आगामी मंसिर १६ गते देशभर रिक्त रहेका स्थानीय तहका विभिन्न ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । तर सबैको ध्यान संघीय राजधानी काठमाडौंको कीर्तिपुर नगरपालिकामा अडेको छ । कीर्तिपुरको उपचुनावलाई आफ्नो शक्ति परीक्षण गर्ने प्रतिष्ठा बनाएका दलहरुले उम्मेदवारी दर्ता गर्दासमेत शक्ति प्रर्दशन गरेका छन् । उम्मेदवारी दर्तासँगै कीर्तिपुरको चुनावी सरगर्मी ह्वात्तै बढेको छ । एक रिपोर्ट
यो दृश्य कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालय परिसरको हो । राजावादीदेखि गणतन्त्रवादीसम्मै–शीर्ष राजनीतिक दल र वैकल्पिक शक्तिदेखि स्वतन्त्र उम्मेदवारसमेत बाजागाजा तथा नाराबाजीसहित बडो तामझामका साथ कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगे ।
स्वतन्त्र उम्मेदवारहरु आफ्नो समर्थका साथ निवार्चन अधिकृतको कार्यालय पुग्दा राजनीतिक दलका उम्मेदवारहरु दलका केन्द्रीय नेता तथा पूर्वमन्त्रीसहित मनोनयनका लागि उपस्थित भएका थिए । उनीहरुले केन्द्रीय नेता र कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा कीर्तिपुर नगरपालिकाको मेयर पद र वडाअध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजा र नाराबाजीसहित कीर्तिपुरको परिक्रमा गर्दै निर्वाचन कार्यालय पुगेका उनीहरुले उम्मेदवारी दर्तापछि पुनः नगर परिक्रमा गर्न भ्याए ।
शनिबार साँझ मात्र कांग्रेसकोतर्फबाट मेयर पदको उम्मेदवार बनेका कृष्णमान ढंगोलले आइतबार सांसद राजन केसी, केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्मासहित समर्थकहरुको दलबलसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित नेपाली कांग्रेसका राजकुमार नकर्मीको क्यान्सर रोगका कारण निधन भएपछि हुन लागेको यो उपनिर्वाचन कांग्रेसका लागि शक्ति परीक्षण मात्र नभई आफ्नो विरासत जोगाउनै पर्ने दवावसमेत छ । पार्टी सभापति शेरबहादुर देउवा निकट भएकै कारण टिकट हत्याउन सफल डंगोल जित हात पार्नेमा ढुक्क छन् ।
केन्द्रीय सदस्यसमेत रहेका डाक्टर सुरेन्द्र मानन्धरलाई कीर्तिपुरको मेयरमा विजय गराउँदै आफ्नो पुरानो गढमा कमब्याक गर्ने रणनीति सत्तारुढ दल नेकपा एमालेको छ । हेभिवेट उम्मेदवारको रुपमा चर्चा भइरहेको नेकपा एमालेका उम्मेदवार डाक्टर सुरेन्द्र मानन्धरले पूर्वमन्त्री एवम् सांसद कृष्णगोपाल श्रेष्ठ, पार्टीका बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङगेल सहितका नेता र कार्यकर्ताहरुको उपस्थितिमा कीर्तिपुरको मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् । एमाले यो पटक कसैगरी आफ्नो पुरानो विरासत पुनस्र्थापित गर्ने लक्ष्यसहित अघि बढेको छ ।
स्थानीय तहदेखि केन्द्रको चुनावमा समेत कहिले एमाले त कहिले कांग्रेस वा साना ठुला राजनीतिक दलहरुसँग चुनावी गठबन्धन गर्दै आएको नेकपा माओवादी केन्द्रबाट यो पटक प्राध्यापक डाक्टर शिवशरण मर्हजन उम्मेदवार बनेका छन् । शशी श्रेष्ठ लगायतका केन्द्रीय नेताहरु तथा कार्यकर्ताको साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका महर्जन यो पटक कसैगरी जित आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । एकीकृत समाजवादी पार्टी, विप्लव र अघोषित रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको समेत नैतिक समर्थनको बलमा माओवादी कीर्तिपुरमा इतिहास रच्ने ध्याउन्नमा छ ।
कीर्तिपुर नगरपालिकाको मेयर पद दलहरुका लागि उपचुनावको ईपिसेन्टर बनेको छ । मुख्यतः कांग्रेस, एमाले र माओवादीले यो चुनावलाई आफ्नो चुनावी प्रतिस्पर्धा मात्र नभई प्रतिष्ठाकै थलो बनाएका छन् । फलतः शीर्ष राजनीतिक दलहरु मात्र नभई राजतन्त्र र हिन्दुराज्यको मुख्य एजेन्डा बाकेर हिँडेका राजावादीदेखि संगठन नै नभएका साना दलहरुलेसमेत उम्मेदवार उठाएका छन् । राप्रपाले तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा मेयर बनेका ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । नेपाल मजदुर किसान पार्टीले श्रीकृष्ण महर्जनलाई मेयरमा उठाएको छ । जसपा नेपालले मेयर र वडाध्यक्ष दुवैमा तेस्रो लिङ्गीलाई उम्मेदवार बनाएको छ । नगरपालिकाको प्रमुखमा हनि महर्जन र वडा नम्बर ४ को वडाध्यक्षमा मनि महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार नउठाउँदा राजेन्द्र लिङदेन नेतृत्वको राप्रपादेखि नेमकिपा, जसपा नेपाल समेतले आ–आफ्नै उम्मेदवार खडा गरेका छन् । कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारको ओइरो नै लागेको छ । चुनाववारे उम्मेदवारहरुको आ–आफ्नै दाबी छ ।
नेवार समुदायको बाहुल्य रहेको कीर्तिपुरमा ठुला राजनीतिक दलहरुले पनि नेवार समुदायबाटै चुनावी प्रतिस्पर्धी मैदानमा उतारेका छन् । कीर्तिपुरको मेयरका लागि विभिन्न राजनीतिक दलसहित २० जनाले उम्मेदवारी दिएका छन् । यसमा ९ जना राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । एकाध बाहेक विगतमा कुनै न कुनै पार्टीमा आबद्ध भएका नेताहरु यसपटक स्वतन्त्र उम्मेदवार उठेको देखिन्छ ।
प्रतिक्रिया