Breaking

सत्तामा विदेशी कार्ड : भारत रिझाएर ओली सरकार ढाल्ने प्रचण्ड दाउ


प्रधानमन्त्री केपी शर्मा ओली यही मंसिर १७ देखि २० गतेसम्म चीन भ्रमणमा जानेगरी तयारी भइरहेको छ । औपचारिक रुपमा कार्यतालिकासमेत सार्वजनिक गरिएको छैन । तर, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने ओलीले चीन कार्ड खेल्न खोजेको आरोप लगाएपछि प्रचण्डको आलोचना भइरहेको छ ।

पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रोपटक प्रधानमन्त्री बनेपछि आफ्नो सरकार भारतसँग कम्फर्टेबल भएको बताएका थिए । सार्वजनिक कार्यक्रममै एक व्यापारीले आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली धाएकोसम्म भन्न भ्याएपछि नेपालमा सरकार कसले बनाइदिन्छ भन्ने प्रश्न मात्रै उठेको थिएन । प्रचण्डले संसदमै जवाफ दिनुपरेको थियो ।

आफू भावनामा बहकिएर जे पनि बोलेको भन्दै त्यसबेला छुटकरा पाएका प्रचण्डले भारतीय मिडियालाई दिएको एक अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन कार्ड खेल्न खोजेको आरोप लगाएपछि उनी फेरि विवादमा तानिएका छन् । ‘द हिन्दु’ पत्रिकासँगको अन्तर्वार्ताका क्रममा प्रचण्डले ओलीले भारतविरुद्ध चिनियाँ कार्ड खेल्न खोजेको आरोप लगाएका छन् । एमाले र ओलीसँग प्रचण्डको पानी बाराबार होला ।

स्वर्ग र नर्क जाने भन्दै बीच बाटोमा छोडे होलान् । तर, आन्तरिक असन्तुष्टि र सत्ता गुमाएको पीडामा बहकिएर छिमेक सम्बन्धमा खलल पु¥याउने गरी पूर्वप्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै आलोचना भइरहेको हो । एमालेले त विज्ञप्ति जारी गरेरै अभिव्यक्ति फिर्ता लिन र जनतासँग माफी माग्न भनेको छ । तर, यस्तो गम्भीर विषयमा माफी माग्नुको साटो माओवादी भने ओली सरकारप्रति भारत र चीन दुबै खुसी नभएको अभिव्यक्ति दिएर आपत्तिजनक विषयमा प्रचण्डको कमजोरीमा रफु लगाइरहेको छ ।

ओलीसँग भारत सन्तुष्ट छैन त्यसमा दुईमत रहेन । किन कि नाकाबन्दी र चुच्चे नक्सा प्रकाशनपछि नरेन्द्र मोदीसँग ओलीको सम्बन्ध चिसिएकै थियो । तर, ओली सम्बन्ध सुधारको प्रयासमा थिए । असोजमा मात्रै अमेरिका भ्रमणका क्रममा ओली र मोदीबीच भेट भएको थियो । ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । तर, भारतको तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणालाई निम्तो आएर भ्रमण गरिसक्दा समेत ओलीले निम्तो नपाएपछि उनी चीन जान लागेका हुन् । सबै कम्युनिस्ट मिली बनेको नेकपाको सरकारसमेत टिकाउन नसकेपछि चीन असन्तुष्ट रहेको तथ्यमा टेकेर चीन खुसी छैन भन्न सकिने विश्लेषकहरु बताउँछन् ।

हुन त नेपालको प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाट नगरे सरकार नै लामो समय नटिक्ने तथ्य पनि छ । यिनै प्रचण्डले पहिलोपटक प्रधानमन्त्री बनेपछि चीन भ्रमण गरेका थिए । जनयुद्धका समय भारतसँग सुरुङ युद्ध लड्ने बताउने प्रचण्ड भारतकै शरणमा बसेको र जनयुद्ध नै भारतको स्वार्थमा भएकोसम्म आरोप लाग्ने गरेका छन् । प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री भएपछि चीनमा ओलम्पिकको समापन समारोहमा भाग लिन भन्दै पहिलो विदेश भ्रमण गरेका थिए ।

तर, भारत रिसाएपछि प्रचण्डले पहिलो औपचारिक विदेश भ्रमण भारतबाट गर्ने कसमसहितको विवादास्पद अभिव्यक्ति दिएका थिए । तेस्रो कार्यकालमा त प्रचण्डले भारत नगई अरु देश नजाने अड्डी नै कसेका थिए । अहिले ओली चीन जाँदैमा सरकार परिवर्तन गराउन प्रचण्ड हौसिहाल्नु र त्यसलाई कुनै कार्डका रुपमा शब्दावली प्रयोग गर्नु एक जिम्मेवार राजनीतिज्ञबाट अपेक्षा गर्न नसकिने विषय हो । यता सरकार भने नेपालले भारत र चीन दुबैलाई नजिकको छिमेकीका रुपमा लिएकाले अघि र पछि भ्रमण गर्नुले तात्वीक फरक नपर्ने र चीनपछि ओली भारत पनि जाने बताउँछ ।

भूराजनीतिक हिसाबले अत्यन्तै संवेदनशील नेपालमा विदेशी प्रभावलाई नकार्न सकिँदैन । कांग्रेसको समीकरण बन्दा भारत र कम्युनिस्ट सत्तामा आउँदा चीनतर्फको निकटताका रुपमा हेर्ने गरिएको छ । अहिले कांग्रेस र एमाले मिल्दा त्यसलाई पश्चिमा समीकरणको रुपमा अथ्र्याउने गरिएको छ । आन्तरिक राजनीतिमा किचलो भए पनि नेपाली राजनीतिक दलहरु राष्ट्रियता र सार्वभौमसत्ताका सवालमा एक ठाउँमा उभिने गरेको सकारात्मक परिचय बनाएका छन् । तर, आन्तरिक राजनीतिकमा वैरभाव र सत्ता गुमाउँदाको छट्पटीलाई छिमेक सम्बन्ध बिग्रिने गरी जिम्मेवार व्यक्तिबाटै अभिव्यक्ति र हर्कत हुनु चकित पार्ने खालका गतिविधि भएका छन् ।

२०७९ को निर्वाचनमा यी सबै ठूला दलहरुले सार्वभौमिकतालाई मुख्य एजेण्डा बनाए । राष्ट्रवादको मुद्दा उचाले । तर, ओलीलाई चिनियाँ कार्ड देखाउन खोजेको भन्दै चीन भ्रमणकै कारण सरकार ढाल्ने प्रचण्डको अभिव्यक्ति भारत कार्डभन्दा अलग होइन । आफ्नो फाइदाका लागि छिमेकको प्रयोग गर्ने र छिमेकीका लागि प्रयोग हुने प्रवृत्ति प्रचण्ड, ओली वा देउवाका लागि व्यक्तिगत रुपमा फाइदाजनक भए पनि देशका लागि अफिम हुन् ।