरुको मौनताले यी प्रश्नहरु उठेका हुन् । ती के के हुन् त ?
१. एमाले, कांग्रेस डराएका हुन् ?
निर्वाचन अघि गठबन्धन गर्नु लोकतान्त्रिक पद्धति विपरीत भएको भन्दै एजेण्डा नै बनाएका नेपाली कांग्रेस र एमाले यो उपनिर्वाचनमै गठबन्धन गर्ने अवस्थामा पुगेका छन् । विगतमा भएको अभ्यासभन्दा माथि उठेर एमालेको उम्मेद्वार र कांग्रेसको चुनाव चिन्ह प्रयोग गर्ने बाटोमा उनीहरु अघि बढेको हुन् ।रूकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेसको चुनाव चिह्न लिएर एमालेकी नेता केशकुमारी तुलाचन उपाध्यक्षमा उम्मेदवार बनेकी छन्।तुलाचन एमाले रूकुमपूर्व कमिटीकी उपसचिव हुन्।
एमालेकी नेतालाई आफ्नो चिह्न (रूख) लिने सर्तमा कांग्रेसले पनि साझा उम्मेदवार बनाएको हो। माओवादीको गढ क्षेत्र यो स्थानीय तहमा उनीहरुकै भाषामा झिंगा मार्न तोप पड्काउने तयारीमा एमाले कांग्रेस छन् । यसबाहेक कैलाली र ओखलढुङ्गाको जिल्ला समन्वय समिति सभापतिमा पनि यी दुई दल एक ठाँउ उभिएका छन् । अब यी दुवै जिसस सभापति कांग्रेसको हातमा पुग्दा माओवादी नेताहरु भने यसलाई नयाँ राजनीतिक कोर्स विकासको आधार मानिरहेका छन् ।
२.के प्रचण्ड मोर्चा बनाउन असफल भएका हुन् ?
यो उपनिर्वाचनमा विपक्षी मोर्चा बनाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असफल भए । साना दल सकाउने गरी एमाले–काँग्रेस अघि बढेपनि उनी समाजवादी मोर्चालाईसमेत काममा लगाउन सफल भएका छैनन् । बरु यो बीचमा माधवकुमार नेपालले समेत सबैस्थानमा उनलाई साथ दिएनन् भने रास्वपा बोक्नसमेत उनले सकेनन् । त्यस्तै नेत्रविक्रम चन्द विप्लवलाई पनि फकाउन नसकेका उनी चर्को दवावमा छन् । पहिले जितेको ६ वडाध्यक्षसहित दुई उपाध्यक्ष पद जोगाउन पनि माओवादीलाई सजिलो छैन ।
३. रास्वपाले उम्मेद्वार नै नपाएको हो ?
यो उपनिर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीका लागि स्थानीय तहमा पहिलो निर्वाचन हो । जहाँ सभापति रवि लामिछाने थुनिएको पिडामा रहेको रास्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेद्वार समेत दिन सकेन । अर्थात यो उपनिर्वाचन तल्लो तहसम्म उपस्थिति जनाउने अवसर हुनसक्ने अवस्थाकाबीचरास्वपाले २६ स्थानमा मात्रै उम्मेद्वारी दिएको छ । जब कि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३७ स्थानमा, डा.बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले १२ स्थानमा, जनमत पार्टीले १५ स्थानमा, नेकपा (एकीकृत समाजवादी)ले १४ स्थानमा, नेपाल समाजवादी पार्टी (नेसपा)ले १२ स्थानमा, जनता समाजवादी पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ११ स्थानमा, नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले १० स्थानमा र जनता समाजवादी पार्टी (जसपा)ले ९ स्थानमा उम्मेदवारी दर्ता गराएको छ ।
३.बालेन आगामी चुनावमा विकल्पको शक्ति बन्ने हल्ला मात्र हो त ?
यो उपनिर्वाचनमा धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङ कीर्तिपुर आउने चर्चा छ । उनले कीर्तिपुरमा मेयरका स्वतन्त्र उम्मेद्वार राजमान मानवलाई सघाउने बताइन्छ । तर काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह चुपचाप छन् । आगामी निर्वाचनमा उनी विकल्पको शक्ति निर्माणमा लाग्ने चर्चाकाबीच उपनिर्वाचनमा उनको यो मौनताले प्रश्न उठाएको छ ।
४. सबै शक्तिलाई लोकतान्त्रिक धारमा ल्याउन पुराना दल असफल भएका हुन् ?
एमाले र कांग्रेसले बारम्बार यो देशमा माओवादीलाई लोकतान्त्रिकरण गरेकोदेखि द्वन्द्वरोकेको जस लिँदै आएका छन् । डा. सीके राउतलाई मुलधारमा ल्याउने विषय होस् या विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने विषय होस्,यसलाई उनीहरु सफलताका रुपमा व्याख्या गर्छन् । तर अझैपनि केही शक्तिहरुले निर्वाचन नै बहिष्कार गर्दै आएका छन् । यो उपनिर्वाचन पनि नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले बहिष्कार गरेका छन्
यसबाहेक यो उपनिर्वाचनमा वैकल्पिक नेतृत्वको नेकपाले समेत उम्मेद्वार उठाएन । बरु नयाँ र साना दलहरुसमेत आआफ्नो हैसियतमा चुनावी मैदानमा देखिँदाउपचुनाव हुने रिक्त स्थान मध्ये यसअघि तीन ठूला दल बाहेक जनता समाजवादी पार्टीबाट जितेका एक जना र एक स्वतन्त्र मात्रै थिए । त्यसैले साना दलहरुले उपचुनाव हार्दा गुमाउने भन्दा जित्दा त्यसको सन्देश नयाँ हुनेछ । यता जित जोगाउने दवावमा कांग्रेस पनि रहँदा जसपा नेपालले भने समलिङ्गी उठाएर नयाँ सन्देश दिन खोजेको छ । जहाँ यो उपनिर्वाचन गठबन्धनविहीन र दुई दलीय राजनीतिक व्यवस्थाको संकेत गर्ने कुरा भने एमाले कांग्रेसकै कारण सफल हुन सकेन ।
प्रतिक्रिया