काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको छ । सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारी दर्तासँगै आजै साँझ उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त ४४ पदमा निर्वाचन हुँदैछ। यसैबीच, उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू हुने आयोगले स्पष्ट पारेको छ ।
निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु–गराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले स्पष्ट पारेको छ । आचारसंहिता विपरित कार्य भए कारबाही गरिने चेतावनीसमेत आयोगले दिएको छ ।
प्रतिक्रिया