खेल क्षेत्र राज्यको तिरस्कारमा पर्दा पछिल्लोे समय नेपाली खेलकुदमा महिलाहरुले भने एक पछि अर्को सफलता हात पारिरहेका छन् । सरकारले पर्याप्त लगानी नगरे पनि महिला खेलाडीले नेपाली खेलकुदको शिर उचो बनाएका छन् ।
समयक्रम परिवर्तन हुँदै जाँदा नेपाली खेलकुद क्षेत्रमा महिला खेलाडीले प्राप्त गरेको सफलतालाई देशकै नाम उचो हुँदै गएको छ । महिला पनि पुरुषभन्दा के कम भन्ने उदाहरण उनीहरुले प्रस्तुत गर्दा खेल क्षेत्रमा महिला खेलाडीले सबैको ध्यान खिच्न सफल भएका छन् । नेपाली महिला खेलाडीले देशभित्र मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमै विभिन्न प्रतियोगितामा सफलता हात पार्दा नेपालीकै छाती चौँडा हुने काम गरेका छन् । कात्तिक २० देखि २५ गतेसम्म माल्दिभ्समा भएको १५ औँ वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियनसिपमा ५५ केजीमाथिको प्रतिस्पर्धामा नेपालीकी रजनी श्रेष्ठले रजत पदक जित्दै इतिहास रचिन् । सोही प्रतियोगितामा सनम मुलगुठीले महिला वान पिस स्वीमसुटमा रजत पदक जितिन् ।
यसअघि, इन्डोनेसियामा सम्पन्न ५३औं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा दुई पदक जित्दै रजनीले इतिहास रच्न सफल भएकी थिइन् । त्यसैगरी काठमाडौंमा सम्पन्न ५५ औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा उनले स्वर्ण पदक जितेकी थिइन् । माल्दिभ्समा सम्पन्न वल्र्ड बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालका दुई पुरुष खेलाडी रुजेश शाही र प्रज्ज्वलमान शाक्यले पनि रजत पदक जितेका थिए । बुधबार स्वदेश फर्किएका उनीहरुलाई विमानस्थलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघसहित समर्थकहरुले स्वागत गरेका थिए । शारीरिक सुगठनमा उनले हात पारेको सफलताले नेपाली महिलालाई मात्रै नभइ सबैलाई गर्भवान्वित बनाएको छ । रजनीले महिला भएर पनि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने र पुरुषभन्दा महिला कुनै कुराले पनि कम छैनन् भन्ने उदाहरण दिएको प्रतिक्रिया दिइन् ।
उनले आफ्नै लगानीमा यो स्थानमा पुगेको र देशको नाम राखेको भन्दै अब सरकारबाट पनि केही सहयोगको अपेक्षा र खेल क्षेत्रमा लगानीको आश गरेको बताइन् ।
यस्तै नेपाली महिला खेलाडीले अर्को पनि इतिहास रचेका छन् । यूएईमा हालैसम्पन्न यू १९ टी २० विश्वकपको एसिया छनोटमा आयोजक यूएईलाई स्तब्ध पार्दै नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा पुग्दै इतिहास रचेको हो । नेपालको सिनियर पुरुष टोलीले दुई पटक टी–२० विश्वकप र यू–१९ टिमले ८ पटक विश्वकप खेलिसक्दा महिला क्रिकेटमा नेपालको कुनै पनि टोली विश्वकपमा पुग्न सकेको थिएन । सिनियर महिला टोली प्रारम्भिक छनोटबाट अघि बढ्न नसके पनि यू–१९ महिला टोली यसपटक विश्वकपमा छनोट हुन सफल भएको हो ।
यस्तै अन्तर्राष्ट्रिय जगतमा फुटबलमार्फत नेपाललाई चिनाउन सफल नेपाली महिला फुटबलकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को नाम नलिने हो भने अपुरो हुनेछ । उनी अहिले फ्रेन्च क्लबबाट युरोपमा फुटबल खेलिरहेकी छन् । उनी फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गुइनगाम्पमा अनुबन्धित छिन् । नेपालबाट युरोपको क्लबमा फुटबल खेल्ने साम्बा पहिलो खेलाडी हुन् । यस्तै, राष्ट्रिय फुटबल टोली तथा नेपाल पुलिस क्लबकी फरवार्ड रेखा पौडेल पनि विदेशमा व्यावसायिक फुटबल खेलिरहेकी छन् । उनी संयुक्त अरब इमिरेट्स युएईको अबुधाबी काउन्टी क्लबमा आबद्ध रहेर मध्यपूर्वमा व्यावसायिक फुटबल खेल्दै आएकी हुन् । नेपाली फुटबलका दुई महिला खेलाडीसँगै अन्य महिला खेलाडीहरुले भारतीय क्लबहरुमा आबद्ध भएर खेलेका छन् । नेपालको महिला राष्ट्रिय फुटबल टिमको कप्तानसमेत रहेकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा, डिफेन्डर गीता राना, प्रिति राई, दीपा शाही, अमृता जैशी र रश्मीकुमारी घिसिङले भारतीय लिग खेलका छन् ।
यस्तै भलिबलतर्फ पनि नेपाल पुलिस क्लबको महिला टोलीले गत असोजमा माल्दिभ्समा सम्पन्न काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको थियो । भलिबलका राष्ट्रिय खेलाडी उषा भण्डारी र कामना विष्टले माल्दिभ्समा व्यावसायिक भलिबल लिगसमेत खेल्ने अवसर पाएका थिए । यसले नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा देखाएको उपस्थितिले उनीहरुको क्षमतालाई प्रष्ट पारेको छ । तर नेपालमा खेल क्षेत्रमा अपेक्षाकृत लगानी र खेलाडीलाई दिइने सेवा सुविधा पर्याप्त नहुँदा महिला खेलाडीहरु समस्या व्यहोर्न बाध्य छन् । खेलकुदमा सफलता हासिल गर्न प्रशिक्षण र विभिन्न प्रतियोगितामार्फत जनशक्तिमा दिगो लगानी आवश्यक छ ।
तर, सरकार पदकका लागि योग्य बनाउनेभन्दा पदक जितेपछि पुरस्कार घोषणा गरेर क्षणिक प्रचारबाजीमा लाग्दै आएको छ । यतिसम्म कि सरकारले घोषणा गरेको पुरस्कार पाउनसमेत खेलाडीले वर्षौं कुर्नुपर्ने बाध्यता छ । केही खेलाडीको त वर्षौसम्म कुर्दा पनि घोषणा गरेको पुरस्कार नपाएका समाचारहरु आउने गरेका छन् । सरकारको बेवास्ताकै कारण नेपाली खेल क्षेत्रले फट्को मार्न सकिरहेको छैन भने आशा गरिएका खेलाडीसमेत बिचैमा खेल क्षेत्रबाट पलायन हुनु पर्ने बाध्यता छ । यो अवस्थाको अन्त्य गर्न सरकारका साथै निजी क्षेत्रबाट समेत खेलकुदमा लगानी हुन आवश्यक छ । ताकी क्षणिक प्रचारका लागि पदक तथा उपाधि जितेका खेलाडीलाई पुरस्कार घोषणा गर्दैमा खेल क्षेत्रले सकारात्मक प्रतिफल दिँदैन ।
प्रतिक्रिया