पछिल्लो एक महिनामा मात्रै तीन जना भीआईपीहरुले हिरासत यात्रा तय गरेका छन् । जसमध्ये एक जना जेल चलान भएका छन् भने दुई जनामाथि अनुसन्धान भइरहेको छ । योसँगै उनीहरुको अहिले दिनचर्या कसरी बिति रहेको छ त ?
प्रहरीले पछिल्लो एक महिनाको अवधिमा तीन भीआईपीको हिरासतमा बास गराइदिएको छ । पूर्व उपप्रधानमन्त्री रवि लामिछाने, कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी र गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे प्रहरी हिरासतमा छन् । यसमध्ये मनाङे भने ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ जेल चलान भइसकेका छन् ।
अधिकारीमाथि मानव तस्करी र लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । भीआईपीहरु जेल जाँदा उनीहरु कसरी दिन कटाउँछन् त? भन्ने जिज्ञाशा धेरैमा हुन्छ । हिरासत पुगेका कसको दिनचर्या कस्तो छ ?
१. दीपक मनाङे
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे दोस्रोपटक डिल्लीबजार कारागार पुगेका छन् । पहिले पनि त्यही बसेकाले उनलाई घुलमिल हुन समस्या थिएन । ‘क’ ब्लकमा कैदीबन्दी धेरै भएकाले उनलाई ‘ख’मा पठाउने निर्णय भयो । यही निर्णय उनका लागि थप सहज भयो । किन कि यसअघि पनि उनी ‘ख’ ब्लकमै बसेका थिए भने सो ब्लक बनाउन उनले पनि सहयोग गरेको बताइन्छ ।
उनी आउँदा त्यहाँका अन्य कैदीले उनलाई ‘राजासाप’भन्दै सम्बोधन गरेका थिए । नमस्कार टक्राए । पहिलेदेखिका उनका केटाहरु पनि त्यही छन् । मनाङेले पनि हर्षित मुद्रामै ‘ल साथीभाइहरू म पनि आएँ है’ भनेको बताइन्छ । मनाङे बस्ने हलमा टिभी, पत्रपत्रिका र पुस्तक राखिएको कारागारका कर्मचारी बताउँछन् । खासै तडकभडक केही छैन । सामान्य कैदीसरह नै देखिन्छन् । उनी बसेकै ब्लकमा अरु भीआईपीसमेत छन् । सहकारी ठगीमा इच्छाराज तामाङ, सुरक्षण मुद्रणमा जेल परेका विकल पौडेल लगायत त्यही छन् तर बस्ने ब्लक भने फरक–फरक छ ।
२. लीलाबल्लभ अधिकारी
कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी काठमाडौं प्रहरीको हिरासतमा छन् । भद्रकालीमा नयाँ बनेको भवनमा भीआईपीहरुका लागि छुट्टै हिरासत कक्षको व्यवस्था छ । त्यसैमा अधिकारीलाई पनि राखिएको छ । सो कक्षमा दिइने सुविधामा धेरै फरक नभए पनि शैचालयलगायतको व्यवस्था भने छुट्टै हुन्छ । अधिवक्तासमेत रहेका अधिकारीको बोलीरहने बानी भएकाले उनलाई एक्लै भने राखिएको छैन । बैंकिङ कसुरका केही थुनुवाहरुले अधिकारीकै कारण भीआईपी कक्षमा बस्न पाएका छन् ।
उनीहरुसँगै गफ गरेर अधिकारी दिन कटाउँछन् । हाँसोमजाक गर्छन् । धेरै भीआईपीको हिरासत पुगेपछि स्वास्थ्य बिग्रिन्छ । तर, उनी भने स्वास्थ्य बिग्रिनेप्रति सजक नै देखिन्छन् । त्यसैले त उनी सादा खाना र दूध मात्रै खाने गरेका छन् । मासु दिँदा पचाउन सक्दिन भन्छन् । मानव तस्करी काण्डमा पैसा पचाउन नसकेपछि अधिकारी हिरासत पुगेका हुन् । फर्जी कागज बनाएर केही मानिसहरुलाई जापान पु¥याएको आरोप उनीमाथि छ । यही मुद्दामा पक्राउ परेका अरु ६ जनालाई भने छुट्टै राखिएको छ ।
३. रवि लामिछाने
सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछाने २८ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । यसबीचमा तीन रात रुपन्देहीमा बिताएर लामिछाने फेरि पोखरा नै फर्किएका छन् । कास्कीमा थुनुवा राख्ने भवनको माथिल्लो तलामा लामिछानेलाई राखिएको छ ।
हिरासत कक्षका सुरक्षाकर्मी बस्ने कोठामै उनको बास छ । बिहान साढे ६ बजेतिर उठेर व्यायाम गर्छन्, शुभचिन्तकसँग भेटघाट गर्छन् । बाँकी समय पुस्तक पढेर बिताउँछन् । शुभचिन्तक र सहकर्मीहरुले थुप्रै पुस्तकहरु उपहार थिएका छन् रे । नेपाली र अंग्रेजी भाषाका तीनै पुस्तक पढेर रविको दिन बित्छ । उनको पार्टीका पदाधिकारीहरुले पनि पुस्तक लगिदिने रहेछन् । हरेक दिनजसो साथीहरुबाट अपडेट लिन्छन् ।
राजनीति, आन्दोलन, पार्टी यावत विषयबारे । नेताहरुलाई आन्दोलन नछाड्न निर्देशन् दिन्छन् । आन्दोलन चर्काउन नसकेकोमा केही चिन्तित देखिन्छन् । उनको बोल्ने शैली नम्र छ । त्यसमाथि इजलासमा बोल्दा समेत टिभी प्रस्तोताकै शैलीमा प्रस्तुत भएपछि न्यायाधीशले तपाईं इजलासमा हुनुहुन्छ भनेको सम्झन्छन् र त्यति खरो चाहिँ देखिदैनन् । शुभचिन्तकहरु भेट्न जाँदा देश बनाउन हिँडेको मानिसलाई फसाउन राज्य नै लागेको भन्दै खिन्नता प्रकट गर्ने गरेका छन् । अदालत लैजाँदा कहिलेकाँही मिडियामा क्लिक हुन चाहिँ चाहन्छन् ।
तर, प्रहरीले त्यसो हुन नदिन घेरा हालेरै लैजाने गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा भएको करोडौँ रकम अपचलन प्रकरणमा उनलाई कास्की प्रहरीको अनुरोधमा काठमाडौं प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो । बुटवल र काठमाठौंका सहकारीबाट समेत उनको नाममा ऋण प्रवाह भएको देखिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा उनीमाथि अनुसन्धान भइरहेको छ । ०००
प्रतिक्रिया