अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रूसमाथि आक्रमण गर्न अमेरिकाबाट प्राप्त लामो दूरीका मिसाइल प्रयोग गर्न अनुमति दिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले अमेरिकाले दिएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम युक्रेनबाहिर प्रयोग गर्न अनुमति माग्दै आएका थिए ।
आगामी जनवरी महिनामा अमेरिकाको सत्ताबाट बाहिरिन लागेका राष्ट्रपति जो बाइडेनले यसअघि युक्रेनलाई उपलब्ध गराएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम प्रयोग गर्न अनुमति दिएका छन् । युक्रेनविरुद्धको लडाईंमा मस्कोलाई सहयोग गर्न उत्तर कोरियाली सेना त्यहाँ पुगेपछि बाइडेन प्रशासनले लामो दूरीको मिसाइल प्रयोग गर्न दिने अनुमति दिएको हो । दक्षिणी रुसी क्षेत्रमा अहिले ५० हजार उत्तर कोरियाली सेना रहेको गुप्तचर स्रोतको अनुमान छ । सोही स्थानमा गत वर्ष युक्रेनले प्रत्याक्रमण स्वरूप आक्रमण सुरु गरेको थियो । भविष्यमा हुने शान्ति वार्तालाई ध्यानमा राख्दै रुस कुस्र्क क्षेत्र आफ्नो पकडमा राख्न चाहन्छ । तर, युक्रेनको कब्जामा रहेको सो क्षेत्रमा पुनः रुसले नियन्त्रण गरोस् भन्ने अमेरिकाले चाहेको छैन ।
सम्भव भएसम्म यस क्षेत्रलाई जोगाइ राख्न अमेरिकाले सहयोग गर्न खोजेको देखिन्छ । अमेरिकाले रुस युक्रेन युद्धको यति लामो समयपछि आर्मी टेक्टिकल मिसाइल सिस्टम प्रयोग गर्न अनुमति दिनुलाई विशेष अर्थको रुपमा हेरिएको छ । अहिले युक्रेनलाई सहयोग गर्ने सवालमा अमेरिकाकै मत विभाजित छ । केही अमेरिकी निरन्तर सहयोगको पक्षमा छन् भने कोही यसरी सहयोग जारी राख्नु आवश्यक नरहेको ठान्छन् । अमेरिकाले यो मिसाइल गत फेब्रुअरी महिनामै तयार पारी सकेको थियो । अप्रिल महिनामा यो मिसाइल युक्रेनलाई हस्तान्तरण गरिएको थियो ।
सेप्टेम्बर महिनामा बाइडेन र जेलेन्स्कीबीच भेट भएको थियो । सोही भेटमा जेलेन्सकीले रुसमा आक्रमण गर्न चाहेको कुरा बताएका थिए । उनले बाइडेनसँगको भेटमा युद्धको अवस्थाका बारे विस्तृत जानकारी गराएका थिए । केही दिन यता जेलेन्सकी र बाइडेनकबीच वर्तमान अवस्थाका बारे धेरै छलफल भएका छन् । यता सेप्टेम्बर महिनामै पश्चिमा देशले घातक हतियार प्रयोग गरे आफूले आणविक हतियार प्रयोग गर्ने चेतावनी रुसले दिएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो भूभागभित्र पश्चिमा देशमा बनेका हतियार प्रयोग नगर्न चेतावनी दिँदै आएका छन् ।
पश्चिमा हतियारको प्रयोगलाई रुसले युक्रेन युद्धमा नेटोको संलग्नताकै रूपमा हेर्ने बताएको छ । रुसले आधुनिक युद्धपोत र लडाकु विमानहरू युक्रेनलाई उपलब्ध गराउने कुरालाई रुस र नेटोबीचको युद्धका रूपमा हेर्ने चेतावनी दिँदै आएको छ । त्यसो त यस्ता हतियारको प्रयोगले युद्ध चर्किने सम्भावनालाई मध्यनजर गर्दैै वासिङटनले यसअघि प्रयोग नगर्न भनेको थियो । तर, दोस्रो कार्यकालका लागि हालै सम्पन्न निर्वाचनबाट राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नु दुई महिनाअघि नै बाइडेन प्रशासनले आफ्नो नीति उल्ट्याउँदै लामो दूरीको मिसाइल प्रयोगको अनुमति दिएको हो । ट्रम्पले भने युक्रेनलाई अमेरिकी सैन्य सहयोग उपलब्ध नगराउने अनुमान गरिएको छ ।
ट्रम्प आउनु अगावै बाइडेनले मिसाइल प्रयोगका लागि अनुमति दिएसँगै अमेरिकी नीतिमा ठूलो परिवर्तन आएको मानिएको छ । अमेरिकाले गरेको यो निर्णयप्रति भने रुसमा आक्रोश व्यक्त भएको छ । रुसी सांसद तथा नेताहरुले बाइडेनको निर्णय आपत्तिजनक रहेको भन्दै तनाव चुलिने र गम्भीर परिणाम निम्तिन सक्ने बताएका छन् । रुसी नेता तथा क्रेम्लिन निकटहरुले यस निर्णयको आलोचना गरे पनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने कुनै पनि प्रक्रिया जनाएका छैनन् । उनी अझै मौन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अमेरिकाले प्रयोग गर्न अनुमति दिएको ती मिसाइलले युक्रेनी सेनाले आफ्नो नियन्त्रणमा राखेको रुसको १ हजार वर्ग किलोमिटर क्षेत्र नजिकै प्रयोग गर्न सक्ने अनुमान गरिएको छ । यो अनुमतिसँगै दुई देशबीच जारी युद्ध अन्त्य हुने भन्दा पनि युद्ध थप चर्किने सम्भावना छ ।
प्रतिक्रिया