सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ । बुधबार दिउँसो १२ देखि साँझ पाँच बजेसम्म ५ घण्टा लामो बयान लिएको हो।बयानका क्रममा उपसभापति गुरुङले सहकारीको पैसा हिनामिना नभएको बताएका थिए।
नामः धनराज गुरुङ
पदः कांग्रेस उपसभापति तथा प्रतिनिधिसभा सदस्य
आरोपः सहकारीको रकम ठगी
नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका एक हाई प्रोफाइल व्यक्ति हुन् । ललितपुरको मितेरी सहकारीको करिब १४ करोड रकम अपचलनमा धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङको नाम जोडिएसंगै चौतर्फी दबाब पश्चात उनी हाल प्रहरी अनुसन्धानमा तानिएका छन् ।‘सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समिति’मा मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका कुम्भराज गुरुङले दिएको उजुरी र बयानपछि धनराज गुरुङ सहकारी प्रकरणमा मुछिएको तथ्य सार्वजनिक भएको थियो ।अध्यक्ष गुरुङले भदौ ६ गते समितिमा उपस्थित भएर बयान दिएका थिए ।
बयानका क्रममा उनले धनराज गुरुङकी श्रीमती ज्योती गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको र त्यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको बताएका थिए । ज्योति चार वर्षदेखि फरार सूचीमा छिन् । उनीविरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भइसकेको छ ।धनराज गुरुङले भने ज्योतिसँग ‘डिभोर्स’ भइसकेको बताउँदै सहकारीको रकम हिनामिनामा आफू संलग्न नरहेको जिकिर गर्दै आइरहेका छन् ।तर,मितेरी सहकारीका अध्यक्ष कुम्भराजले समितिमा धनराजलाई पनि सम्पूर्ण जानकारी रहेको र कागजीरुपमा मात्रै पत्नीसँग ‘डिभोर्स’ भएको दाबीसमेत गरेका थिए ।
तर सहकारीको रकम दुरुपयोग सम्बन्धमा आफू संलग्न नरहेको दाबी गर्दै आएका कांग्रेस उपसभापति गुरुङले भने २०७६ सालमै श्रीमतीसँग आफ्नो डिभोर्स भएको प्रष्टीकरण दिँदै आएका छन् । उनले पत्नीसँग डिभोर्स गरिसकेकाले सहकारी प्रकरणमा आफ्नो नाम सुनियोजित तवरले मुछिएको बताउँदै आएका छन् । उनले आफ्नो घरबार जुन सहकारीका अध्यक्षले बिगा¥यो, उसैले सीआईबीदेखि संसदीय समितिसम्म उजुरी दिँदै हिँडेको भन्दै उल्टै आरोप लगाएका थिए ।
सहकारी प्रकरणमा देशका हाईप्रोफाइल व्यक्तिहरु धमाधम पक्राउ परेसँगै धनराज गुरुङमाथि पनि छानबिन हुनु पर्ने दबाबका बीच नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गुरुङसँग बयान लिएको छ । बुधबार करिब ५ घण्टा बयान लिएको सीआईबीले कागज गराएको जनाएको छ । त्यसक्रममा सीआईबीले गुरुङसँग उनकी पूर्वपत्नी ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धी सोधपुछ गरेको बताइएको छ ।ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो । ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए ।
गुरुङकी पूर्वपत्नी ज्योति २०५७ सालदेखि मितेरी सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन् । सहकारी सम्बन्धी छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनले सो प्रकरणमा धनराज गुरुङमाथि पनि अनुसन्धान गर्नुपर्ने राय दिएको थियो । उनकी पूर्वपत्नी ज्योति र अर्का आरोपी ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भइसकेको छ ।सहकारी ठगीमा प्रमाण भेटिए कांग्रेस उपसभापति गुरुङमाथि कारबाही हुने गृहमन्त्री रमेश लेखकले दाबी गरेका थिए । महामन्त्री गगन थापाले पनि कांग्रेसले धनराजलाई बचाउन कुनै प्रयास नगरेको र दोषी देखिए कारबाही हुने भन्दै गुरुङमाथि तत्काल छानबिन गर्न माग नै गरेका थिए । धनराज गुरुङमाथि छानबिनमा आनाकानी गरिरहेको सरकारले चौतर्फी दबाबपछि बल्ल अनुसन्धानको दायरामा ल्याएको छ । ढिलै भए पनि कछुवाको गतिमा सीआईबीलेबयान लिन थालेको देखिन्छ ।
रास्वपाका सभापति लामिछाने सहकारी प्रकरणमा विगत २७दिनदेखि प्रहरी हिरासतमा छन् । रास्वपाका नेता कार्यकताले कांग्रस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेललाई पनि छानबिनको दायरामा ल्याउन माग गर्दै सरकारलाई दबाब दिँदै आएका छन् ।
प्रतिपक्षमा रहेका रास्वपाका सभापति लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा हिरासत पुग्दा कांग्रेसका उपसभापति गुरुङलाई भने सामान्य सोधपुछ मात्र गरेर छोडेको देखिन्छ । उनलाई पक्राउ गरी अनुसन्धान गर्ने इच्छा शक्ति भने अझै देखाउन सकेको छैन । उस्तै प्रकृतिको आरोपमा एउटालाई दोषी करार गर्ने र अर्कोलाई निर्दोष बनाउन सुनपानी छर्किने प्रयासप्रति तीव्र आलोचना भइरहेको छ । अब धनराज गुरुङमाथिको आरोपमा सरकारको एक्सन कस्तो हुन्छ त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया