अन्तर्राष्ट्रिय

पुटिनको सहयोगमा हतियारमा किमको फड्को, शक्तिशाली ड्रोन बन्दै


उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आत्मघाती आक्रमण गर्ने शक्तिशाली ड्रोनको उत्पादनलाई तीव्रता दिन आदेश दिएका छन् । रुससँग भएको उत्तर कोरियाको सैन्य सहयोग सम्बन्धी सन्धिलाई लिएर पश्चिमा देशको चिन्ता बढ्दै गएको अवस्थामा उनले यस्तो आदेश आएको विश्लेषण भइरहेको छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले युद्ध आक्रमण गर्ने ड्रोनको उत्पादन बढाउन आदेश दिएका छन् । यसअघि उनले मानवरहित एरियल टेक्नोलोजी कम्प्लेक्स (यूएटीसी) द्वारा निर्मित जमिन र समुद्री लक्ष्यमा प्रहार गर्न सक्ने गरी डिजाइन गरिएका ड्रोनको परीक्षण हेरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ ।

रुससँग भएको उत्तर कोरियाको सैन्य सहयोग सम्बन्धी सम्झौतालाई लिएर पश्चिमा देशको चिन्ता बढ्दै गएपछि उनको यो आदेश आएको विश्लेषण भइरहेको छ । अमेरिकी विदेश मन्त्रालयले दश हजार उत्तर कोरियाली सैनिकहरू रूसमा पठाइएको दाबी गरेको थियो । रुस पुगेका उत्तर कोरियाली सैनिकहरु कुस्र्क क्षेत्रमा “रूसी सेनाको लडाइँ अभियानमा संलग्न हुन थालेकोसमेत दाबी गरिएको छ ।


जहाँ रुसी क्षेत्रमा युक्रेनबाट भएको तीन महिनाको सैन्य घुसपैठ रोकिएको थियो ।

उत्तर कोरियाली नेता उनले आत्मघाती आक्रमण ड्रोनको “बृहत् उत्पादन“ को आदेश दिएका पछि रसियासँग गहिरो सैन्य सहयोगको बारेमा चिन्ता बढ्दै गएको छ । प्योङयाङले पहिलो पटक गत अगस्टमा आत्मघाती आक्रमण ड्रोन सार्वजनिक गरेको थियो । विज्ञहरूले उत्तर कोरियाको ड्रोन विकास गर्ने क्षमता वृद्धि हुनुको पछाडि रुससँग भएको सैन्य गठबन्धनलाई मुख्य कारक मानेका छन् । उत्तर कोरियाले यो प्रविधि रुसबाट लिएको हुन सक्ने आशंका छ । मानवरहित आत्मघाती ड्रोनलाई विष्फोटक हतियारसहित शत्रुको क्षेत्रमा खसाल्न डिजाइन गरिएको हो । यसले प्रभावकारी रूपमा निर्देशित मिसाइलको काम गर्ने जनाइएको छ । विज्ञहरूका अनुसार रुससँग बढ्दो सम्बन्धका कारण उत्तर कोरियाले अब यो प्रविधि प्रयोग गर्न चाहेको छ । बिहीबार गरिएको परीक्षणमा यी ड्रोनहरू पूर्वनिर्धारित मार्गमा उडेर सही लक्ष्यमा पुगेका थिए ।

किमले सैन्य उद्देश्यका लागि ड्रोनहरू प्रयोग गर्ने प्रतिस्पर्धा विश्वभर तीव्र भइरहेको जनाएका छन् । उत्तर कोरियाले सियोललगायत प्रमुख क्षेत्रहरूमा घण्टौंसम्म उडान गर्दै दक्षिण कोरियाको सीमापारीसम्म ड्रोन पठाएको थियो । उत्तर कोरिया र रुसबीच हालै एक रणनीतिक सैन्य साझेदारीलाई अनुमोदन गर्ने सहमति भएको थियो । दुई देशबीचको पारस्परिक रक्षा सम्झौता पनि त्यसमा समावेश गरिएको छ । ठुलो र सानो साइजका दुवै किसिमको ड्रोनको सफल परीक्षण भइसकेको र यसले उत्तर कोरियाको सैनिक गतिविधिको दायरालाई विश्वभर फैलाउने दाबी किमले गरेका छन् । यी ड्रोनहरूलाई ट्र्याक गर्न पनि मुस्किल हुने र गोली हानेर खसाल्न समेत नसकिने दाबी गरिएको छ । किमले अनुगमनको क्रममा ठुलो मात्रामा यी ड्रोनको उत्पादन शुरु गर्न निर्देशन दिएका हुन् ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र किमबीचको सैन्य गठबन्धन गर्ने सम्झौता भएको थियो । जसले दुई मुलुकलार्य युद्धमा तालमेल गरेर अघि बढ्ने बाटो खुलेको छ । राष्ट्रपति पुटिनले उत्तर कोरियासँगको ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर गरेसँगै दुवै मुलुकलाई अर्को देशमाथि आक्रमण भएको खण्डमा ढिलाइ नगरी सैन्य सहायता प्रदान गर्न बाध्य पार्ने छ । दुई देशबीच भएको सन्धिलाई लिएर विश्व तरंगित भएको छ ।

पुटिनले गत जुनमा यसलाई ‘महत्त्वपूर्ण दस्तावेज’ का रूपमा प्रशंसा गरेका थिए । गुप्तचर रिपोर्टहरूलाई उद्धृत गर्दै दक्षिण कोरिया, युक्रेन र पश्चिमा देशहरूले उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रुसमा लगभग १० हजार सैनिक तैनाथ गरेको बताएका छन् । सर्वोच्च नेता उनको पछिल्लो आदेशले विश्वको सुरक्षाप्रति नै खतरा हुन सक्ने विश्लेषण भइरहेको छ । यता किम जोङले ड्रोन उत्पादनलाई तीव्रता दिन आदेश दिएसँगै छिमेकी दक्षिण कोरियाले भने चिन्ता व्यक्त गरेको छ । दक्षिण कोरियाका राष्ट्रपतिले त संवेदनशील रुसी सैन्य प्रविधि उत्तर कोरियामा स्थानान्तरण भएको भन्दै चेतावनीका लागि उक्साउने काम भएको जनाएका छन् । रुससँगको सहकार्यले उत्तर कोरियाको सैन्य हतियार र प्रविधि क्षमता थप बढ्दा विश्व शक्ति राष्ट्र शशंकित भएका छन् ।