Breaking

उपनिर्वाचन महासंग्राम : कहाँ को बने उम्मेदवार ?


देशैभरका ४४ स्थानीय तहमा विभित्र कारणले रिक्त रहेको पदपूर्तिका लागि आइतबार २५ राजनीतिक दलका नेतासहित स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । साढे दुई वर्षकै लागि भए पनि स्थानीय सरकारको हिस्सा बत्र कहाँ–कहाँ क–कसको उम्मदेवारी प¥यो त ?

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि देशैभरका ४४ स्थानमा उम्मेदवारहरूले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । सबैको चासो र केन्द्रले पनि रुचि देखिएको काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख पदका लागि नेकपा एमालेका सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराउँदा सोही नगरपालिकाको वडाध्यक्षका लागि वडा नम्बर १ बाट हर्ष महर्जन र बद्री बुढाथोकीले वडा नम्बर ४ मा मनोनयन दर्ता गराएका छन् ।

त्यसै गरी नेपाली कांग्रेसको तर्फबाट मेयरमा कृष्णमान डङ्गोल, वडा नम्बर १ को अध्यक्षमा इच्छा महर्जन र वडा नम्बर ४ मा राजेन्द्र बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादी र जसपाको सहयोगमा नेकपा माओवादी केन्द्रले शिवशरण महर्जनलाई मेयरको उम्मेदवार बनाउँदा वडा नम्बर १ मा सरल गोपाल महर्जन र वडा नम्बर ४ मा नारायण विष्टले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले उम्मेदवारी दर्ता गरेका
छन् । दर्ता गर्नु केही घण्टाअघि मात्रै उम्मदेवार टुंग्याएको नेपाली कांग्रेसले देवेन्द्र पाठकलाई उठाउँदा माओवादीको समर्थनमा (एकीकृत समाजवादी) बाट मीनबहादुर मानन्धर उम्मेदवार बनेका छन् । त्यस्तै पहिलो पटक स्थानीय तहको निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने श्यामकृष्ण श्रेष्ठले राप्रपाको प्रतिनिधित्व गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा एमालेका राजेश नगरकोटीले मनोनयन दर्ता गराउँदा कांग्रेसबाट भने गत निर्वाचनको निकटतम प्रतिद्वन्द्वी अर्जुन प्रसाद तिवारी नै दोहोरिएका छन् । गएको दुई स्थानीय तहमा माओवादीले जित हात पारेको हेटौडा १२ लाई माओवादीले आफ्नो किल्लाकै रूपमा परिभाषित गर्दा रविकुमार प्रधानलाई पहिलो पटक चुनावी प्रतिष्पर्धामा उतारेको छ । राप्रपाबाट प्रेमबहादुर भ्लोन चुनावी मैदानमा छन् भने रास्वपाका आशावीर बलले मनोनयन दर्ता गरेका छन् । एकीकृत समाजवादीले बलराम बललाई उठाएको छ ।

यस्तै कोशीको ९ स्थानीय तहमा उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिएको छ । दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसकी उम्मेदवार पास्दिकी तामाङ शेर्पाले मनोनयन दर्ता गरेकी छन् । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाको वडा नम्बर ३ को वडाध्यक्षमा एमालेका तर्फबाट कुमारी साउदेन (लिम्बु) ले उम्मेदवारी दर्ता गरेकी छन् । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि एमालेबाट तुलसीराम विश्वास, कांग्रेसका बलराम सरदार, माओवादीका नमोनारायण माझी, राप्रपाका दिनेशकुमार थान्दारले उम्मेदवारी दर्ता गराएका छन् ।

लुम्बिनी प्रदेशमा १ उपाध्यक्ष र ५ वटा वडाको अध्यक्ष गरि छ स्थानीय तहमा मनोनयन दर्ता भएको छ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडा अध्यक्षमा एमाले र कांग्रेसको सहमति हुँदा कांग्रेसको चिन्ह लिएर एमाले उम्मेदवार बनेको छ । एमाले उम्मेदवार केशकुमारी तुलाचनले कांग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी लड्दा वडामा पनि कांग्रेस र एमालेले एउटै चिन्हमा उम्मेदवार उठाएको हो । बर्दियाको ठाकुरबाबा नगरपालिका ४ नम्बर वडामा हुने स्थानीय तह उपनिर्वाचनका कांग्रेसका अमिन थारु, एमालेबाट विष्णुप्रसाद देवकोटा, माओवादीबाट शेरबहादुर थारु, रास्वपाबाट वासुदेव शर्मा, राप्रपाबाट रत्न शाही, र नाउपाबाट प्रितिलाल थारु गरि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

८ वटा स्थानीय तहमा उपनिर्वाचन हुन लागेको कर्णालीमा दैलेखको महावु गाउँपालिकाको अध्यक्षका लागि कांग्रेसबाट झलक भण्डारी र माओवादीबाट जङ्ग बराल उम्मेदवार छन् । त्यस्तै एमालेले मंगलबार मात्रै समाजवादीबाट एमालेमा प्रवेश गरेका जंगबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । रास्वपाबाट प्रकाशकुमार बुढा र एकीकृत समाजवादीका तर्फबाट जगत हमालको उम्मेदवारी दर्ता भएको छ । यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखका लागि कांग्रेसकातर्फबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादीबाट देवका लामिछानेको उम्मेदवारी दर्ता गराएका छन् । महावुको अध्यक्षका लागि ५ र नलगाडको उपप्रमुखका लागि ४ दलको उम्मेदवारी दर्ता परेको छ ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि एमालेकी सुलोचना कुमारी भण्डारी, कांग्रेसबाट पुल्तीसरा शाही र माओवादीबाट राजुकुमारी बिकबीच चुनावी भिडन्त हुने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिकाका प्रमुख र उपप्रमुख एक÷एक र ३४ वडाध्यक्षको पद रिक्त हुँदा त्यसको पूर्ति गर्न उम्मेदवारी दर्ता गरेका हुन् ।