बिजनेस

चौधरी ग्रुपले तिर्‍यो १८ अर्ब कर, कुल राजश्वमा दुई प्रतिशत योगदान


काठमाडौं । देशको कुल राजस्वमा चौधरी ग्रुपले करिब दुई प्रतिशत योगदान गरेको छ । ग्रुपका अनुसार गत आर्थिक वर्षमा मात्रै उसले सरकारलाई १८ अर्ब ५२ करोड रुपैयाँ राजस्व बुझाएको छ । जुन सरकारको कुल राजस्व संकलनको एक दशमलब ९६ प्रतिशत हो ।

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको अवस्थामा पनि आफूहरुले गत आर्थिक वर्षको तुुलनामा १५ प्रतिशत बढी राजस्व तिरेको कम्पनीका प्रवक्ता मधुसूदन पौडेलले जानकारी दिए ।

ग्रुपले पछिल्लो पाँच वर्षमा मात्रै राज्यलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ८७ करोड रूपैयाँ, २०७७/७८ मा १४ अर्ब २८ करोड रूपैयाँ, २०७८/७९ मा १७ अर्ब ७२ करोड रूपैयाँ, २०७९/८० मा १६ अर्ब १४ करोड रूपैयाँ र २०८०/८१ मा १८ अर्ब ५२ करोड रूपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरेको छ ।

ग्रुपका अध्यक्ष चौधरीले भने, ‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुल वातावरणकाबीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउन सकेकोमा हामीलाई खुसी लागेको छ । राष्ट्रिय अर्थतन्त्रको विस्तार र देश विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौँ ।’

ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो संस्थाले स्थापित एवं नयाँ व्यवसाय वृद्धिका माध्यमबाट नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको बताए । उनले भने, ‘हामीले प्रत्येक वर्ष राजस्वमा योगदान बढाउँदै लगेका छौँ र आगामी वर्षहरुमा पनि यो वृद्धिदर कायम राख्ने लक्ष्य छ । चौधरी ग्रुपले नेपाललाई आफ्नो प्रमुख प्राथमिकतामा राखी लगानीको दायरा विस्तार गर्दै आएको छ ।’

यस्तै ग्रुपले व्यवसायीक संस्थाहरुले तिरेको करको तथ्यांक सरकारी तवरबाटै सार्वजनिक गर्ने वातावरण बनाइदिनसमेत सरकारसँग माग गरेको छ ।