मंसिर दोस्रो हप्ता प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने लगभग निश्चित भइसकेको छ । प्रधानमन्त्री ओलीको पाँचदिने औपचारिक चीन भ्रमण हुनुपूर्व परराष्ट्रमन्त्री डाक्टर आरजु राणा बेइजिङ जाने भएकी छन् । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा मंसिर १४ गते चीन जाने बताइएको छ । परराष्ट्रमन्त्री चीन जाने भएपछि प्रधानमन्त्री ओलीको भ्रमण थप चासोपूर्ण बनेको छ ।
औपचारिक घोषणा हुन बाँकी छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण निश्चित प्राय छ । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली आउँदो मंसिर १७ देखि २१ गतेसम्म पाँच दिने औपचारिक चीन भ्रमणको तयारीमा छन् । उनको भ्रमण तयारीलाई तिव्रता दिइएको छ । डिसेम्बर पहिलो साता नै प्रधानमन्त्री ओली चीन उड्ने भएपछि प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीलाई राजदूत नियुक्त गर्दै हतार हतार बेइजिङ पठाएको सरकारले लगत्तै परराष्ट्रमन्त्री राणालाई चीन पठाउने तयारी थालेको हो । आरजुको चीन भ्रमण पक्का गर्ने जिम्मा नेपालका लागि चिनियाँ राजदूत सोङले लिएका छन् । सोमबार परराष्ट्रमन्त्री राणा र सोङबीच भएको भेटमा छिट्टै निमन्त्रणा पत्र पठाउने बचन दिइसकेका छन् ।
मिति टुङगिएको छैन तर नोभेम्बर अन्तिममा उनी चीन उड्ने बुझिएको छ । परराष्ट्रमन्त्री पद सम्हालेको महिनौंसम्म पनि चीनको चासोमा नपरेकी परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीभन्दा अगावै चीन जाने छिन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणको सबै चाँजोबाँजो मिलाउने जिम्मेवारी राणाले नै पाएकी छन् । नेपाल–चीनबीचको विभिन्न योजनाहरुबारे सचिवहरुसँग छलफल र सोधीखोजी गर्न उनले भ्याइसकेकी छन् ।
भारतको बेवास्ताले अफ्ठ्यारोमा परेका प्रधानमन्त्री ओलीको बाध्यताको लाभ आरजुलाई मिलिरहेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको सूत्रधार बनेका अर्थमन्त्री विष्णु पौडेलले नै भ्रमणको कमाण्ड सम्हाल्ने भनिए पनि सत्ता साझेदर दल कांग्रेसका सभापति शेरबहादुर देउवा बिच्किने डरले ओलीले आरजुलाई नै अघि सारेका हुन् । चीन भ्रमणलाई आफ्नो प्रतिष्ठा बनाएका प्रधानमन्त्री ओलीले भ्रमण सफल बनाउनकै लागि बीआरआईको विषयमा चुप बस्ने मात्र नभई कुनै पनि नयाँ सम्झौता नगर्ने निर्णय नै गरेका छन् ।
चीन जाने चर्चा सुरु हुनासाथ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कार्य प्रगतिबारे सोधीखोजी गर्न भ्याएका प्रधानमन्त्री ओली अहिले देउवा रिझाउन मुख्य विषयहरु नै बोक्नबाट पछि हटेका छन् । कांग्रेस र भारतको सेखी झार्नकै लागि प्रधानमन्त्री ओलीले परराष्ट्रलाई सुईको समेत नदिई पार्टी उपाध्यक्षसमेत रहेका अर्थमन्त्री पौडेललाई दूत बनाएर चीन पठाएको तथ्य छर्लङ्ग छ । तर बीआरआई मुख्य एजेन्डा नबन्ने भएपछि प्रधानमन्त्री ओलीको चीन भ्रमण अहिले सत्तारुढ दलकै प्रतिष्ठाको विषय बनेको छ । एमाले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको चीन यात्रालाई सहज बनाउनकै लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरल जम्बो टोलीको नेतृत्व गर्दै चीन पुगिसकेका छन् । पहिला भारतलाई नचिढाई चीनको भ्रमण गर्ने रणनीति बनाएका ओली अहिले कांग्रेसकोसमेत सहयोग लिएर आसन्न पहिलो औपचारिक विदेश भ्रमणलाई ऐतिहासिक बनाउने रणनीतिमा छन् । यद्यपि, प्रधानमन्त्री ओली र सत्तारुढ दल यो भ्रमणमा कति सफल हुन्छन् भन्ने प्रश्न तेर्सिएको छ ।
यसबीच, तितो तर सत्यलाई लुकाउन सकिँदैन । विगतमा बडो तामझामका साथ महत्वाकांक्षी योजनाहरु तय गरेर भएका भ्रमणहरु नै औपचारिकतामा सीमित भएका थिए । उच्चस्तरीय भ्रमणहरु केवल नामको भ्रमण मात्रै बन्न पुगेका छन् । तर भ्रमणका हिसाबले लामो समयपछि प्रधानमन्त्री हुनासाथ भारतबाटै भ्रमण सुरु गर्ने चलनमा ओलीले ब्रेक थ्रू गर्दैछन् ।
प्रतिक्रिया