तीन महिना शान्त बसेका गृहमन्त्री रमेश लेखकले केही काम देखाएको टिप्पणी भइरहेको छ । खासगरी एक महिनामै तीन भीआईपीलाई हिरासतको यात्रा गराएपछि उनी सक्रिय भएको टिप्प्णी भइरहेको हो । यद्यपि यही समयमा उनकै गृह जिल्ला कञ्चनपुरमा ६ वर्षअघि निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना फेरि बल्झिएको छ ।
मधुमास सक्काएलगत्तै गृहमन्त्री रमेश लेखक काममा खटिएको आभाष दिलाउन थालेका छन् । प्रतिपक्षमा रहँदा आफैँले अड्डी कसेका केही प्रकरणमा राजनीतिक जितकै लागि भए पनि लेखकले सकारात्मक सुरुवात गरेको टिप्पणी भइरहेको छ । पछिल्लो एक महिनाकै अवधिमा भएको तीन भीआईपीको हिरासत यात्रालाई उनको सफलताको रुपमा हेरिएको छ । असोज सात गते पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेलगत्तै कात्तिक २ गते पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परे । उनी अहिले पनि बयान दिन कहिले पोखरा त कहिले रुपन्देहीको चक्कर काटिरहेका छन् ।
यस बिचमा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीसहित पाँच सय बढी सहकारीको रकम अपचलनमा संलग्नहरु पक्राउ परेका छन् । यसलाई पनि गृहमन्त्रीको उपलब्धिको रुपमा हेरिएको छ । रवि पक्राउलाई राजनीतिक प्रतिशोेधको रुपमा हेरिँदा कांग्रेसकै उपसभापति धनराज गुरुङमाथि सीआईबीले सहकारी ठगीमा बयान लिएको छ । भलै उनी अनुसन्धानको दायरामा तानिन्छन् वा तानिदैनन् त्यो फरक पाटो हो । तर, बयान लिनुले प्रतिशोध भन्ने रास्वपाको बोल्ती बन्द गरिदिएको छ ।
यस्तै कात्तिक २६ गते कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका उनलाई काठमाडौं झिकाएर अनुसन्धान भइरहेको छ । यसैगरी सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेका गण्डकी प्रदेशका बहालवाला सांसद तथा पूर्वमन्त्री दीपक मनाङेको पक्राउलाई समेत गृहमन्त्रीले उपलब्धि र सुशासन प्रत्याभूतिको आधारका रुपमा लिएको बताइन्छ । तर प्रहरीले गर्नु पर्नै कामलाई आनवश्यक गृहमन्त्रीहरुले उचाल्ने प्रवृत्ति गलत रहेको पूर्वप्रहरीहरु बताउँछन् ।
चुनौती र अवसर निर्मला हत्या प्रकरण
गृहमन्त्री लेखकका लागि चुनौती र अवसरका रुपमा निर्मला पन्तको हत्या प्रकरण बनेको छ । यो घटनापछि बनेका हरेक सरकारका गृहमन्त्रीले हत्यारा पत्ता लगाउने बाचा गर्ने गरेका छन् । त्यसयता पाँचजना गृहमन्त्री र त्यत्तिकै संख्यामा प्रहरी प्रमुखसमेत फेरिएका छन् । तर, नतिजा शून्य छ । अहिलेका गृहमन्त्री लेखकको गृहजिल्ला कञ्चनपुुरमा २०७५ भदौ ११ गते १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । लेखकले २०७५ असोज २१ गते एक कार्यक्रममा हत्याराले संरक्षण पाइरहेको भन्दै हत्याराबारे जानकारी पाएको संकेत गरेका थिए । त्यस समयमा प्रतिपक्षमा रहेका लेखकले हरेक जसो कार्यक्रममा हत्याराले संरक्षण पाइरहेको बताउने गरेका थिए ।
अब, हत्याराले कसको संरक्षण पाइरहेको छ त ? अपराधीलाई राजनीतिले गरेको संरक्षणको जालो उनले तोड्ने हिम्मत गर्छन् वा गर्दैनन् भन्ने प्रश्न उठेको छ । आफूले १६ मन्त्रीको सचिवालयमा ड्राइभरका रुपमा काम गरिसकेको बताउने गोरखाका नवराज अर्यालले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा आफू घटनाको साक्षी रहेको र तीन जनाको संलग्नता रहेको दाबी गरेपछि ६ वर्षअघिको घटनाले फेरि चर्चा पाएको छ । माओवादी नेतृ बिना मगर मन्त्री भएका बेला कामको शिलशिलामा कञ्चनपुर पुगेको र घटनास्थलमा तीनजनालाई आफूले देखेको अर्यालले दाबी गरेका थिए । त्यस समयमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए । आफूलाई रहस्य थाहा भएकै कारण पटक–पटक आक्रमण भएको समेत उनले जिकिर गरेका छन् । सो अन्तर्वार्तापछि चर्चामा आएका आर्याललाई सीआईबीले नियन्त्रणमा लिएको थियो । सीआईबीले पक्राउ गरेका उनलाई मानसिक सन्तुलन बिग्रिएको भन्दै घर पठाएको छ । तर, सिंहदरबारलाई इंगित गर्दै उनले दिएको एक अभिव्यक्ति भने गम्भीर छ । घटनाको केही दिनपछि सिंहदरबारमा हिँडिरहेका एक व्यक्तिलाई आफूले ‘हत्याराको बाउ’ भनेपछि आफ्नो दुर्दशा सुरु भएको उनको भनाइ भने अर्थपूर्ण छ । यसले उच्चपदस्थकै छोराबाट निर्मलाको बलात्कारपछि हत्या भएको विगतदेखि गरिँदै आएको अशंकालाई थप बल पु¥याएको छ ।
तर अहिलेसम्म घटना अनुसन्धानकै नाममा ६ समिति बनिसकेका छन् । ती समितिको सुझाव एकीकृत गर्ने भन्दै प्रहरी प्रमुख बसन्त कुँवर र सीआईबी प्रमुख दीपक थापाको नेतृत्वमा सातौँ समिति बनाइएको छ । हत्याको ६ वर्ष बितिसक्दासमेत प्रहरीको इतिहासकै महँगो भनिएको अनुसनधान डीएनए परीक्षणबाहेक अगाडि बढ्न सकेको छैन । कतिपयले भने परीक्षण गर्नुपर्ने व्यक्तिकै डीएनए परीक्षण नगरिएको आरोपसमेत लगाउने गरेका छन् ।
हत्यापछिका ६ वर्ष सरसर्ती सम्झनुहोस् ः
२०७५ साउन ११ गते – बिहान ९ बजे निम्बुखेडास्थित उखुबारीमा शव फेला
भदौ ४ गते – बलात्कार गरी हत्या गरेको आरोपमा मानसिक सन्तुलन गुुमाएका दिलीपसिंह बिष्ट पक्राउ
भदौ ७ गते – गृह मन्त्रालयद्वारा कञ्चनपुरका सीडीओ कुमारबहादुर खड्का र जिल्लाका एसपी दिल्लीराज बिष्टलाई फिर्ता
भदौ ८ गते – कञ्चनपुर तनावग्रस्त बन्दा कफ्र्यु लगाए पनि प्रदर्शनमा उत्रिएपछि गोली लागेर सनी खुनाको मृत्यु, केही घाइते ।
भदौ १२ गते – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा घटनाका दोषी जोसुकै भए पनि कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता ।
भदौ २६ गते – डीएनए रिपोर्ट नमिलेपछि दिलीपसिंह बिष्ट रिहा ।
फागुन २२ गते – प्रमाण नष्ट गरेको र अभियुक्तलाई यातना दिएको भन्दै दिलीपसिंह बिष्टका दाजु र निर्मलाका आमाद्वारा ८ प्रहरी (एसपी दिल्लीराज बिष्ट र डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का, इन्स्पेक्टर जगदीश भट्ट, सईहरू हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी) विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा ।
फागुन ३० गते – एसपी दिल्लीराज बिष्ट र डीएसपी अंगुर जिसी बाहेक ६ प्रहरीलाई धरौटीमा छाड्न जिल्ला अदालत कञ्चनपुरको आदेश
चैत १० र चैत १३ गते – एसपी दिल्लीराज र डीएसपी अंगुर जिसी क्रमशः रिहा
२०७६ कात्तिक ५ गते – डीएनए विज्ञ जीवन रिजालको टोलीद्वारा डीएनए रिपोर्ट गलत भएको निष्कर्ष
२०७९ पुस ११ गते – गृहमन्त्री रवि लामिछानेद्वारा निर्मला पन्त हत्याको घटना छानबिन गर्न न्यायिक समिति गठन गर्ने घोषणा ।
२०८१ असार ३० गते – निर्मला पन्तको हत्यारा नजिक पुगेको तत्कालीन गृहमन्त्री रवि लामिछानेको दाबी ।
२०८१ भदौ २० गते – हत्या प्रकरणको सुक्ष्म अनुसन्धान हुने वर्तमान गृहमन्त्री रमेश लेखकको भनाइ ।
प्रतिक्रिया